close

पब्लिक वाई-फाईबाट प्रयोगकर्तामाथि असुरक्षा बढेसँगै सुरु भयो अनुगमनको तयारी

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ १९:४१

पब्लिक वाई-फाईबाट प्रयोगकर्तामाथि असुरक्षा बढेसँगै सुरु भयो अनुगमनको तयारी

काठमाडौं । विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सार्वजनिक स्थलहरूमा उपलब्ध गराएको फ्री वाई-फाई (वाई-फाई हटस्पट) सेवालाई अनुगमन गरिने भएको छ । नियामक निकाय दूरसञ्चार प्राधिकरणले फ्री वाई-फाईको गुणस्तर तथा प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न यस्तो तयारी थालेको हो ।

पछिल्लो समयमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले विमानस्थल, शपिङ मल, सार्वजनिक सवारी साधन, धार्मिक क्षेत्र, अस्पताल, पार्क लगायत स्थानहरूमा वाई-फाई हटस्पट सेवा उपलब्ध गराउँदै आएका छन् । वाई-फाई नेटवर्क प्राइभेट नेटवर्क भन्दा कम सुरक्षित हुने भएकाले सार्वजनिक स्थलहरूमा यसको उपलब्धता बढ्दै जाँदा सँगसँगै सुरक्षा चुनौति पनि थपिएको हो ।

यही समस्यालाई सम्बोधन गर्न प्राधिकरणले वाई-फाई हटस्पट सम्बन्धी नियम २०७५ पनि जारी गरिसकेको छ । सोही नियममा आधारित भएर प्राधिकरणले सार्वजनिक स्थलमा रहेका वाई-फाई हटस्पटको अनुगमन गर्ने तयारी थालेको हो ।

यसका लागि प्राधिकरणले परामर्शदाता कम्पनीबाट ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ (आशयपत्र) माग गरेको छ । परामर्शदाता कम्पनीले वाई-फाई हटस्पट अनुगमनका लागि आवश्यक ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ बनाउनु पर्नेछ ।

साथै देशभर करिब ५०० ओटा सार्वजनिक स्थलमा रहेका वाई-फाई हटस्पट नेटवर्कको अनुगमन गर्नुपर्नेछ भने प्राधिकरणका अधिकारीहरूलाई पनि अनुगमनको लागि आवश्यक तालिम दिनुपर्नेछ । इच्छुक कम्पनीले यही २४ कात्तिकसम्म नियामक निकाय समक्ष आवेदन दिइसक्नु पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१