close

टेलिकमको फोरजी अपग्रेडसँगै हट्यो भीओएलटीईमा कल नलाग्ने समस्या

टेकपाना टेकपाना

मंसिर १३, २०७८ १४:२०

टेलिकमको फोरजी अपग्रेडसँगै हट्यो भीओएलटीईमा कल नलाग्ने समस्या

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा एउटा कल गरेर तत्कालै अर्को कल गर्दा कल नलाग्ने समस्या हटेको छ । कम्पनीले गत मंगलबार राति फोरजी मोबाइलको गुणस्तर अभिवृद्धि गरेको थियो । त्यससँगै भोल्टेमा देखिएको उक्त समस्या समाधान भएको हो ।

यसअघि नेपाल टेलिकमका केही प्रयोगकर्ताले एउटा कल गरेर तत्कालै अर्को कल गर्दा कल नलाग्ने समस्या भोगिरहेका थिए । यसको अर्थ यदि तपाईंले एउटा कल गरेर फोन राख्ने बित्तिकै अर्को नम्बरमा कल गर्न खोज्दा ‘कल इन्डेड’ अर्थात कल अवरुद्ध हुने गरेको थियो ।

जसले गर्दा दोस्रो कल गर्न थोरैमा पनि एक मिनेट पर्खिनुपर्ने बाध्यता रहेको थियो । उक्त समस्या फोरजी अपग्रेड सँगै समाधान भएको कम्पनीका एक इन्जिनियरले जानकारी दिए ।

उनका अनुसार यसअघि यो समस्या टेलिकमको आन्तरिक सिस्टममा पनि देखिएको थियो । ‘त्यससँगै हामीले भेन्डरलाई जानकारी गराएका थियौँ,’ उनले टेकपानासँग भने, ‘त्यसैका आधारमा मंगलबार भएको फोरजी अपग्रेडसँगै उक्त समस्या समाधान भएको छ ।’

यसरी एकपछि अर्को कल नलाग्ने समस्या मुख्यतः भ्वाइस ओभर एलटीई (भोल्टे) मा देखिएको थियो । त्यसको कारण टेलिकमले नेटवर्कमा कल गरिसके पश्चात ‘इन्ड अफ कल’ नोटिफिकेसन पठाउने गर्छ । जसमा कल गरेपश्चात् कति पैसा लाग्यो, कति ब्यालेन्स बाँकी रहेको छ भन्ने विषयको जानकारी दिने गरिएको छ ।

तर, भोल्टे अन हुँदाको समयमा भने केही प्रयोगकर्ताको ‘कल इन्ड’ भएको नोटिफिकेसन नपाउँदा यस्तो समस्या आएको थियो । अब भने त्यस्तो कुनै समस्या नरहेको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२