close

ई-पासपोर्ट आवेदनमा समस्या

टेकपाना टेकपाना

मंसिर २, २०७८ १३:४५

ई-पासपोर्ट आवेदनमा समस्या

काठमाडौं । ई-पासपोर्ट (विद्युतीय राहदानी) आवेदनमा समस्या देखिएको छ । राहदानी विभागले बुधबारमात्रै परीक्षणकालीन वितरण प्रारम्भ भएको घोषणा गरेपनि २४ घण्टा नबित्दै आवेदन प्रणालीमा समस्या देखिएको हो ।

आवेदन प्रक्रियाअन्तर्गत ‘अपोइन्टमेन्ट डेट’ लिने चरणमा पुगेपछि सिस्टमले काम नगरेको सेवाग्राहीले गुनासो गरेका छन् । जनसाङ्ख्यिकी जानकारी, नागरिकता सम्बन्धी जानकारी, सम्पर्क विवरणसँगै नागरिकताको फोटो अट्याचको चरण पुरा गरेपछि यस्तो समस्या देखिएको छ ।

अपोइन्टमेन्ट डेट लिने ठाउँमा पुगेपछि अहिले मिति नै छान्न मिलिरहेको छैन । वेबसाइटमा अत्याधिक आवेदन आइरहेकाले सिस्टममा प्राविधिक समस्या देखिएको विभागका प्रवक्ता शरदराज आरनले जानकारी दिए ।

‘ई-पासपोर्टका लागि आवेदन खुलेसँगै अनलाइनमा सेवाग्राहीको चाप अत्याधिक बढेको छ, त्यसैले साधारण समस्या देखिएको हो,’ उनले भने ।

बुधबार आयोजित कार्यक्रममा विभागले विभिन्न चरणको परीक्षणपछि ई-पासपोर्ट जारी गरिएकाले प्राविधिक समस्या नआउने दाबी गरेको थियो ।

आज (बिहिबार) साँझसम्म सिस्टममा देखिएको समस्या समाधान हुने उनले बताए । हाल विभागले साधारणअन्तर्गत (३४ पेज) को ई-पासपोर्टका लागि मात्र आवेदन दिन मिल्ने व्यवस्था मिलाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३