close

मोबाइल एपबाटै पार्टी सदस्यता वितरण र नवीकरण गर्दै एमाले

टेकपाना टेकपाना

कात्तिक १८, २०७८ १०:५५

मोबाइल एपबाटै पार्टी सदस्यता वितरण र नवीकरण गर्दै एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मोबाइल एपबाटै पार्टी सदस्यता वितरण तथा नवीकरण गर्न सुरु गरेको छ । राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको पार्टीले सीपीएन यूएमएल (नेकपा एमाले) नाम एप सञ्चालनमा ल्याएको हो ।

पार्टीले दशौँ महाधिवेशनअघि नै आफ्ना सबै सदस्यताको विवरण एपमा राखिसक्ने उद्देश्यका साथ काम अगाडि बढाएको छ । पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणबाट आधुनिक प्रविधिअनुसार पार्टीलाई परिवर्तन गर्ने काम अगाडि बढेको एमालेले  जनाएको छ ।

गत असोजमा ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको विधान सम्मेलनका क्रममा सार्वजनिक गरिएको एपमा गत हप्तादेखि सदस्यता विवरण राख्न थालिएको हो । एपमा बुधबारसम्म ४० हजार बढी सदस्यको विवरण रेकर्ड भइसकेको बताइएको छ ।

आईओएस र एन्ड्रोइड दुवैका लागि उपलब्ध यो एप डाउनलोड गरेर पार्टी सदस्यहरूले आफ्नो सदस्यताको बारेमा जानकारी लिन सक्छन् । हाल एमालेका ७ लाख २१ हजार सदस्य रहेको बताइएको छ ।

सदस्यता नवीकरण मात्र होइन, नयाँ सदस्य फर्म समेत सोही एपबाट भर्न सकिन्छ। पुराना सदस्यले अहिलेसम्म पार्टीमा गरेको योगदान, पार्टीले गरेको मूल्यांकन, सञ्चार माध्यममा प्रकाशित लेख, अन्तर्वार्ता लगायतका सबै विवरण एपमा राख्ने काम भइरहेको छ । हरेक पार्टी सदस्यको राजनीतिक तथा सामाजिक जीवन, पार्टीमा आबद्ध भएको मिति, गरेका महत्वपूर्ण काम लगायतका विवरण समेत एपमा राखिँदैछ ।

यति मात्र होइन, एमाले परित्याग गरेका सदस्यको विवरण तथा योगदान समेत एपमै हेर्न सकिनेछ । एपमा रहने पार्टी सदस्यको विवरण तथा गतिविधिले महाधिवेशन र आम निर्वाचनमा एमालेलाई टिकट वितरण गर्न समेत सजिलो हुनेछ ।

अहिले पाँच जनाको डेभलपर टिमले एप निर्माणको काम गरिरहेको छ । सदस्यहरूको विवरणमा त्रुटि नहोस् भनेर प्रत्येक सदस्यको फोन नम्बर र पार्टी सदस्यता मिलाएर एपमा इन्ट्री गर्न सकिने बनाइएको छ। जसमा पार्टी सदस्यता नम्बर राख्नुपर्ने हुन्छ ।

पार्टी सदस्यता नम्बर र सदस्यता पाएको मिति पार्टी केन्द्रिय कार्यालयले मात्र प्रदान गर्नेछ । नेता र कार्यकर्तालाई पठाइएको अन्तर पार्टी निर्देशिका, पार्टी केन्द्रका निर्णय, निर्देशन लगायतका सामग्रीहरू एपमै उपलब्ध हुनेछन् ।

सामान्य खालको पार्टी गतिविधि भने लग-ईन नगरेरै हेर्न सकिनेछ । हालसम्म एपको डाउनलोड १० हजार नाघिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५