close

नेपाली विद्यार्थीले बनाए बिजुलीबाट चल्ने व्हीलचेयर, सिंगल चार्जमा ४५ किलोमिटरसम्म गुड्ने

टेकपाना टेकपाना

मंसिर १७, २०७८ १८:०

नेपाली विद्यार्थीले बनाए बिजुलीबाट चल्ने व्हीलचेयर, सिंगल चार्जमा ४५ किलोमिटरसम्म गुड्ने

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्सका विद्यार्थीले ‘फोर ह्विलर मोबिलिटी व्हीलचेयर’ बनाएका छन् । अशक्त व्यक्तिहरुको यात्रालाई ध्यानमा राख्दै बनाइएको यो ह्वीलचेयर अपाङ्गता दिवसको अवसर पारी शुक्रबार सार्वजनिक गरिएको छ ।

बिजुलीबाट चल्ने व्हीलचेयरमा एउटा गाडीमा हुनेजस्तै सुविधा छन् । यो व्हीलचेयर फुल चार्जमा ३५ देखि ४५ किलोमिटरसम्म गुड्नसक्ने बताइएकाे छ ।

त्यस्तै ४८ भोल्ट ब्याट्री भएको यो गाडी १७ किलोमिटर प्रतिघण्टाको हिसाबले गुड्छ । व्हीलचेयर कच्चीबाटोमा समेत चलाउन सकिने बताइएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयमा व्हीलचेयर निर्माण गरिएको र सोको भविष्यमा बजारीकरण आविष्कार केन्द्रले गर्ने कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

व्हीलचेयरको पेटेन्ट राइट राष्ट्रिय आविष्कार केन्द्र र कलेजको संयुक्त रहने बताइएको छ ।

प्रयोगकर्ताले सहजै चलाउनसक्ने गरी यो व्हीलचेयर डिजाइन गरिएको निर्माण टाेलीकाे दाबी छ । यस्तै यसलाई इन्टरनेटको सहायतामा मोबाइल एप्लिकेसनबाट पनि चलाउन सकिन्छ ।

सफ्टवेरिका कलेजका विद्यार्थी निराजन गौतम, गणेश अर्याल, आयुषकाजी डङ्गोल, बिपस छन्त्याल, अल्बर्ट महर्जन, राज श्रेष्ठ र अनिस श्रेष्ठको टिमले व्हीलचेयर बनाएकाे हाे ।

विद्यार्थी निराजन गौतमका अनुसार प्रयोगकर्ताले मोबाइल एप प्रयोग गरेर गाडी चलाउने, लोकेसन पत्ता लगाउने जस्ता फङसनमा काम गर्न सक्छन् ।

त्यस्तै यदि प्रयोगकर्ता कतै हराए वा उनको गाडी कतै गएर रोकियो भने सो एपले इमर्जेन्सीमा भएको नम्बरमा स्वतः प्रयोगकर्ताको लोकेसन पठाउँछ ।

इन्टरनेट नभएको अवस्थामा भने गाडीमा नै भएको इमर्जेन्सी बटनमा क्लिक गरेपछि प्रयोगकर्ताको लोकेसन म्यासेज स्वतः इमर्जेन्सी कन्ट्याक्टमा राखिएको नम्बरमा जान्छ र सो म्यासेजमा क्लिक गर्ने बित्तिकै प्रयोगकर्ताको लोकेसन सो मोबाइलमा खुल्नेछ ।

असक्त व्यक्तिहरूको यात्रालाई ध्यानमा राख्दै उनीहरू स्वतन्त्र रुपले हिँड्डुल गर्न पाउन् भन्ने उद्देश्यले यो यो व्हीलचेयर निर्माण गरिएको गौतमले बताए ।

व्हीलचेयरले असक्त व्यक्तिलाई हिँडडुल गर्न सहजतासँगै उनीहरूको यात्राको सुरक्षा पनि प्रत्याभूत गराएको उनको भनाइ छ ।

बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आईटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलज अफ आईटी एन्ड ईकमर्सले बिआईटी अध्ययन गर्ने विद्यार्थीका लागि गत वर्ष इनोभेसन हब तयार गरेको थियो ।

विद्यार्थीले सोही इनोभेसन हबमा फोर ह्विलर मोबिलिटी व्हीलचेयर बनाएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२