close

सवारीमा जीपीएस ट्र्याकिङ राख्न सुरु, यस्ता छन् पहिलो चरणमा समावेश रुट

टेकपाना टेकपाना

मंसिर १०, २०७८ १०:४६

सवारीमा जीपीएस ट्र्याकिङ राख्न सुरु, यस्ता छन् पहिलो चरणमा समावेश रुट

काठमाडौं । सरकारले सवारीसाधनमा जीपीएस ट्रयाकिङ सिस्टम राख्न सुरु गरेको छ । सार्वजनिक सवारी साधनको गति तथा रुट लगायतका विषयमा अनुगमन गर्ने उद्देश्यले यातायात व्यवस्था विभागले यस्तो सिस्टम तयार पारेको हो ।

विभागको नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना उप-समन्वय कार्यालयले ‘जीपीएस भेहिकल ट्रयाकिङ सिस्टम (जीपीएस-भीटीएस)’ सिस्टम विकास भइसकेको जनाएको छ । अब भने त्यसलाई कार्यान्वयनमा लैजाने चरण सुरु भएको छ ।

यो प्रणाली प्रथम चरणमा पाइलट रुटको रुपमा काठमाडौं-जनकपुर, काठमाडौं-बीरगन्ज र काठमाडौं पोखरा रुटमा चल्ने १०० वटा सार्वजनिक यात्रु वाहक सवारी साधनमा राखिनेछ । यस्ता सवारी साधनमा निःशुल्क रुपमा जीपीएस डिभाइस जडान गरि सञ्चालनमा ल्याएर अध्ययन गर्न लागिएको भन्दै विभागले इच्छुक यातायात व्यवसायी तथा सवारी धनीलाई सम्पर्कमा आउन आग्रह गरेको  ।

‘यातायात व्यवसायी तथा सवारी धनीहरूलाई आ–आफ्नो सवारी साधन यस विभागमा दर्ता गराई निःशुल्क जीपीएस उपकरण जडान गराउनु हुन् आह्वान गरिन्छ,’ विभागले एक सूचना प्रकाशित गर्दै भनेको छ, ‘निःशुल्क जीपीएस डिभाइस जडान ‘फर्स्ट कम फस्ट प्रायोरिटी अर्थात पहिलो आउनेलाई प्राथमिकता दिने व्यवस्था अनुसार गरिनेछ ।’

विभागका अनुसार यसका लागि सम्बन्धित यातायात व्यवसाय प्रमाणपत्र, सवारी साधन दर्ता प्रमाणपत्र, सवारी चालकको परिचय पत्र अथवा नेपाली नागरिकताको प्रमाणपत्र र सवारी चालक अनुमति पत्र सहित जीपीएस प्रणाली जडानका लागि सम्पर्क गर्न सकिनेछ । विभागले इच्छुक यातायात व्यवसायी तथा सवारी धनीलाई कार्यालयको ई-मेल तथा फोन नम्बरमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२