close

सुरु भयो नेसनल पेमेन्ट स्विच, अब वालेटबाट अर्को वालेटमा समेत पैसा पठाउन सकिने

टेकपाना टेकपाना

मंसिर ३, २०७८ १२:३९

सुरु भयो नेसनल पेमेन्ट स्विच, अब वालेटबाट अर्को वालेटमा समेत पैसा पठाउन सकिने

काठमाडौं । नेपालमै पहिलो पटक नेसनल पेमेन्ट स्विच सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंकबाट नेसनल पेमेन्ट स्विच सञ्चालनको जिम्मेवारी पाएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले यसलाई बिहीबारदेखि प्रारम्भिक रुपमा कार्यान्वयनमा ल्याएको हो ।

यससँगै विभिन्न २९ वटा बैंक तथा वित्तीय संस्था नेसनल पेमेन्ट स्विचमा आवद्ध भएका छन् । जसमा १८ वटा वाणिज्य बैंक, पाँच वटा विकास बैंक र छ वटा वित्त कम्पनी रहेका छन् ।

नेसनल पेमेन्ट स्विचको पहिलो चरणमा रिटेल पेमेन्ट स्विच अन्तर्गत कार्ड बाहेक रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, डिजिटल वालेट, क्यूआर कोडमार्फत हुने भुक्तानीलाई समेटिएको छ । यस अन्तर्गत नेपाल-क्यूआर स्ट्यान्डर्ड अनुसार नेपाल-पे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर र डाइरेक्ट डेबिट रिक्वेस्ट-टु-पे तथा ई म्यान्डेटका उपकरण रहेका छन् ।

त्यस्तै वालेट-वालेटबीचको अन्तर आवद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तर आवद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरू उपलब्ध हुने जनाइएको छ । उक्त स्विच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रहेर विभिन्न रियलटाइम, नन-रियलटाइम तथा ओपन एपीआई मार्फत बैंक तथा वित्तीय संस्था र गैर बैंकिङ संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।

यसैगरी दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीका लागि नेसनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्ड कार्यान्वयनका निम्ति आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी एनसीएचएलले दिएको छ । बिहीबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेसनल पेमेन्ट स्विचको कार्यान्वयनले सुरक्षित, सक्षम र  सहज भुक्तानी प्रणाली विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

‘बैंक तथा वित्तीय संस्थासँग भुक्तानी कारोबारमा संलग्न अन्य संस्थाहरूबीच अन्तरआबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र स्वस्थ बनाउने दिशामा पेमेन्ट स्विच कार्यान्वयन एउटा महत्त्वपूर्ण उपलब्ध हो,’ उनले भने ।

नेसनल पेमेन्ट स्विचको प्रारम्भिक कार्यान्वयनको अवसरमा आयोजित कार्यक्रममा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल, बैंकिङ विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धर, नेपाल बैङ्कर्स एसोसियसनका अध्यक्ष अनिलकुमार उपाध्याय, डेभलपमेन्ट बैंक एसोसियसन अफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेल नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकारि तुलाधरले पेमेन्ट स्विचको कार्यान्वयनले भुक्तानी प्रणाली थप सुरक्षित र सहज बनाएको बताएका  थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३