close

अफलाइन गेम वा एपमा यसरी ब्लक गर्नुहोस् विज्ञापन

टेकपाना टेकपाना

कात्तिक २८, २०७८ ११:७

अफलाइन गेम वा एपमा यसरी ब्लक गर्नुहोस् विज्ञापन

कठमाडौं । एन्ड्रोइड फोनमा आउने अनावश्यक विज्ञापनले तपाईंलाई पक्कै पनि दिक्क बनाएको हुनुपर्छ । यस्ता विज्ञापनबाट बच्न धेरैले प्रिमियम भर्सन अर्थात् पैसा तिरेर एप वा गेम डाउनलोड गर्ने गर्छन् । नयाँ एन्ड्रोइड संस्करणमा भने तपाईंले यस्ता एप पूर्णरुपमा विज्ञापनमुक्त भएर चलाउन सक्नुहुन्छ ।

अफलाइन एप वा गेम चलाउनु भनेको यसका लागि इन्टरनेट वा डेटा चाहिन्न । यी एपले पनि अफलाइन रुपमै प्रयोगकर्ताको डेटा स्टोर गर्छन् ।

आज हामी यस्ता अफलाइन एपमा विज्ञापन ब्लक कसरी गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं

(नोटः हामीले आज दिन लागेको यो टिप्सले सबै अफलाइन एपहरूसँग काम नगर्न पनि सक्छ र इन्टरनेट जडान आवश्यक पर्ने एपको कार्यक्षमतालाई कमजोर बनाउन सक्छ ।)

अफलाइन एप गेममा विज्ञापन कसरी ब्लक गर्ने ?

अफलाइन एपमा प्राय तपाईंको फोनमा पहिले नै विज्ञापन डाउनलोड भएर बस्छन् र विभिन्न अन्तरालमा विज्ञापन डिस्प्ले हुन्छ । यद्यपि धेरैजसो अवस्थामा इन्टरनेट पहुँच छैन भने स्वतः विज्ञापन ‘स्किप’ हुन्छ । हामीले स्मार्टफोनमा डेटा र वाई-फाईको एक्सेस रोकेर निश्चित एप वा गेममा विज्ञापन रोक्न सक्दछौं ।

एपलाई अनइन्स्टल गरेर पुनः इन्स्टल गर्नुहोस्

पहिले तपाईंंले विज्ञापन ब्लक गर्न चाहेको एपलाई अनइन्स्टल गरेर पुनः इन्स्टल गर्नुहोस् । वैकल्पिक रूपमा तपाईं यी एपको क्यास र स्टोरेज खाली गर्न सक्नुहुन्छ । एकपटक यो पुनः इन्स्टल भएपछि वा यसको डेटा खाली गरिसकेपछि तुरुन्तै एप/गेम नखोल्नुहोस्।

एप/गेमको एप इन्फो (App Info) पेजमा जानुहोस्

तपाईंले विज्ञापन रोक्न प्रयास गरिरहनुभएको एपको ‘App Info’ पेजमा जानुहोस् । तपाईंको एण्ड्रोइड डिभाइसअनुसार प्रक्रिया फरक हुन सक्छ । सेटिङबाट वा त्यो एपलाई लङ प्रेस अर्थात् केही बेर दबाएर पनि एप इन्फोमा जान सक्नुहुन्छ ।

इन्टरनेट कनेक्सन बन्द गर्नुहोस्

इन्फो पेजभित्र नेटवर्क (मोबाइल डेटा वा वाईफाई) खोज्नुहोस् । यस खण्डमा, तपाईंले वाईफाई वा मोबाइल डेटामा जडान हुँदा इन्टरनेटमा त्यो एपको एक्सेस डिसेबल गर्न थप विकल्प फेला पार्नुहुन्छ । त्यसलाई टोगलको सहायताले डिसेबल गर्नुहोस् ।

यति गरिसकेपछि एप कुनै पनि हिसाबले इन्टरनेटमा जोडिन पाउने छैन । अब तपाईं एप खोल्न सक्नुहुन्छ र तपाईंले कुनै पनि विज्ञापन झेल्नुपर्दैन । अफलाइन एप/गेम भएकोले, तपाईंले अझै पनि यसलाई पूर्णरूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२