close

मिदास ई-क्लासको नयाँ भर्सन, अब अनलाइनमै ठूला स्कुलका शिक्षकसँग पढ्न पाइने

टेकपाना टेकपाना

मंसिर १३, २०७८ ११:४६

मिदास ई-क्लासको नयाँ भर्सन, अब अनलाइनमै ठूला स्कुलका शिक्षकसँग पढ्न पाइने

काठमाडौं । शिक्षा क्षेत्रको प्रतिष्ठित नेपाली अनलाइन लर्निङ प्लेटफर्म मिदास ई-क्लासको नयाँ भर्सन सार्वजनिक हुने भएको छ । कम्पनीले सहरका दक्ष तथा नामी शिक्षकहरू मार्फत सर्वसुलभ मूल्यमा ग्रामीण क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यका साथ नयाँ संस्करण ल्याउन लागेको हो ।

आन्तरिक रुपमा सफ्ट लञ्च गरिसकेको कम्पनीले अबको एक साताभित्र यसको औपचारिक सुरुवात गर्ने भएको छ । विगत तीन वर्ष अघि नै मिदासले विद्यार्थीको अध्ययन/सिकाइलाई सहयोगी र प्रभावकारी बनाउने उद्देश्यले पुरानो भर्सनलाई स्थगित गरेको थियो ।

इन्टरनेटको पहुँच बढेसँगै शैक्षिक सामग्री प्रशस्त मात्रामा उपलब्ध हुन थालेपछि कम्पनीले सन् १०१७ मा आफ्नो सेवा बन्द गरेको थियो । नयाँ आएका कम्प्युटरहरूमा विन्डोज १९९७ मा बनाइएका मिदास ई-क्लासका सीडी चक्काहरू चल्न छोडेपछि कम्पनीले बजारमा आफ्नो छवि बिग्रिने ठानेर त्यसलाई पनि रोकेको थियो ।

अब भने कम्पनीले नयाँ रणनीतिका साथ ई-क्लासको नयाँ भर्सन ल्याउन लागेको हो । यसमा विद्यालयदेखि विश्वविद्यालय तहसम्मका अनलाइन कक्षा रहने कम्पनीका संस्थापक छत्र कार्कीले जानकारी दिए ।

मिदास ई-क्लास अब रेकर्डेड कक्षाहरूलाई नभई लाइभ कक्षाहरूमा केन्द्रित हुने उनको भनाई छ । सुरुवाती समयमा सीडी चक्का तथा पेनड्राइभ मार्फत अध्ययन सामग्री उपलब्ध गराउँदै आएको मिदास ई-क्लासले सन् २०१७ पछि आफ्नो छुट्टै एप सार्वजनिक गरेको थियो ।

सिकाइ अनुभवमा आधारित हुनुपर्ने बुझाईका साथ मिदास कहिल्यै पनि सिकाइमा सैद्धान्तिक ज्ञान र परीक्षा केन्द्रित नभएको संस्थापक कार्कीले बताए । ‘एपमार्फत परीक्षामा कसरी लेख्ने, कसरी लेख्दा राम्रो अङ्क ल्याउन सकिन्छ भन्ने कुराको जानकारी दिने योजना बनाएका छौँ,’ उनले भने ।

विद्यार्थीको चौतर्फी विकासका लागि तयार गरिएको एपमा गुणस्तरीय शिक्षा दिँदै आएका शिक्षण संस्थामा आवद्ध दुई सय शिक्षकहरू जोडिएको कम्पनीले बताएको छ । विद्यार्थीको भूगोल र स्थानीय परिवेश अनुसारको शिक्षा दिनका लागि मिदासले स्थानीय तहसँग समेत समन्वयको काम गरिरहेको छ ।

त्यस्तै शिक्षकहरूलाई पनि आवश्यक तालिमको व्यवस्था  आफूहरूले गरिरहेको प्रबन्ध निर्देशक कार्कीले बताए । विद्यालयमा स्कुलको व्यवस्थापन मात्र सुधारेर नहुने भन्दै उनी विद्यार्थीको सहजतालाई पनि ध्यान दिनुपर्ने उनको बुझाई छ ।

‘मेरा ग्राहक त विद्यार्थी र शिक्षक दुवै हुन् । त्यसो हुँदा मैले दुवैको सुविधालाई मध्यनजर गर्नु जरुरी थियो । मैले त विद्यार्थीको गुणस्तरीय सिकाइका अहिले एपमा भने प्रश्न उत्तर सन्दर्भ सामग्रीका रुपमा राखेको उनले बताए ।

परीक्षा लेख्ने तौर तरिका र छुटाउन नहुने कुराहरूको भिडिओ सामग्री एपमा समावेश छ । करिब तीन वर्ष लगाएर तयार गरिएको मिदासको नयाँ भर्जन २.० मा दुईसय भन्दा धेरै शिक्षामा विशेषज्ञता भएका व्यक्ति सामेल भएको उनले सुनाए ।

विद्यालयका लागि जुन सुविधा उपलब्ध गराउन चुनौतिपूर्ण हुन्छ । त्यही काम धेरै विद्यार्थीका लागि तयार गर्न मिदासले सक्छ । विद्यालयले चाहेर पनि विद्यार्थीलाई दिन नसकेको सुविधा मिदासले अनलाइनबाट उपलब्ध गराउने कार्कीले बताए ।

‘समय सापेक्ष र प्राविधिक शैक्षिक क्रियाकलापहरू ग्रामीण भेगका शिक्षकहरूले गराउँन सक्दैनन् । जसका लागि मिदासले नै आवश्यक तालिम दिएर आवश्यक शिक्षक तयार पारिरहेको छ,’ उनले भने ।

यति मात्र होइन, शिक्षकहरूले रचनात्मक शैक्षिक क्रियाकलाप र सिकाइ सामग्री सम्बन्धी भिडिओ बनाएर मिदासको एपमा राख्न सक्नेछन् । त्यस्ता सामग्रीमा आउने भ्युजको आधारमा शिक्षकहरूले भुक्तानी पाउनेछन् ।

यस्ता सामग्री शिक्षकहरूले आफैँ भिडिओको रुपमा पठाउन सक्ने र त्यसलाई आवश्यक सम्पादनको कार्य पूरा गरेपश्चात् प्लेटफर्ममा राखिने कम्पनीले जनाएको छ । यसो गर्दा शिक्षकलाई हौसला प्राप्त हुने र शैक्षिक गुणस्तर वृद्धि हुने मिदासको विश्वास छ ।

यद्यपि मिदासका अनलाइन कक्षाहरू विद्यालयमा प्रत्यक्ष सञ्चालन गरिने कक्षाहरू जस्तो नहुने भन्दै संस्थापक कार्कीले वैकल्पिक कक्षाको रुपमा उपयोगी हुने बताए । ती कक्षाहरू बिहान र बेलुकाको समयमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

सन् २०२३ तिर सञ्चालनमा ल्याउने तयारी रहेको मिदास भर्सन २.० कोभिड महामारीका कारण चाँडै ल्याउनु परेको कार्कीले बताए । मिदास ई-क्लासको सेवा लिन चाहने विद्यार्थीहरूले आफ्नो विद्यालयमार्फत वा सोझै सब्स्क्रिप्सन लिनुपर्ने बताइएको छ ।

तर व्यक्तिगत तवरबाट अभिभावकले सदस्यता लिनुभन्दा विद्यालयले सदस्यता लिनु सस्तो पर्नेछ । यसका साथै मिदास ई-क्लासको नयाँ भर्सनमा सिनियर विद्यार्थीले समेत आफूभन्दा जुनियर विद्यार्थीलाई पढाउने अवसर प्राप्त गर्न सक्नेछन् ।

यसमा सहभागी हुने विद्यार्थीका लागि  ‘लर्न एन्ड अर्न’ फिचर रहने कार्कीले बताए । उनले भने, ‘चार कक्षाको गणित पढाउनलाई मास्टर्स पढेको टिचर किन चाहियो ? नौ कक्षाको बच्चाले अझ राम्ररी पढाउन र बुझाउन सक्छ । त्यति मात्र नभएर उसले त बालभावना पनि बुझेको हुन्छ । सिकाइ झनै प्रभावकारी हुने भयो । यो ट्यालेन्ट विद्यार्थीलाई कमाइको लागि नयाँ प्लेर्टफम हो ।’

मिदास ई-क्लासमा पढ्ने भन्दा बाहेकका पनि धेरै उपयोगी फिचर भएको उनले बताए । यसरी मिदास ई-क्लास किताब भन्दा बाहिरका कुरा सिकाउने माध्यम हुनुका साथै शिक्षण सिकाइको मार्केट प्लेसकै रुपमा आउने भएको छ ।

मिदास ई-क्लासका कक्षाहरू सुरूको एक महिना परीक्षण स्वरुप सञ्चालन हुनेछन् । जसका लागि कुनै शुल्क लाग्ने छैन । त्यसपछि भने प्याकेज अनुसार मासिक एक डेढ सय देखि छ सय रुपैयाँसम्म पर्ने कार्कीले बताए । ‘मिदास सकेसम्म शिक्षालाई सुलभ बनाउन प्रयत्नरत छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२