close

जापानी कम्पनीले सार्वजनिक गर्‍यो आईफोनभन्दा महँगो फोन, यस्तो छ विशेषता

टेकपाना टेकपाना

मंसिर ४, २०७८ ९:१०

जापानी कम्पनीले सार्वजनिक गर्‍यो आईफोनभन्दा महँगो फोन, यस्तो छ विशेषता

काठमाडौं । ठूला ठूला कम्पनीहरू अन्य नयाँ क्षेत्रमा समेत हात हालिरहेका छन् । एप्पल विद्युतीय सवारी तथा ड्रोन बनाइरहेको छ । यस्तैमा जापानी होम अप्लाइन्सेस कम्पनी बल्मुडाले स्वदेशी बजारमा आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ ।

बल्मुडा टेक्नोलोजिजले जापानको राजधानी टोकियोमा आयोजित एक कार्यक्रमबीच एउटा प्रिमियम हाइ-इन्ड स्मार्टफोन सार्वजनिक गरेको छ । जसको नाम बल्मुडा फोन हो । फोनको डिजाइन केही भिन्न छ ।

अपेक्षाकृत रुपमा बल्मुडा फोन बजारमा उपलब्ध अन्य स्मार्टफोनभन्दा अलिक भिन्न छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन तारियोले फोन सार्वजनिक गर्न आयोजित कार्यक्रममा पछिल्ला वर्षमा स्मार्टफोनहरू निकै ठूलो आकारमा आउन थालेको बताए ।

जुन एकदमै बोझपूर्ण हुने गरेका छन् । त्यसैले बल्मुडा फोनको डजाइन कम्प्याक्ट र चिटिक्कको बनाइएको छ । 

यसको पछाडि भाग केही घुमाउरो रहेको छ भने बेजल आकर्षक देखिन्छ । यो फोनको ४.९ इन्चको डिस्प्ले आईफोन एसईको ४.७ इन्चकै समान छ । जसले एकदमै क्रिस्प रेजोलुसन प्रदान गर्दछ ।

१३.७ एमएम मोटाइ रहेको यो फोनको लम्बाई भने कम छ । बल्मुडा फोनको मूल्य ९०० अमेरिकी डलर (करिब एक लाख सात हजार रुपैयाँ) रहेको छ । जब कि आईफोन एसई २०२० को मूल्य ३९९ अमेरिकी डलर (करिब ४७ हजार पाँच सय रुपैयाँ) मात्र रहेको छ । 

बल्मुडा फोन जापानी बजारमा मिड-रेन्ज स्मार्टफोनको रुपमा उपलब्ध हुनेछ । क्वालकम स्न्यापड्रागन ७६५ चिपसेट राखिएको यो स्मार्टफोनमा छ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज दिइएको छ । फोनको पछाडि भागमा ४८ मेगापिक्सेलको प्राइमरी क्यामेरासँगै फिङ्गरप्रिन्ट स्क्यानर राखिएको छ ।

जब कि फ्रन्ट-फेसिङ क्यामेरा ८ मेगापिक्सेलको छ, जुन अगाडि भागमा रहेको पञ्चहोल कटआउटभित्र छ । ३५०० एमएएच क्षमताको ब्याट्री राखिएको यो फोनले कम पावर खपत गर्ने बताइएको छ । यसका लागि वायरलेस चार्जिङ सपोर्ट समेत उपलब्ध हुनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३