close

विद्यालय स्तरबाट विश्वमै ‘पहिलो पटक’ स्याटेलाइट प्रक्षेपण गर्दै नेपाली विद्यार्थी

टेकपाना टेकपाना

मंसिर ३, २०७८ ११:४३

विद्यालय स्तरबाट विश्वमै ‘पहिलो पटक’ स्याटेलाइट प्रक्षेपण गर्दै नेपाली विद्यार्थी

काठमाडौं । विद्यालय स्तरका नेपाली विद्यार्थीहरूले विश्वमै पहिलो पटक स्याटेलाइट प्रक्षेपण गर्ने भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल र काठमाडौं विश्वविद्यालय हाइस्कुलको सहयोगमा विद्यालयका विद्यार्थीबाटै नेपालको दोस्रो भू-उपग्रहको महत्त्वाकाङ्क्षी परियोजना अगाडि बढाइएको हो । 

यो परियोजनामा काठमाडौं विश्वविद्यालय हाइस्कुल सहित काभ्रेको धुलिखेलमा रहेको सञ्जीवनी नमुना मावि, बनेपाको चैतन्य मावि, र बनेपाकै आजाद माविमा कक्षा ११ मा अध्ययनरत नौ जना विद्यार्थी संलग्न हुनेछन् । जसमा काठमाडौं युनिभर्सिटी हाइस्कुलका छ जना र अन्य तीन विद्यालयका एकएक जना विद्यार्थी रहेका छन् ।

यो परियोजना सम्पन्न गरी दुई वर्षमा प्रक्षेपण गर्ने योजना रहेको छ । पहिलो भू-उपग्रह ‘नेपाली स्याट–वान’ जस्तै यो स्याटेलाइटले पनि प्रक्षेपण पश्चात् पृथ्वीबाट चार सय किलोमिटर माथि रहेको पृथ्वीको कक्षमा परिक्रमा गर्नेछ ।

काठमाडौं विश्वविद्यालय हाइस्कुलमा रहेको यो अन्तरिक्ष प्रणाली प्रयोगशाला बनेपा उपत्यकाका लागि विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ‘आउटरिच’ केन्द्रको रुपमा काम गर्नेछ । डाँफे अन्तरिक्ष लक्ष्य (डाँफे स्पेस मिसन) नाम दिइएको यो परियोजना अन्तर्गत प्रशिक्षित विद्यार्थीको समूहले सम्बन्धित विद्यालयका विद्यार्थीलाई आवश्यक तालिम र प्रशिक्षण प्रदान गर्ने छ ।

परियोजनाको ‘प्रिन्सिपल इन्भेस्टिगेटर’को रुपमा नेपाली वैज्ञानिक डा. आभाष मास्के रहेका छन् । जसले जापानमा रहेर ‘नेपाली स्याट वान’ निर्माण गरेका थिए ।

नेपालका सरकारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत भू –उपग्रह निर्माण गर्न सक्छन् भनेर देखाउने उद्देश्यका साथ यो परियोजना अगाडि बढाउन लागिएको हो । परियोजनाको लक्ष्य हासिल गर्न काठमाडौं युनिभर्सिटी हाई स्कुलमा पहिलो चरणको ‘भू-उपग्रह बुटक्याम्प’ सुरु भइसकेको छ । जुन आउँदो डिसेम्बर ३१ सम्म जारी रहनेछ । 

यो परियोजना थाइल्याण्डको ‘मिनी बर्डस्’ नामक अन्तरिक्ष प्रविधि सम्बन्धी संस्थाको एउटा भाग हो । जस अन्तर्गत थाइल्याण्डले चार वटा र नेपालले एउटा भूउपग्रह निर्माण गर्नेछ । यसलाई प्राविधिक भाषामा ‘वान यू क्युब स्याट’ (1UCUBESAT) भनिन्छ ।

नेपालको तर्फबाट यो अन्तरिक्ष भू-उपग्रह निर्माण गर्ने अन्तरिक्ष प्रणाली प्रयोगशाला (स्पेस सिस्टम ल्याबरेटोरी) काठमाडौं विश्वविद्यालयको हाइस्कुल चौकोट काभ्रेमा रहेको छ । यो परियोजना सार्वजनिक निजी साझेदारीमा अगाडि बढाइएको छ ।

जसको मुख्य सहयोगीका रुपमा नेपाल सरकार रहने छ भने अन्य आर्थिक सहयोग निजी संस्थाहरूबाट संकलन गरिने छ । यस परियोजनाको मुख्य सहयोगी संस्था अन्तरिक्ष प्रतिष्ठान नेपालले हालसम्म सानिमा बैंक, हिमालयन जनरल इन्स्योरेन्स, बैंक अफ काठमाडौं र गरिमा विकास बैंबैंकबाट सहयोग प्राप्त गरिसकेको छ । अन्तरिक्ष प्रतिष्ठान नेपाललाई डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र र न्याटकम युनेस्कोको पनि सहयोग रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३