close

रेफ्रिजेरेटर किन्दा ख्याल गर्नैपर्ने ४ कुरा

टेकपाना टेकपाना

कात्तिक ४, २०७८ १५:५३

रेफ्रिजेरेटर किन्दा ख्याल गर्नैपर्ने ४ कुरा

काठमाडौं । दशैं तिहारको बेलामा हामीमध्ये धेरै जनाले घरायसी सामग्रीहरू खरिद गर्ने गरेका छौं । यस्तो बेलामा विद्युतीय सामग्रीहरू बढी बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् ।

हामीले खरिद गर्ने धेरैजसो विद्युतीय सामग्रीमध्ये एक हो, ‘रेफ्रिजेरेटर’ । बजारमा थुप्रै ब्राण्ड र गुणस्तरका विविध फिचर भएका रेफ्रिजेरेटर उपलब्ध छन् । तर रेफ्रिजेरेटर खरिद गर्दा आफ्नो आवश्यकता अनुसार कस्तो प्रकारको खरिद गर्ने भन्ने सबैलाई जानकारी नहुन सक्छ ।

यस्तोमा यदि तपाईं नयाँ रेफ्रिजेरेटर खरिद गर्दै हुनुहुन्छ भने यी उपाय अपनाउन सक्नुहुन्छ ।

१. क्षमता

रेफ्रिजेरेटर खरिद गर्दा सबैभन्दा सुरुमा हामीले ख्याल गर्नुपर्ने कुरा भनेको रेफ्रिजेरेटरको क्षमता हो । रेफ्रिजेरेटरको क्षमता लिटरमा मापन गरिन्छ ।

बजारमा सबैभन्दा कम क्षमता भएकोदेखि सबैभन्दा धेरै क्षमता भएकोसम्मको रेफ्रिजेरेटर उपलब्ध छन् । तर तपाईंले आफ्नो परिवारको आकार र क्षमताअनुसारको रेफ्रिजेरेटर खरिद गर्न सक्नुहुन्छ ।

उदाहरणका लागि एकल परिवारका लागि १५० लिटरदेखि २५० लिटरसम्मको रेफ्रिजेरेटर उपयुक्त हुन्छ भने पाँच सदस्य भएको परिवारको लागि भने २५० देखि ५०० लिटरसम्मको उपयुक्त हुन्छ ।

तर यदि तपाईंको परिवारमा दुई जना ठूला मान्छे र दुई जना साना बच्चाहरू मात्र छन् भने २५० देखि ३५० लिटर सम्मको रेफ्रिजेरेटर ठिक्क हुन्छ ।

यदि तपाईं छ देखि सातजना भएको परिवारमा बस्नुहुन्छ भने चाहिँ ५५० देखि ८५० लिटरसम्मको रेफ्रिजेरेटर तपाईंलाई आवश्यक हुन सक्छ ।

यसका अलवा बजारमा एक्लै बस्ने व्यक्तिका लागि ४० लिटर देखि १०० लिटर सम्मको क्षमता भएको रेफ्रिजेरेटर पनि उपलब्ध हुन्छन् ।

यद्यपि आफ्नो परिवारको आका बाहेक तपाईंको आवश्यकता फरक हुनसक्छ । यसर्थ आफ्नो आवश्यकता अनुसारको क्षमता भएको रेफ्रिजेरेटर लिनु उपयुक्त हुन्छ ।

२.रेफ्रिजेरेटरको इनर्जी स्टार हेर्नुहोस्

इनर्जी स्टारको अर्थ हो, तपाईंको रेफ्रिजेरेटरले बचत गर्ने विद्युत । तपाईंको घरमा हुने अन्य विद्युतीय सामग्रीहरू जस्तै यसले पनि धेरै विद्युत खपत गर्छ ।

तर विकसित प्रविधिसँगै कम विद्युत खपत गर्ने रेफ्रिजेरेटरहरू पनि अहिले बजारमा उपलब्ध भएकाले यसका लागि धेरै आत्तिनुपर्ने स्थिति भने छैन ।

यद्यपि बजारमा कम विद्युत खपत गर्ने रेफ्रिजेरेटर छनौट गर्नको लागि तपाईंको रेफ्रिजेरेटरमा ‘इनर्जी स्टार’ शर्टिफाइड अर्थात् ताराको संकेत प्राप्त छ वा छैन अवश्य हेर्नुहोस् ।

किनभने कम्तीमा पनि १५ वर्ष पुरानो रेफ्रिजेरेटरले भन्दा अहिलेको तारा संकेत भएको रेफ्रिजेरेटरले करिब ३३ प्रतिशत कम विद्युत खपत गर्छ । औषतमा भने इनर्जी स्टार भएको रेफ्रिजेरेटरले अन्यभन्दा १० प्रतिशत कम विद्युत खपत गर्छ ।

जति धेरै स्टार भयो, त्यसले त्यति नै कम विद्युत खपत गर्छ । यसर्थ रेफ्रिजेरेटर खरिद गर्दा इनर्जी स्टार हेर्न नभुल्नु होला ।

३. टप माउन्टेड फ्रिजर (माथीपट्टि फ्रिजर भएको रेफ्रिजेरेटर)

प्राय: रेफ्रिजेरेटरहरू टप माउन्टेड अर्थात् माथिल्लो भागमा फ्रिजर भएको अथवा बटम माउन्टेड अर्थात् तल्लो भागमा फ्रिजर भएका हुन्छन् ।

बटम माउन्टेड फ्रिजभन्दा टप माउन्टेड फ्रिजले कम विद्युत खपत गर्ने हुँदा रेफ्रिजेरेटर छान्दा टप माउन्टेड छान्नु उपयुक्त हुन्छ । इनर्जी स्टार प्रमाणित टप माउन्टेड रेफ्रिजेरेटरले ६० वाटको लाइट बल्बले भन्दा कम विद्युत खपत गर्छ ।

४. डाइरेक्ट कुल अथवा फोर्स्ट फ्रि रेफ्रिजेरेटर

सबै रेफ्रिजेरेटरमा कुल एयर अर्थात् सामान्य हावाको प्रवाहको आवश्यकता पर्दछ । यसका लागि बजारमा दुई प्रकारका रेफ्रिजेरेटर पाइन्छ । एउटा डाइरेक्ट कुल फिचर भएको, अर्को फोर्स्ट फ्रि फिचर भएको ।

डाइरेक्ट कुल फिचर भएको रेफ्रिजेरेटरमा हावाको प्रभाव आफैं भइरहेको हुन्छ । यसले गर्दा रेफ्रिजेरेटरको सम्पूर्ण कम्पार्टमेन्टहरूमा बराबार हावा पुगेको हुँदैन ।

जसले गर्दा फ्रिजमा आइस जम्मा हुन सक्छ । त्यसैले समय समयमा आफैंले फ्रिजलाई डिफोर्स्ट अर्थात् आइस पग्लिने गराउनुपर्छ । यसका लागि फ्रिजरको साइडमा एउटा बटन हुन्छ । त्यसमा हप्ताा दुईपटक जति थिच्नुपर्छ ।

तर यस्तो फ्रिजको राम्रो पक्ष भनेको यो आर्थिक हिसाबले सस्तो र कम विद्युत खपत गर्ने पनि हो ।

त्यसैगरी फ्रोस्ट फ्रि रेफ्रिजेरेटरमा इलेक्ट्रिक फ्यानको सहायताले बराबर हावा प्रवाह हुने हुँदा यसमा आफैंले डिफ्रोस्ट गरिरहन आवश्यक हुन्न । यद्यपि यस्तो रेफ्रिजेरेटर धेरै महँगो पर्छ र यसको फ्यानको कारण विद्युत बढी पनि खपत गर्छ ।

यी मुख्य फिचर लगायत रेफ्रिजेरेटरमा तपाईंलाई आवश्यक अन्य फिचरहरू पनि हुन्छन् । जसको आधारमा तपाईं आफू अनुकूल रेफ्रिजेरेटर खरिद गर्न सक्नुहुन्छ ।

आजभोलि बजारमा स्मार्ट रेफ्रिजेरेटरहरू पनि उपलब्ध छन्, जसमा क्यालेन्डर, फोटो भिडिओ लगायतका फिचरहरू पनि उपलब्ध हुन्छन् । यद्यपि यस्ता रेफ्रिजेरेटरहरू सामान्यभन्दा धेरै नै महँगो पर्न जान्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२