close

बदलिँदै छ टिकट काट्ने नेपाली शैली

अर्पना आले मगर अर्पना आले मगर

कात्तिक ९, २०७८ १३:२

बदलिँदै छ टिकट काट्ने नेपाली शैली

काठमाडौं । केही वर्ष अघिसम्म बस तथा हवाई टिकट काट्न बस स्टेसन वा वायुसेवा कम्पनीको टिकट काट्ने ठाउँमै गएर वा कुनै ट्राभल एजेन्सीलाई भनेर टिकट काट्नुपर्ने बाध्यता थियो ।

बस टिकट काट्न भिडमा लामो लाइन लागेर बस्नुपर्थ्यो भने हवाई टिकटका लागि अरुकै भर पर्नुपर्ने अवस्था थियो ।

विशेषगरी चाडपर्वको समयमा टिकट नपाइने, टिकट लिन भिडभाडमा जानुपर्ने, लाइन घण्टाैं बस्नुपर्ने समस्या थियो ।

यद्यपि डिजिटल भुक्तानीका विभिन्न प्लेटफर्महरूले आफ्नो दैनिकीमा सहयोग गरेजस्तै टिकट काट्नका लागि पनि यसले धेरै सहयोग गरेको छ ।

घरमै बसेर आफ्नो आवश्यकताअनुसार छानी छानी टिकट काट्न मिल्ने व्यवस्थाले गर्दा आजभोलि अनलाइन टिकेटिङको ट्रेन्ड बढेको छ ।

विगतका वर्षभन्दा यो वर्ष अनलाइन टिकट काट्ने यात्रुहरूको संख्या बढेको ईसेवाका सीओओ रोशन लामिछाने बताउँछन् ।

‘कोभिड महामारीपछि नै अनलाइन टिकेटिङ बढेको थियो । झन् दशैंमा अनलाइनबाट टिकट काट्नेको संख्या गत वर्ष हेरेर धेरै नै बढेको छ,’ उनले भने, ‘लकडाउनपछि डिजिटल पेमेन्टको अभ्यास थप बढेकोले यसबारे मान्छेहरू धेरै जानकार भएका छन् । यसले गर्दा पनि अनलाइन टिकेटिङ यात्रुको संख्या बढेको छ ।’

साथै वायुसेवा कम्पनीहरूले हवाईजहाज थप गरी उडान संख्या बढाएको र वायुसेवा कम्पनीहरूको उडान गन्तव्यको संख्या पनि बढेका कारण टिकेटिङ पनि बढेको उनको भनाइ छ ।

खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले यो दशैंको बेलामा हवाई टिकटको बिक्री करिब तीन गुणाले बढेको बताएका छन् ।

‘बजारमा उडान संख्याको प्रतिस्पर्धा बढेसँगै हवाई यात्रा गर्ने यात्रुहरूको संख्यामा पनि वृद्धि भएको छ । अनि हवाई यात्रा गर्ने यात्रुहरूमा पनि धेरैजसोले डिजिटल प्लेटफर्मबाट नै टिकट काट्ने गरेका छन्,’ उनले भने, ‘हामीले हवाई उडानका लागि आकर्षक अफरहरू पनि दिएका कारण यसपाली अनलाइन टिकेटिङ गर्नेहरूको संख्या विगतको तुलनामा धेरै बढेको छ ।’

श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार यो दशैंमा ९० प्रतिशतभन्दा बढी टिकट अनलाइनमार्फत बिक्री भएको छ ।

‘आजभोलि ट्राभल एजेन्सीभन्दा पनि यात्रुहरू अनलाइनबाट नै टिकट किन्न रुचाउँछन् । यो यात्रुको सहजतासँग जोडिएको विषय भएको कारण आउने दिनमा अनलाइन टिकेटिङ शतप्रतिशत पनि हुन सक्छ,’ उनले भने, ‘एकातिर लाइनमा बस्नुपर्ने, काउन्टरसम्म आफू नै धाउनुपर्ने बाध्यता हटेको छ भने अर्कोतिर यात्रुहरूले विभिन्न सेवाप्रदायकको भाडादर सस्तो र महँगो छानीछानी आफूअनुकुल टिकट लिन पाउँछन् । यसले पनि अनलाइन टिकेटिङलाई प्रोत्साहन गरेको छ।’

पहिले जस्तो टिकट काउन्टरमा चाडपर्वको बेलामा देखिने भिड अचेल नदेखिने उनले बताए ।

यसले गर्दा ट्राभल एजेन्सीहरूको व्यावसाय चाहि कम भएको उनको भनाइ छ । अनलाइन टिकेटिङको कारण ट्राभल एजेन्सी व्यावसायीहरूलाई घाटा भएको नेपाल असोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत शर्मा गुरागाईले बताए ।

‘वायुसेवा कम्पनीहरूले अनलाइन माध्यममार्फत टिकट बेच्ने काम गरेर ट्राभल एजेन्सी कम्पनीहरूलाई मार्ने काम भइरहेको छ । प्रत्येक वर्ष ट्राभल एजेन्सीबाट टिकट काट्नेहरू कम हुँदै गइरहेका छन्,’ उनले भने, ‘त्यसमाथि वायुसेवा कम्पनीहरूले उडानको भाडादर बढाउने, अनि अनलाइन माध्यमलाई प्राथमिकता दिएर क्यासब्याक अफरहरू दिँदा हाम्रो व्यवसाय संकटमा परेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१