close

विदेशबाट भित्रिने ब्यान्डविथ अनुगमन गर्दै प्राधिकरण

टेकपाना टेकपाना

कात्तिक १५, २०७८ १०:८

विदेशबाट भित्रिने ब्यान्डविथ अनुगमन गर्दै प्राधिकरण

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट भित्रिने ब्याण्डविथ अनुगमन गर्ने भएको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चारको ट्राफिक तथा ब्याण्डविथ मनिटरका लागि आवश्यक सिस्टम जडानको प्रक्रिया अघि बढाएको हो ।

अदालतको निर्णयले दुई वर्षअघि खारेज भएको साे प्रक्रिया पुनः अघि बढाउनुपर्ने भएसँगै प्राधिकरणले डेटा अर्थात विदेशी ब्याण्डविथको समेत अनुगमन गर्ने गरी नयाँ सिस्टम जडान गर्ने भएको हो ।

त्यसका लागि प्राधिकरणले ७० करोड पुरक बजेट बोर्डबाट स्वीकृत गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहमतिका लागि पठाउने निर्णयसमेत गरिसकेको छ ।

यसअघि २०७४ सालमा प्राधिकरणले यो सिस्टम खरिदका लागि सार्वजनिक सूचनामार्फत अन्तर्राष्ट्रियस्तरमा आशयपत्र माग गरेको थियो । जसमा अन्तिम चरणका लागि चार परामर्शदाता छनौट भएका थिए । उनीहरूबाट आएको प्रस्तावलाई मूल्याङ्कन गरी अन्तिममा लेबनानको भ्यानरिस सोलुसन छनोट भएको थियो ।

तर, विज्ञले चार कम्पनीमात्र आउँदा प्रतिस्पर्धा कम भएको भनी राय दिएसँगै प्राधिकरणले पुनः खरिद प्रक्रिया अघि बढाउने भन्दै २०७६ साल वैशाख २४ गते प्रक्रिया खारेज गरेको थियो । प्राधिकरणको खरिद प्रक्रिया रद्द गर्ने उक्त निर्णयविरुद्धमा भ्यानरिस सोलुसनले सोही जेठमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो ।

उक्त निवेदनका आधामा सर्वोच्चले गएको वैशाखमा प्राधिकरणको उक्त निर्णय बदर गरिदिएको थियो । साथै निवेदक कम्पनीसँग बोलपत्र आह्वान बमोजिमको कानूनी प्रक्रिया पुरा गरी अग्रिम खरिद प्रक्रिया सम्पन्न गर्नसमेत अदालतले आदेश जारी गरेको थियो ।

त्यसैका आधारमा प्राधिकरणका निर्देशक विजयकुमार रोयको संयोजकत्वमा प्राविधिक समिति गठन भएको थियो । उक्त समितिले खरिद प्रक्रिया प्रारम्भ गरेको समय २०७४ देखि हालसम्म यस क्षेत्रमा भएको प्रविधिको विकास सम्बन्धमा अध्ययन गरेको थियो ।

उक्त समितिले गत असोज १ गते अध्ययन प्रतिवेदन प्राधिकरणलाई बुझाएको थियो । प्रतिवेदनका आधारमा उक्त प्रणालीमा हालसम्म भएको प्रविधिको विकासलाई पनि समावेश गर्ने शर्तमा प्राधिकरणले सोही कम्पनीबाट सिस्टम खरिद गर्ने निर्णय गरेको हो ।

जसमा यसअघि समावेश नभएको डेटा मनिटरिङ समेत थप गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन् ।

खनालका अनुसार यसअघि प्राधिकरणले मागेको सिस्टममा अन्तर्राष्ट्रिय कल मनिटरिङ मात्रै समावेश भएको थियो । ‘तर, खारेज गरेको कम्पनीबाटै दुई वर्षपश्चात सामान लिनुपर्ने बाध्यता भएपछि हामीले उक्त कम्पनीसँगै नयाँ प्रविधि र डेटा मनिटरिङ सिस्टम समेत समावेश हुनुपर्ने प्रस्ताव राखेका थियौ । उक्त प्रस्तवमा कम्पनी सहमत भएको छ,’ खनालले टेकपानासँग भने ।

उनले अगाडि भने, ‘योसँगै अब आउने सिस्टमले विदेशबाट आउने कलका साथै डेटाको समेत मनिटर गर्ने छ । जसमा कम्पनीहरुले विदेशबाट ल्याएको डेटा कुन गुणस्तरको छ ? कुन कम्पनीले कति डेटा बजारमा ल्याइरहेका छन् ? भन्ने लगायतका सम्पूर्ण जानकारी प्राप्त हुनेछ ।’

हालसम्म प्राधिकरणले कम्पनीहरुले देखाएको सम्झौताका आधारमा कति डेटा आएको छ, डेटाको लागि कति पैसा खर्च गरिरहेको छन् भन्ने कुरा मापन हुने गरेको थियो ।

त्यो हुँदा विदेशी मुद्रा सटहीमा तलमाथि हुनसक्ने अवस्था समेत थियो । तर, जब सिस्टमले नै अनुगमन गरेपश्चात ब्याण्डविथको यकिन जानकारी अनुसार डलर सटहीको लागि स्वीकृति प्रदान गर्नसमेत सहज हुने खनाल बताउँछन् ।

यसका साथै उक्त सिस्टमले कम्पनीहरुले विदेशबाट ल्याएको डेटा कति ग्राहकलाई उपलब्ध गराइरहेका छन ? कुन कम्पनीबाट ब्याडविथ ल्याएका छन् भन्ने लगायताका सम्पूर्ण जानकारी प्राप्त हुने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१