close

नेपालमा एक वर्षमै भित्रिए ५ सय मोडलका मोबाइल र ट्याब्लेट

टेकपाना टेकपाना

कात्तिक २, २०७८ १८:२६

नेपालमा एक वर्षमै भित्रिए ५ सय मोडलका मोबाइल र ट्याब्लेट

काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा पाँच सय बढी मोडलका स्मार्टफोन तथा ट्याब्लेट भित्रिएको एक तथ्याङ्कले देखाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनअनुसार कूल ५०१ मोबाइल तथा ट्याब्लेटका मोडल नेपालमा भित्रिएका छन् । नेपालमा हाल भारत, भियतनाम, चीनलगायतका मुलुकबाट मोबाइल सेट आयात हुने गरेको छ ।

प्राधिकरणले सन् २००८ देखि उपकरण आयात गर्दा टाइप अप्रुभल लिनुपर्ने प्रावधान लागू गरेको हो । भने, सन् २०११ देखि यसलाई अनिवार्य गरिएको छ ।

यसमा मोबाइल सेट, रेडियो उपकरण, वाई-फाई, ट्याब्लेट, ब्लुटुथ डिभाइस, शर्ट रेन्जलगायतका डिभाइसले टाइप अप्रुभल लिनुपर्ने व्यवस्था छ ।

टाइप अप्रुभल लिँदा आयातकर्ताले कुनै पनि मोडलका उपकरण उत्पादकको प्रमाणपत्र, वारेन्टी, ग्यारेन्टी पत्र, कस्टमर केयर सेन्टरको रिपोर्टलगायत विवरण प्राधिकरणमा पेस गर्नुपर्छ ।

सुरुवाती चरणमा यो सबै कागजी प्रक्रियामा आधारित भएता पनि पछिल्लो केही वर्षदेखि भने प्राधिकरणले टाइप अप्रुभललाई अनलाइनमा आधारित बनाएको छ । 

टाइप अप्रुभल लिँदा ६ महिना (प्रोभिजनल) र पाँच वर्षको (पर्मानेन्ट) गरी दुई फरक आधार तय गरिएको छ । यसको अर्थ यदि ६ महिनाका लागि लिइएको छ भने उक्त मोडलको उत्पादन ६ महिनापछि फेरि ल्याउनुपरे पुनः प्राधिकरणबाट स्वीकृत लिनुपर्ने हुन्छ ।

पर्मानेन्ट भएको खण्डमा एकपटक स्वीकृति लिएपश्चात् पुनः स्वीकृति लिनुपर्दैन । सोहीअनुरूप गत आवमा कूल ४७२ ओटा मोडलका मोबाइलले टाइप अप्रुभल लिएका छन् ।

त्यसमध्ये ३३९ मोडलका मोबाइलले गत आवमा प्रोभिजनल टाइप अप्रुभल लिएका छन् । भने, १३३ मोडलका मोबाइलले पर्मानेन्ट टाइप अप्रुभल लिएका छन् ।

टाइप अप्रुभल लिनेमा मोबाइल सेट नै सबैभन्दा धेरै रहेका छन् । विभिन्न ब्राण्डका विभिन्न मोडल सार्वजनिक हुने र नेपाल भित्रिने हुँदा मोडलअनुसारको टाइप अप्रुभल मोबाइल आयातकर्ताले लिने हुँदा पनि यो अघि देखिएको हो ।

त्यस्तै ट्याब्लेटतर्फ गत आवमा कूल २९ वटा मोडल भित्रिएका थिए । त्यसमध्ये १५ वटाले पर्मानेन्ट टाइप अप्रुभल र १४ वटाले प्रोभिजनल टाइप अप्रुभल लिएको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कअनुसार गत आवमा जीएसएम डिभाइसतर्फ कूल ५८ मोडलका डिभाइस नेपाल भित्रिएका छन् । त्यसमध्ये ९ वटाले पर्मानेन्ट र ३९ वटा डिभाइसले प्रोभिजनल टाइप अप्रुभल लिएका छन् ।

त्यस्तै शर्ट रेन्ज डिभाइसतर्फ कूल ३६१ मोडलले टाइप अप्रुभल लिएको प्राधिकरणले जनाएको छ । शर्ट रेन्ज डिभाइसमा ब्लुटुथ, वाई-फाईबाट कनेक्ट हुने डिभाइस पर्दछन् ।

यसमध्ये १४५ वटा डिभाइसले पर्मानेन्ट र २१६ डिभाइसले प्रोभिजनल टाइप अप्रुभल लिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२