close

नयाँ ठाउँ जाँदा गुगलले यसरी सजिलो बनाउँछ तपाईंको यात्रा

टेकपाना टेकपाना

मंसिर ४, २०७८ १३:५३

नयाँ ठाउँ जाँदा गुगलले यसरी सजिलो बनाउँछ तपाईंको यात्रा

काठमाडौं । कोरोना महामारीका कारण गत वर्ष घुमघामका गतिविधि लगभग बन्द जस्तै भए । अब विस्तारै यो महामारीबाट मानिसहरू सामान्य जीवनतिर फर्किएका छन् ।

अन्तर्राष्ट्रिय यात्रामा केही प्रतिबन्ध अझै रहेपनि आन्तरिक यात्राको गतिविधि भने एकदमै बढेको छ । यस्तोमा साथी वा परिवारलाई भेट्न वा यात्राको योजना बनाउँदा कतै कसैलाई पिकअप गर्दै र यात्रा गर्ने कुरा आउँदा तपाईंलाई केही समस्या हुनसक्छ ।

विशेषगरी त्यो ठाउँ तपाईंका लागि एकदमै नयाँ छ भने यस्ताे समस्या आउन सक्छ । यद्यपि गुगल म्याप र गुगलको ट्राभल साइट प्रयोग गरेर तपाईंलाई ती योजना बनाउन र बाटोमा सुरक्षित रहन सक्नुहुन्छ ।

गुगल ट्राभल साइट 

गुगलको ट्राभल साइट तपाईंको यात्राका लागि सहयात्री साइट बन्न सक्छ । यसले तपाईंलाई गन्तव्यकाे सबै विवरणसहित यात्राको योजना बनाउन मद्दत गर्न सक्छ ।

गुगल ट्राभल साइटमार्फत फ्लाइट बुक गर्न, यात्राको कार्यक्रम बनाउन र तपाईंको गन्तव्यमा भ्रमण गर्न रोचक ठाउँहरू खोज्न सक्नुहुन्छ ।

यदि तपाईंसँग जिमेल अकाउन्ट छ भने तपाईंले गर्नुभएका कुनै पनि फ्लाइट रिजर्भेसनहरू अर्कोपटक गुगलको यात्रा साइट प्रयोग गर्दा स्वचालित रूपमा देखापर्छ ।

यसले गन्तव्यको विवरणसहित यात्राको योजना गर्न धेरै सजिलो बनाउँछ। त्यस्तै यसले तपाईं पहिले घुम्नुभएको ठाउँ वा तपाईंले खोजी गर्नुभएको गन्तव्यका बारेमा सुझाव दिन सक्छ ।

यदि तपाईंले कुनै गन्तव्य छनौट गरिसक्नुभएको छैन भने साइटमा भएको “एक्सप्लोर” ट्याबमा विभिन्न गन्तव्यहरू हेर्न सक्नुहुन्छ ।

तपाईंले फ्लाइट र होटेलको मूल्य कति लाग्ने रैछ भनेर पनि फिल्टर गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो रुचिको आधारमा आफू जानुपर्ने गन्तव्यमा घुम्ने ठाउँ र आफूले गर्ने गतिविधि आरामले छनौट गर्न सक्नुहुन्छ । 

गुगल म्याप 

यदि फ्लाइटमा यात्रा गर्न चाहनुहुन्न र कोरोनको हटस्पट क्षेत्रबाट बच्न चाहनुहुन्छ भने गुगल म्याप तपाईंका लागि उपयुक्त हुनसक्छ ।

यो वर्ष मात्र गुगल म्यापको वेबसाइटमा एउटा फिचर थपिएको छ, जसले तपाईंलाई यात्राको योजना बनाउँदा आफ्नो रुटमा अन्य स्टपहरू अर्थात् बीचमा पर्ने ठाउँहरूमा पनि पुग्न मद्दत गर्छ ।

तपाईं सिधा आफू भएको ठाउँदेखि आफ्नो गन्तव्य जान मात्र होइन, बीचमा पर्ने अन्य गन्तव्यको लोकेसन पनि थप गरी त्यहीँबाट उपयुक्त बाटो हेरी आफ्नो गन्तव्य जान सक्नुहुन्छ ।

यसरी आफ्नो गन्तव्यको बीचमा पर्ने होटेल, क्यापग्राउन्ड, रेष्टुरेन्ट, कफिशप, फास्टफुड, किराना पसल, प्रतिक्षालय, पेट्रोल पम्प, बैंक, पार्क लगायत विभिन्न ठाउँमा रोकिनका लागि म्यापमा लोकेसन थप्न सक्नुहुन्छ ।

यीमध्ये कुनै ठाउँ छनौट गर्दा, म्यापले केही सुझाव पनि दिन्छ । उदाहरणका लागि, होटेलहरू छनोट गर्दा गेस्ट रेटिङ, सुविधाहरू लगायत अन्य विवरणहरू फिल्टर गरेर सुझाव दिन्छ ।

यद्यपि गुगलको सुझाव अनुसार तपाईंको आवश्यकता मिलेन भने तपाईंले आफ्नो आवश्यकता अनुसार यात्रा तय गर्न सक्नुहुन्छ । यी दुवै साइटमा तपाईंले आफू जान लागेको गन्तव्यको‍ कोरोना सम्बन्धी विवरणहरू पाउन सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३