close

विद्युतीय कार निर्माता टेस्लाको कमाई र नाफा हालसम्मकै बढी

टेकपाना टेकपाना

कात्तिक ५, २०७८ १४:२९

विद्युतीय कार निर्माता टेस्लाको कमाई र नाफा हालसम्मकै बढी

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२१ को तेस्रो त्रैमासिकमा हालसम्मकै धेरै नाफा कमाएको छ । आफ्नो बिक्री शृंखला सुधारेको टेस्लाले विश्वव्यापी चिप अभावलाई चिर्दै नाफा बढाउन सफलता पाएको हो । यो वर्षको तेस्रो त्रैमासिकमा टेस्लाले १३ अर्ब ७६ करोड डलर आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा कम्पनीले ८ अर्ब ७७ करोड मात्रै आय गरेको थियो । 

अर्बपति व्यवसायी एलन मस्कको नेतृत्वमा रहेको कम्पनीले यो अवधिमा दुई लाख ४१ हजार ३ सय ९१ वटा कार बिक्री गर्दै १ अर्ब ६० करोड डलर नाफा कमाएको हो । 

‘हामीले अहिलेसम्मकै बढी आय, सञ्चालन र खुद नाफा कमाएका छौं,’ आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दै टेस्लाले भनेको छ । 
आफ्नो सामान सबैभन्दा बढी चीनमा बिक्री भएको कम्पनीले जनाएको छ । साथै, अब विश्वव्यापी रुपमा बिक्री हुने विद्युतीय कारको लागि फरक खालका ब्याट्री प्रयोग गर्ने जानकारी पनि कम्पनीले गराएको छ । 

टेस्लाले प्रयोग गर्न लागेको लिथियम आइरन फेस्फेट व्याट्री लागतका हिसाबले सस्तो पर्न जान्छ । यसले गर्दा कारको मूल्यमा कमी आउन सक्ने विश्लेषण गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१