close

वनप्लस नोर्ड २ फाइभजी बिस्फोटमा परेकालाई कम्पनीले दियो ‘रिफन्ड’सँगै उपचार खर्च

टेकपाना टेकपाना

कात्तिक २५, २०७८ १७:३३

वनप्लस नोर्ड २ फाइभजी बिस्फोटमा परेकालाई कम्पनीले दियो ‘रिफन्ड’सँगै उपचार खर्च

काठमाडौं । वनप्लस नोर्ड टु फाइभजी अचानक बिस्फोट हुँदा एकजना प्रयोगकर्ता घाइते भएका छन् । यो गत साताको घटना हो । कम्पनीले समेत उक्त घटनाको अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

यसैबीच अर्को ताजा रिपोर्ट समेत आएको छ, जसमा वनप्लसले मोबाइलको पैसा फिर्ता गर्नुका साथै पीडितको औषधोपचार खर्च समेत व्यहोरेको दाबी गरिएको छ । त्यसो त यस्तै किसिमको घटना विगतमा समेत बाहिर आएको थियो ।

जसमा प्रयोगकर्ताले गम्भिर किसिमको आगलागीको सामना गर्नुपरेपछि वनप्लस नोर्ड टु प्रयोगकर्ताहरूमा सुरक्षाको चिन्ता बढेको थियो । पिडितलाई उदृत गर्दै माई स्मार्टप्राइसले प्रकाशित गरेको रिपोर्टमा वनप्लसले बिस्फोटनका लागि रिफन्ड जारी (सामानको पैसा फिर्ता गर्ने काम) गरेको र प्रयोगकर्ताको औषधोपचार गर्ने आश्वासन समेत दिएको छ ।

साथै पीडितको सहायताका लागि कम्पनीका सञ्चालन प्रमुखले सम्पर्कमा रहने बताएका छन् । त्यसो त वनप्लसले अहिलेसम्म यस विषयमा विस्तृत रुपमा स्वीकारोक्ति जनाएको छैन ।

साथै ट्वीटरमार्फत घटना सार्वजनिक गरेका पीडितले अहिलेसम्म क्षतिपूर्ति पाएको विषयमा समेत कुनै जानकारी शेयर गरेका छैनन् । यद्यपि उनले केही अघि कम्पनी नियमित सम्पर्कमा रहेको र यो केसमा काम गरिरहेको उल्लेख गरेका थिए ।

गत जुलाईमा वनप्लस नोर्ड टु फाइभजी विश्व बजारका लागि सार्वजनिक भएको थियो । सार्वजनिक भएको हप्ता दिनपछि एक जना प्रयोगकर्ताले खरिद गरेको केही दिनमै फोन बिस्फोट भएको बताएका थिए ।

उक्त घटनामा कम्पनीले बाह्य कारणले फोन बिस्फोट भएको र निर्माण तथा उत्पादनमा कुनै कमजोरी नभएको बताएको थियो । त्यसको केही समयपछि नै वनप्लस नोर्ड टु फाइभजीका अर्का प्रयोगकर्ताले आफ्ना वकिलको गाउनमा रहेको फोन बिस्फोट भएको बताएका थिए ।

उक्त घटनामा कम्पनीले प्रभावित प्रयोगकर्तालाई ‘लिगल नोटिस’ पठाएको थियो र त्यसमार्फत कम्पनीको प्रतिष्ठामा आँच पुर्‍याउने ‘दुर्भावनापूर्ण र गलत मनसाय’ भएको दाबी गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१