close

टेलिकमको भोल्टेमा समस्या, लाग्दैन एकपछिको अर्को कल

टेकपाना टेकपाना

मंसिर ३, २०७८ १४:४९

टेलिकमको भोल्टेमा समस्या, लाग्दैन एकपछिको अर्को कल

काठमाडौं । नेपाल टेलिकमका केही प्रयोगकर्ताले एउटा कल गरेर तत्कालै अर्को कल गर्दा कल नलाग्ने समस्या भोगिरहेका छन् । यदि तपाईंले एउटा कल गरेर राख्ने बित्तिकै अर्को नम्बरमा कल गर्न खोज्नु भयो भने ‘कल इन्डेड’ भनेर आउँछ ।

जसले गर्दा दोस्रो कल गर्न थोरैमा पनि एक मिनेट पर्खिनुपर्ने हुन्छ । यो समस्या सबैको मोबाइलमा नहुन सक्छ । तर, केही प्रयोगकर्ताले भने यो समस्या भोग्दै आएका छन् ।

साथै यो समस्या टेलिकमको राडारमा पनि देखिएको कम्पनी स्रोतले जनाएको छ । टेलिकमका एक प्राविधिकले टेकपानासँगको कुराकानीमा भने, ‘यो समस्या हामीले आन्तरिक रुपमा पनि पहिचान गरिसकेका छौँ । यो भ्वाइस ओभर एलटीई (भोल्टे) मा देखिएको हो ।’

टेलिकमले नेटवर्कमा कल गरिसके पश्चात ‘इन्ड अफ कल’ नोटिफिकेसन पठाउने गरेको छ । जसमा कल गरेपश्चात् कति पैसा लाग्यो, अब कति ब्यालेन्स बाँकी रहेको छ भन्ने विषयको जानकारी दिने गरिएको छ ।

तर, भोल्टे अन हुँदाको समयमा भने केही प्रयोगकर्ताको कल इन्ड भएको नोटिफिकेसनमा समस्या देखिएको टेलिकमका प्राविधिकले बताए । यसले गर्दा सिस्टमले ‘कल इन्ड’ भएको जानकारी प्राप्त गर्न सक्दैन ।

त्यसैले एकपछि लगत्तै अर्को कल गर्दा ‘कल इन्डेड’ हुने समस्या देखिएको हो । यस्तो समस्या केही प्रयोगकर्ताले भोगिरहेको विषय समेत कम्पनीको राडरबाट समेत पहिचान भएको छ । उनले भने, ‘हामीले भेन्डरलाई यो समस्याको विषय जानकारी गराइसकेका छौँ । भेण्डरले पनि समस्या पहिचान गरी त्यसको समाधानका लागि काम सुरु गरिसकेको छ ।’

उनका अनुसार यो समस्याको तत्कालीन समाधान भनेको भोल्टे अफ गर्नु नै हो । भोल्टे अहिलेसम्म पनि परीक्षणकै क्रममा रहेकाले पनि यस्ता समस्याहरू देखा परिरहेको कम्पनीको तर्क छ । भोल्टेको व्यावसायिक सुरुवात गर्दा यस्ता सम्पूर्ण समस्या समाधान भएर आउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३