close

हातमा सीप भएका व्यक्तिलाई काम खोजिदिने अनलाइन प्लेटफर्म- ईसहर

टेकपाना टेकपाना

कात्तिक २२, २०७८ १४:३९

हातमा सीप भएका व्यक्तिलाई काम खोजिदिने अनलाइन प्लेटफर्म- ईसहर

काठमाडौं । दैनिक जीवनमा आइपर्ने विभिन्न कामलाई सहज रुपमा सम्पन्न गर्ने उद्देश्यसहित नयाँ अनलाइन प्लेटफर्मको विकास भएको छ । सेवाप्रदायक र सेवाग्राही दुवैलाई जोड्न ईसहर डटकम सुरु भएको हो ।

ईसहर डटकममा विभिन्न सेवा जस्तै बिजुली बत्ति एवं धारा पानी मर्मत, रंगरोगन, सरसफाई, बुकिङ सेवा, सौन्दर्य सेवा, सवारी तथा सामान भाडा, फोटो-भिडिओ, कम्प्युटर मर्मत, आईटी/सफ्टवेयर सम्बन्धित काम, लेबर/मिस्त्री, अपरेटर, सप्लायर्स तथा अन्य ५० भन्दा बढी सेवा दर्ता गर्न सकिनुका साथै अनुभवी र दक्ष जनशक्तिबाट सेवा लिन सकिन्छ ।

आफूसँग भएको सीप र दक्षताको सदुपयोग गर्दै आफ्नै हिसाबले आम्दानी गर्न राम्रो प्लेटफर्मको रुपमा ईसहर रहेको कम्पनीकाे भनाइ छ । ईसहर एउटा निःशुल्क प्लेटफर्म हो, जसमा जोडिन र यसबाट सेवा लिन कुनै शुल्क तिर्नुपर्दैन ।

सेवाग्राही र सेवाप्रदायकबीच रही आएको दूरीलाई कम गर्ने उद्देश्यले ईसहरको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

आफूसँग सीप भएर पनि काम नपाउने समस्या घर-अफिस लगायतका साना ठूला सबै प्रकारको कामका लागि एउटै साझा प्लेटफर्म बनाउने लक्ष्यसहित ईसहरको सुरुवात भएको हो ।

सेवाग्राहीले कुनै सेवाको आवश्यक परेमा ईसहरमा सजिलो तरिकाले आफ्नै घर वरिपरिको दक्ष व्यक्ति खोज्न सक्छन् । सेवाप्रदायकले आफूले दिने जतिपनि सेवा सबै यस एपमा सूचीकरण गरेर आफ्नो प्रोफाइल क्रियट गर्न सक्छ ।

त्यस्तै ग्राहकबाट पोस्ट भएका काममा आफ्नो सेवा र लागत राखेर आफ्नो सेवा अफर गर्न पनि सकिन्छ र ईसहरको विशेष सेवामा सेवाप्रदायक र ग्राहकबीच सिधै र तुरुन्त सम्पर्क गर्न सकिन्छ ।

तीन जनाको टिमले सुरुवात गरेको यो प्लेटफर्म हाल वेब भर्सनमा मात्र उपलब्ध छ ।

‘हाम्रो दैनिक जीवनलाई आवश्यक हुने साना-साना कामलाई समाधान गर्ने सोचले हामीले यो प्लेटफर्मको सुरुवात गरेका हौं । हाल यसमा ५० भन्दा बढी घरायसीदेखि अन्य आवश्यक सेवा उपलब्ध गराइएको छ,’ ईसहरका संस्थापक सदस्य जनक तामाङले भने ।

आफ्नै कुनै व्यवसाय गरिरहेका व्यवसायी तथा केही सीप भएका जोकोहीले पनि आफ्नो व्यवसाय र सीप यो एपमा निःशुल्क रुपमा दर्ता गराउन सक्ने उनले बताए ।

‘सेवा चाहिएको खण्डमा सेवाग्राहीले वेबसाइटमा भएको जानकारी लिएर सोझै सेवाप्रदायकलाई सम्पर्क गर्न सकिन्छ, अथवा आफ्नो अकाउन्ट बनाएर अनलाइनमार्फत नै सम्पर्क गर्न सकिन्छ ।’

हाल वेबसाइटमा मात्र सीमित यो सेवा आउने दिनमा मोबाइल एपमा पनि उपलब्ध हुने उनको भनाइ छ । ‘अहिले हामी वेबसाइटको प्रतिक्रिया संकलन गरिरहेका छौं । आवश्यकता अनुसार मोबाइल एपको पनि सुरुवात गर्ने तयारीमा छौ,’ उनले भने ।

तामाङसहित, सुजन थापा मगर र निशान राईले ईसहर सुरुवात गरेका हुन् ।

‘धेरै मानिस सीप भएर पनि काम नपाएर बसेका छन् । यस्ता व्यक्तिलाई स्वतन्त्र रुपमा काम गर्ने प्लेटफर्म बनाउन खोजेका हौं । त्यस्तै फरक-फरक कामका लागि फरक-फरक वेबसाइटमा जानुपर्ने अथवा मान्छे खोजी रहनुपर्ने झन्झटलाई मेटाउन हामीले यो सेवा सुरु गरेका हौं,’ उनले थपे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५