close

टेस्ला मोडेल वाईलाई टक्कर दिने चिनियाँ इलेक्ट्रिक कार, ५ मिनेटको चार्जमा २०० किलोमिटर गुड्ने

टेकपाना टेकपाना

मंसिर ३, २०७८ १८:४५

टेस्ला मोडेल वाईलाई टक्कर दिने चिनियाँ इलेक्ट्रिक कार, ५ मिनेटको चार्जमा २०० किलोमिटर गुड्ने

काठमाडौं । चिनियाँ विद्युतीय कार निर्माता कम्पनी एक्स्पेङ इंकले आफ्नो चौथो मोडेल सार्वजनिक गरेको छ । जसले टेस्ला इंकको मोडेल वाई र नियो इंकको ईएस सिरिजलाई सोझो टक्कर दिनेछ । 

शुक्रबार ग्वाङ्झाउमा आयोजित अन्तर्राष्ट्रिय अटोमोबाइल प्रदर्शनीमा कम्पनीले आफ्नो जी नाइन कार सार्वजनिक गरेको हो । एड्भान्स चार्जिङ नेटवर्क सहित आन्तरिक र बाह्य बजारमा विद्युतीय कार उपलब्ध गराउने कम्पनीको लक्ष्य छ । 

एक्सपेङको आधुनिक चार्जिङ नेटवर्कमा कम्प्याटिबल हुने यो कार पाँच मिनेटकै चार्जमा २०० किलोमिटर गुड्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । तर यो कारको मूल्यको बारेमा भने कुनै जानकारी खुलाइएको छैन ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत हे सियाओपेङ भन्छन्, ‘कम्पनीको जी नाइन फ्ल्यागशिप स्मार्ट एसयूभीले विद्युतीय कारलाई नयाँ स्तरमा परिष्कृत गरेर लैजानेछ । स्मार्ट, सुरक्षित, हरियाली र दिगो गतिशीलताका लागि यो अन्वेषण महत्त्वपूर्ण छ ।’  

सन् २०१४ मा स्थापना भएको उक्त कम्पनीले स्थानीय रुपमा निर्मित जी थ्री एसयूभी र पी सेभेन नर्वेमा निर्यात गर्न थालेको छ । विश्वव्यापी चिप अभावका बावजुद कम्पनीले सेप्टेम्बर ३० सम्ममा २५ हजार ६६६ कारको डेलिभरी दिइसकेको छ । कम्पनी नोभेम्बर २३ मा तेश्रो त्रैमासिकको आम्दानी विवरण सार्वजनिक गर्ने तयारीमा छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३