close

चीनमा कसरी टिकिरहेको छ एप्पल ?

टेकपाना टेकपाना

कात्तिक ६, २०७८ १७:४७

चीनमा कसरी टिकिरहेको छ एप्पल ?

काठमाडौं । एउटा समय यस्तो थियो, हरेक ठूला अमेरिकी कम्पनीहरु चीनमा निर्भर थिए । तर पछिल्लो समय एकपछि अर्को अमेरिकी कम्पनीहरु चीनबाट बाहिरिँदै छन् । बाहिरिनुको कारण सबैको उस्तै छ–कडा नियमन । तर, एप्पल भने चीनमा टिकिरहेको छ ।

ठूला अमेरिकी कम्पनीमध्ये चीनमा टिकिरहने सम्भवतः अन्तिम कम्पनी एप्पल भएपनि यसको भविष्य त्यति सहज भने हुने छैन ।

गत साता मात्रै चीनमा उपस्थिति जनाइरहेको अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्नो सोसल नेटवर्क साइट लिङ्डिन चीनमा बन्द गर्ने घोषणा गर्यो । चिनियाँ कानून पालना गर्न निकै गाह्रो हुँदै गएकाले सोसल नेटवर्किङ साइट बन्द गरेको माइक्रोसफ्टको स्पष्टिकरण थियो ।

चीनमा एप्पलले पनि आफ्नै खालको सेन्सरशिपको सामना गरिरहेको छ । एप स्टोरबाट दुई वटा चर्चित धार्मिक एप हटाइए । अमेजनको दुईवटा एप पनि एप स्टोरबाट हटाइयो ।

बेइजिङको बन्द कोठमाभित्र के भइरहेको छ भनेर अनुमान गर्न त गाह्रो छ । तर, एउटा कुरा भने के प्रष्ट छ भने चिनियाँ नियमन र त्यहाँका ठूला प्रविधि उद्योगसँग माइक्रोसफ्ट र एप्पल दुवैले चुनौतीको सामना गर्नुपरिरहेको छ ।

चीनसँग आफ्नै देशका ठूला प्रविधि कम्पनी छन् । टेन्सेन्ट, अलिबाबा र ह्वावे त्यसमध्येका हुन् । यी तीनै कम्पनी विश्वव्यापी रुपमा छरिएका ठूला कम्पनी हुन् । तर, आफ्नै देशका प्रविधि कम्पनीसँग फैलिरहेको शक्ति पनि चिनियाँ सरकारको चासोको विषय बनेको छ ।

अप्रिलमा मात्रै आफ्नो बजार हिस्साको दुरुपयोग गरेको भन्दै चीन सरकारले अलिबाबालाई दुई अर्ब डलर बराबरको जरिवाना तिराएको थियो । अगस्टमा चीन सरकारले प्रविधि कम्पनीलाई नियमन गर्ने आफ्नो ५ वर्षे योजना सार्वजनिक गरेको छ भने यसले बिटक्वाइनलाई पनि प्रतिबन्ध लगाएको छ ।

चीनको बढ्दो नियमनबाट अमेरिकी कम्पनी पनि अछुतो छैनन् । यो बढ्दो नियमनले माइक्रोसफ्ट र एप्पल दुवैलाई चीनमा आफ्नो भविष्य सोचेजस्तो सजिलो छैन भन्ने आभाष दिलाइसकेको छ ।

‘दुवै कम्पनीलाई थाहा छ, उनीले सचेत हुनुपर्छ,’ दी ग्रेट फायरवाल अफ चाइना पुस्तकका लेखक जेम्स ग्रिफिट्स भन्छन् ।

माइक्रोसफ्टले चीनमा आफ्नो सोसल नेटवर्क बन्द गर्नुको कारण त्यहाँ नोभेम्बर १ देखि लागू हुने व्यक्तिगत जानकारी संरक्षण कानून पनि हो । यो कानून लागू भएपछि सोसल नेटवर्क साइटले थप कडा नियमनको पालना गर्नुपर्ने हुन्छ ।

चीनमा एप्पलको अवस्था भने माइक्रोसफ्टको भन्दा फरक छ । पछिल्लो त्रैमासिकमा मात्रै एप्पलले चीन र ताइवानबाट मात्रै १५ अर्ब डलरको आय गर्‍यो । यो अंक सानोतिनो होइन ।

एप्पलको विश्वव्यापी वितरण शृंखला पनि चिनियाँ उत्पादकहरुसँग निर्भर छ । एप्पललाई पनि थाहा छ, चीनमा रहनु भनेको त्यहाँको कानूनको अधिनमा रहनु हो र यसको अर्थ सेन्सरशिप सहनु पनि हो ।

अब तपाईंलाई लाग्न सक्छ, एप्पलले चीनमा हार्डवेयर बेचेर आफ्नो एप स्टोरलाई किन बिर्सिरहेको छ ? जब कि एप्पलले आफ्नो एप स्टोर र आईफोन एउटै अभिन्न अंग हुन् भन्दै आएको छ । एप्पल आफ्नो आईफोनमा अन्यत्रबाट एप इन्स्टल होस् भन्ने चाहँदैन ।

यसकारण, एप्पलले आफ्नो सामान चीनमा बेच्ने हो भने उक्त देशमा एप स्टोर पनि चल्नु आवश्यक छ ।

ग्रिफिट्सको तर्क छ, पछिल्लो समय एप्पलका लागि पनि चिनियाँ नियम कडा बन्दै गइरहेको छ । ‘एकपटक एप हटाउन सहमति दिइसकेपछि यो क्रम रोकिन्न,’ उनी भन्छन् ।

माइक्रोसफ्टभन्दा अघिदेखि नै धेरै अमेरिकी कम्पनीहरुले चिनियाँ भित्ता छाडिसकेका छन् । गुगलले आफ्नो सर्च इन्जिनलाई २०१० देखि नै चीनमा बन्द गरिसकेको छ ।

सिलिकन ड्र्यागन पुस्तकका लेखक रेबोका फनिनका अनुसार भने माइक्रोसफ्टले चीनमा उपस्थिति कम बनाएपछि अब गाह्रो समय एप्पलका लागि हो । तर, एप्पलले चीनमा आफ्नो उपस्थिति यत्तिकै नछाड्ने उनको विचार छ ।

‘एप्पलले चीनको बजारमा आधिपत्य नै जमाएको छ र कुनै सानो तिनो कारणले मात्रै चीनमा उपस्थिति कम गर्छ जस्तो मलाई लाग्दैन,’ उनी भन्छिन् । 

-बीबीसीमा प्रकाशिन सामग्रीको अनुवादित र सम्पादिश अंश । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१