close

कस्तो इन्डक्सन चुलो किन्ने ?

टेकपाना टेकपाना

कात्तिक २७, २०७८ १७:४८

कस्तो इन्डक्सन चुलो किन्ने ?

काठमाडौं । पछिल्लो समय विद्युतीय उत्पादनप्रति उपभोक्ताको रुचि बढिरहेको छ । सरकारले समेत विद्युतीय सामग्रीको प्रयोगलाई प्रवर्द्धन गरेको छ ।

हालै पेट्रोलियम पदार्थको मूल्य वृद्धि बढेपछि त विद्युतीय गाडीदेखि भान्छामा प्रयोग हुने इन्डक्सन चुलासम्मका सामग्रीमा सर्वसाधारणको झनै चासो बढेको छ ।

नेपाल विद्युत प्राधिकरणले समेत विद्युतको आन्तरिक खपत बढाउन सहुलियत कार्यक्रम ल्याउने तयारी गरेको छ । यस्ताे अवस्थामा विद्युतीय सामग्रीमा रूचि बढ्नु स्वभाविकै हाे ।

आज हामी इन्डक्सन चुलोको चर्चा गर्दैछौं । घरेलु उपकरणमा अहिल धेरैको रोजाइमा परिरहेको यस्तो चुलो कसरी छनौट गर्ने भन्ने विषय भने जटिल नै हो ।

बजारमा धेरै थरीका इन्डक्सन उपलब्ध भएपनि आफ्ना लागि सही चुलो छनौट गर्न भने तपाईंका लागि सहज नहुन सक्छ । विशेषगरी इन्डक्सनको ब्राण्ड, गुणस्तर, वारेन्टी, सर्भिस सपोर्ट लगायतका विषय अध्ययन गर्ने र आफ्नाे आवश्यकतासँग मेल खाने गरी चुलो छान्नुपर्छ ।

कस्तो इन्डक्सन चुलो किन्ने ?

१. इन्डक्सनको पावर रेट

इन्डक्सन चुलो किन्ने बेलामा सबैभन्दा सुरुमा ध्यान दिनुपर्ने कुरा हो पावर रेट । इन्डक्सनको पावर रेट जति धेरै भयो त्यतिनै खाना छिटो पाक्ने हुन्छ । धेरैजसो इन्डक्सनको पावर रेट १००० देखि २००० वाट सम्मको हुने गर्छ ।

यसर्थ यदि तपाईं छिटो पाक्ने इन्डक्सन खरिद गर्न चाहनुहुन्छ भने धेरै पावर रेट भएको चुलो खरिद गर्न सक्नुहुन्छ । यद्यपि जति धेरै पावर रेट भयो, त्यति नै मूल्य भने बढी पर्न सक्छ ।

२. प्रि-सेट मेनु

प्रयोगकर्ताको सहजताका लागि केही कम्पनीहरूले इन्डक्सनमा प्रि-सेट मेनुको पनि व्यवस्था गरेका छन् । प्रि-सेट मेनुले खानेकुरा अनुसार इन्डक्सनले स्वत: तापक्रम मिलाउँछ ।

दुध उमाल्दा अथवा खाना बनाउँदा वा रोटी पकाउदा अनि तरकारी पकाउदा खानेकुरा अनुसार एक क्लिकको भरमा फरक-फरक तापक्रम मिलाउने काम प्रि(सेट मेनुले गर्दछ । त्यसैले यस्तो सुविधा भएको चुलो पनि तपाईं खरिद गर्न सक्नुहुन्छ ।

३. सेफ्टी फिचर

इन्डक्सन चुलो किन्दा ध्यान दिनुपर्ने अर्को महत्त्वपुर्ण कुरा हो, सेफ्टी अर्थात् सुरक्षा फिचर । उदाहरणका लागि केन्टको इन्डक्सन चुलोहरूमा अटो प्यान डिटेक्सन भन्ने फिचर हुन्छ, जसले चुलोबाट निकाल्ने बित्तिकै चुलोको तापक्रम स्वत: घट्छ ।

यदि तपाईंले चुलो बन्द गर्न बिर्सनुभयो भने पनि चुलो आफैं बन्द हुन्छ । यस्तो प्रकारको विभिन्न सुरक्षाका मापदण्ड प्रयोग भएका चुलोहरू हेरेर खरिद गर्नु पनि सुरक्षित हुन्छ ।

४. चुलोको प्यान साइज

प्रत्येक इन्डक्सन चुलो अधिकतम र न्यूनतम प्यान साइजको हुन्छ । यदि तपाईंको चुलो भाँडाभन्दा सानो भयो भने यसले भाँडा डिटेक्ट गर्न सक्दैन र यो तात्तिदैन ।

खाना पकाउने भाँडाको साइज चुलोको क्वाइलको साइजसँग मेल खाएन भने इन्डक्सनले काम गर्दैन । त्यसैले तपाईंले आफ्नो आवश्यकता अनुसार भाँडाको साइज र चुलोको साइज मिल्ने गरी चुलो खरिद गर्नुपर्छ ।

५. चुलोको पोर्टेबिलिटी

प्रायजसो चुलोहरू दुईप्रकारको हुन्छ, एउटा सहजै जता पनि सार्न मिल्ने, अर्को फिक्स्ड चुलो । पोर्टेबल चुलो तपाईंको आवश्यकता अनुसार जता पनि लिएर जान मिल्ने हुन्छ भने फिक्स्ड चुलो एकपटक जोडेपछि अर्को ठाउँ सार्न सकिँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२