close

आजदेखि नेपालमा ई-पासपोर्ट

टेकपाना टेकपाना

मंसिर १, २०७८ ८:४९

आजदेखि नेपालमा ई-पासपोर्ट

काठमाडौं  । आजदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको हाे ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने छ । एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले ई-पासपोर्ट सार्वजनिक गर्ने कार्यक्रम छ । 

विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी विभागको रहेको छ ।

आजदेखि केही हप्ता विभागबाटै परीक्षणको विद्युतीय राहदानी वितरण गरिने योजना रहेको विभागका निर्देशक तथा प्रवक्ता शरदराज अरनले बताए । त्यसपछि औपचारिक वितरण सुरु भएसँगै प्रदेश तथा जिल्ला स्तरमा विद्युतीय राहदानी वितरण गरिनेछ ।

पासपाेर्टकाे कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । विभागले सात प्रकारका पासपाेर्ट जारी गर्नेछ । यसअन्तर्गत कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब (सिम्यास रेकर्ड बुक), साधारणअन्तर्गत (३४ र ६६ पृष्ठ) र सर्भिस पासपोर्ट रहेका छन् । 

विभागका अनुसार पहिलो चरणमा २० लाख थान विद्युतीय राहदानी वितरण गरिने छ । नेपाल सरकारले पासपोर्टको डिजाइनलाई स्वीकृति दिएपछि पहिलो चरणको छपाइ भइसकेको छ ।

विद्युतीय राहदानीको पोलिकार्बोनेट पानाभित्र जडान गरिएको डिजिटल चिप्समा राहदानी बाहकको सबै विवरण सुरक्षित हुन्छ । नयाँ राहदानी वितरण भए पनि पुरानो एमआरपी राहदानीको म्याद नसकिएकाको हकमा म्याद रहुन्जेल त्यही राहदानीलाई नै मान्यता दिइने छ ।

एमआरपी राहदानी विस्थापित गर्ने विद्युतीय राहदानीले आम नेपाली नागरिकलाई विश्व यात्रामा सहज बनाउने विश्वास गरिएकाे छ ।

जसअनुसार विद्युतीय राहदानी वितरण भएपछि नेपालको यात्रीले अन्तर्राष्ट्रिय स्तरको आवागमनको सुविधा प्राप्त गर्ने विभागले जनाएको छ । अरुबेला जस्तो घण्टौँ लाइनमा बस्नुपर्ने झन्झटबाटसमेत नेपाली नागरिकले छुटकारा पाउने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३