close

एनसेललाई २ विधामा ‘वर्ल्ड कम्युनिकेसन’ अवार्ड

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ १९:३४

एनसेललाई २ विधामा ‘वर्ल्ड कम्युनिकेसन’ अवार्ड

काठमाडौं । एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधामा सम्मानित भएको छ । कम्पनीले ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार हात पार्न सफल भएको हो ।

९ कात्तिकमा आयोजित टोटल टेलिकम कङ्ग्रेसको एक कार्यक्रम माझ अवार्ड विजेताको घोषणा भएको थियो । सन् १९९९ मा सुरु भएको वर्ल्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकम बजारमा भएका नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीलाई सम्मानित गर्दै आएको छ ।

यी दुई सम्मानबाट एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा पुर्‍याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात विपद् प्रतिकार्य अन्तर्गत कोभिड महामारी, बाढी र भूकम्प जस्ता विभिन्न विपद तथा संकटको समयमा गरेका योगदानको सरहाना पाएको छ । स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै कम्पनीले विभिन्न सामाजिक पहलमार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै सरकारलाई दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याए बापत एनसेललाई ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ प्रदान गरिएको हो ।

त्यस्तै कोभिड–१९ महामारी, २०७२ को भूकम्प र २०७१ तथा २०७४ को बाढी जस्ता विपदका समयमा सरकार र समुदायलाई पुर्‍याएको सहयोगको कदर स्वरुप एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ दिइएको छ । यसै वर्ष देखि मात्र राखिएको वर्ल्ड कम्युनिकेसन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधामा एनसेलले विश्वका अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएको हो । ‍

प्रतिष्ठित वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१ अन्तर्गत दुई महत्त्वपूर्ण विधामा अवार्ड जित्न सफल भएकोमा आफूहरू निकै हर्षित भएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले प्रतिक्रिया दिएका छन् । ‘यी सम्मानहरू हामीले समाजको विकास र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेका महत्त्वपूर्ण कार्यहरू मात्र नभएर हाम्रा सामाजिक पहलको प्रभावकारी योगदान र विपदको समयमा सरकार र नेपाली जनसमुदायलाई पुर्‍याएको सहयोग र योगदानको कदर हो,’ उनले भनेका छन्, ‘हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्ना लागि बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीहरूलाई दिन चाहन्छु ।’

‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ विधाको पुरस्कारका लागि अभरोआ केवल, इण्डोस्याट उरेडू, एनसेल आजियाटा नेपाल, ओरेन्ज ग्रुप, पीएलडीटी एण्ड स्मार्ट, र पोलिक्याब इन्डिया गरी पाँच कम्पनीहरू सूचिकृत भएका थिए । त्यस्तै एयरटेल युगाण्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल आजियाटा लिमिटेड, उरेडू, ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डको लागि सूचिकृत  भएका थिए ।

एनसेलले हालैमात्र सम्पन्न ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड’को १२ औं संस्करणमा ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ समेत जितेको थियो । इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्युट, वर्ल्ड एचआरडी कङ्ग्रेस र स्टार अफ द ईण्डष्ट्री गु्रपले एसियामा रहेका विभिन्न कम्पनीहरूलाई मार्केटिङ कम्युनिकेसन्सको माध्यमबाट प्रतिभाहरूलाई आकर्षित गर्न, विकास गर्न र त्यस्ता प्रतिभालाई आफैसँग राख्न सफल कम्पनीहरुलाई सम्मान गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१