close

‘मिट’ पछिको अर्को असफल परियोजना बन्ने दिशामा टेलिकमको ‘नमस्ते पे’

टेकपाना टेकपाना

कात्तिक २३, २०७८ ८:३०

‘मिट’ पछिको अर्को असफल परियोजना बन्ने दिशामा टेलिकमको ‘नमस्ते पे’

काठमाडौं । गएको भदौ २९ मा नेपाल टेलिकमले ‘नमस्ते पे’ मोबाइल वालेट सार्वजनिक गर्‍यो । दर्जनौं मोबाइल वालेटको बीचमा दूरसञ्चारको ठूलो नेटवर्क र ठूलो लगानीका साथ भित्रिएको नमस्ते पे लामो समयदेखि प्रयोगकर्ताका लागि पर्खाइको विषय थियो ।

सुरुमा टेलिकमको मोबाइल नम्बर र नम्बरमा भएको ब्यालेन्सलाई नै कारोबारको माध्यम बनाउने चर्चा भएता पनि यथार्थमा भने त्यो देखिएन ।

यसैबीच यूसएसएसडी कोड र इन्टरनेटमा आधारित भएर दुई महिनाअघि कम्पनीले आफ्नो सेवा सुरु गर्‍यो । सुरु भएता पनि धेरै प्रयोगकर्ताले हालसम्म पनि एप प्रयोग गर्न सकिरहेका छैनन् । कतिपयले एप डाउनलोडमै समस्या भोगे ।

एप डाउनलोड भएता पनि खोल्ने बित्तिकै एप क्र्यास हुने समस्या पनि देखियो । धेरैले रजिस्ट्रेसन प्रक्रियाको अन्त्यमा पुगेपछि एप क्र्यास हुने गुनासो गरे ।

एकपछि अर्को समस्या देखापरेको एप हालसम्म पनि पूर्णरुपमा प्रयोगमा आएको छैन । हुन त कम्पनीले सेवा सुरु गर्दा प्रयोगकर्ताको प्रतिक्रिया लिन भन्दै बेटा भर्सनको रुपमा प्ले स्टोरमा राखेको थियो ।

त्यही उद्देश्यका साथ एपको नाम समेत ‘नमस्ते पे (बेटा) कस्टमर फिडब्याक’ राखिएको थियाे । याे भर्सनमा प्रयोगकर्ताबाट आएको प्रतिक्रियालाई समेटेर कम्पनीले परिष्कृत भर्सनको रुपमा हाल ‘नमस्ते पे (बेटा)’ सार्वजनिक गरेकाे छ ।

तर, परिष्कृत भर्सनको रुपमा आएको नमस्ते पेको एपमा पनि प्रयोगकर्ताले समस्या भोगिरहेका छन् । कतिपय मोबाइलमा अझै पनि एप क्र्यास हुने समस्या कायमै छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद भण्डारीका कुरालाई आधार मान्ने हो भने यो समस्या वालेटमा नभएर मोबाइलको हो ।

‘कतिपय मोडलका मोबाइलमा यस्तो समस्या पाइएको छ,’ उनले भने, ‘हामीले प्रयोगकर्ताको गुनासोका आधारमा त्यस्ता मोबाइलको मोडल पहिचान गरी समस्या समाधान गरिरहेका छौं । तर, अझैपनि यो बेटा भर्सनमै भएकाले मंसिरबाट बजारमा आउने एपको ‘स्टेबल भर्सन’ (स्थिर संस्करण) मा यस्ता समस्या नदोहोरियोस् भनेर काम गरिरहेका छौं ।’

उनका अनुसार आउँदो मंसिरदेखि कम्पनीले नमस्ते पेको नयाँ भर्सन सार्वजनिक हुनेछ, जसमा हाल एपमा उपलब्ध सेवामा उल्लेख्य वृद्धि गर्दै थप सेवा समेत प्रयोगकर्ताले पाउनेछन् । भने, त्यसपछिका दिनमा कम्पनीले आवश्यकता अनुसार एपमा अपडेट उपलब्ध गराउँदै जानेछ ।

तर, पहिलो गाँसमै ढुँगा चपाउनु परेका प्रयोगकर्ताले भोलिका दिनमा नमस्ते पे प्रयोग गर्छन त् ? भन्ने प्रश्न खडा भएको छ ।

किनभने लामो समयको पर्खाइपछि आएको नमस्ते पेमा दुई महिना बितिसक्दा अझै पनि धेरै समस्या कायमै रहेका छन् । पूर्व तयारी बिना एप सार्वजनिक गर्दा प्रयोगकर्तामाझ ब्राण्डकै नकारात्मक छवि सिर्जना भएको छ ।

हुन त कम्पनीलाई पनि नेपाल राष्ट्र बैंकको शर्तअनुसार सेवा सञ्चालनमा ल्याउनुपर्ने बाध्यता थियो । ‘हामीलाई राष्ट्र बैंकले गत चैत ४ गते अनुमतिपत्र प्रदान गरेको थियो,’ भण्डारीले भने, ‘लाइसेन्स प्राप्त गरेको ६ महिनाभित्र आफ्नो सेवा व्यवसायिक रुपमा सञ्चालनमा ल्याउनुपर्ने दायित्व कम्पनीलाई थियो । तर कोभिडले परियोजनामा असर पार्‍यो । जसले गर्दा परीक्षण गरेर सेवा सुरु गर्न पर्याप्त समय हामीसँग थिएन । त्यसैले हतारमा हामीले सेवा सञ्चालनमा ल्यायौं ।’

तर, त्यही हतारो नै आज कम्पनीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । त्यसै त नेपाल टेलिकम लगायतका सरकारी सेवाप्रदायकको सेवामाथि गुनासाे बढिरहेकाे छ । त्यस्तोमा टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सहायक कम्पनी खडा गरी सञ्चालनमा ल्याएको मोबाइल वालेटलाई पनि प्रयोगकर्ताले त्यसैअनुरुप हेर्नसक्ने अनुमान गर्न सकिन्छ । 

४० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीमा नेपाल टेलिकमको २५ करोड अर्थात् ६३ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १५ करोड रुपैयाँ अर्थात् ३७ प्रतिशत लगानी रहेको छ ।

दुवै सरकारी निकायको लगानी रहेको यो कम्पनीलाई पनि सरकारी सेवा न हो भन्दै प्रयोगकर्ताले दर्शाउन थालिसकेका छन् । त्यो हिसाबले पनि नमस्ते पेका लागि यो ठूलो चुनौती हो ।

टेलिकमकै यसअघिका परियोजनालाई हेर्ने हो भने पनि धेरै परियोजना असफल भएका छन् । टेलिकमले ४ माघ २०७२ मा आफ्ना विभिन्न सेवालाई एउटै सिस्टममा आवद्ध गराउने उद्देश्य अनुरुप युनिफाइड कम्युनिकेसन सिस्टम (यूसीएस) को अवधारणामा सामाजिक सञ्जाल ‘मिट’ सञ्चालनमा ल्याएको थियो ।

१० करोड २० लाख २४ हजार रुपैयाँ खर्चिएर अघि बढाइएको उक्त परियोजनामा टेलिकम असफल भएको छ । त्यतिमात्रै हाेइन, वाईम्याक्स परियोजना पनि बन्द गर्ने तयारीमा टेलिकम पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५