काठमाडौं । हामीले पाउने खराब वाई-फाई सिग्नलको कारक राउटरको स्थान पनि हुन सक्छ । इन्टरनेट सेवा प्रदायकलाई शुल्क पनि बुझाउने भएकाले हामी खराब वाई-फाई सिग्नल हुँदा उनीहरूलाई दोष दिने गर्छौँ । तर, खराब सिग्नल पाउँदा कतै हाम्रै राउटर राख्ने स्थान नमिलेर त होइन ? भनेर विचार गर्नुपर्छ ।
इन्टरनेट गति निर्धारण गर्ने धेरै कारणहरू हुन सक्छन् । जसमध्ये राउटरको स्थान पनि महत्त्वपूर्ण कारण हो । केही सजिला तरिका अपनाएर पनि घरमा समग्र वायरलेस गति र कभरेज सुधार हुनेगरी राउटर राख्न सकिन्छ ।
राउटर कसरी उपयुक्त स्थानमा राख्ने भन्ने बारेमा हामी यहाँ जानकारी दिँदैछौं ।
सबै राउटरहरू बराबरी क्षमताका हुन्नन् । तपाईंको घरको आकार र बनोटले तपाईंलाई कस्तो प्रकारको वायरलेस नेटवर्क चाहिन्छ भनेर निर्धारण गर्छ ।
धेरैजसो अपार्टमेन्ट र साना घरहरू (१,५०० वर्ग फिटभन्दा कम) का लागि सिंगल वायरलेस एक्सेस पोइन्ट पर्याप्त हुन्छ ।
यदि तपाईंको राउटर धेरै वर्ष पुरानो छ भने तपाईं वायरलेस ८०२ .११ ac र डुअल-ब्यान्डसहितको नयाँ मोडेलमा अपग्रेड गर्न सक्नुहुन्छ । यसले तपाईंलाई राम्रो स्पिड र कभरेज दिन्छ ।
तपाईंको घर ठूलो र धेरै तल्लाको छ भने मेश वाई-फाई प्रयोग गर्नु सक्नुहुन्छ ।
कहाँ राख्ने त तपाइको राउटर ?
-राउटर घरको कुनातिरको भागमा राखिएको छ भने वायरलेस सिग्नलको अधिकांश हिस्सा घर बाहिर छोडिन्छ । त्यसकारण राउटर राख्दा घरभित्र खुला स्थानमा राख्नुपर्छ ।
-सकेसम्म इन्टरनेट बढी प्रयोग हुने स्थानमा राउटर राख्नुपर्छ ।
-राउटरलाई सकेसम्म उच्च स्थानमा राख्नु उत्तम हुन्छ।
-राउटर राख्दा इलेक्ट्रोनिक्स डिभाइसबाट टाढा राख्नुपर्छ । तपाईंको राउटरको नजिकै पर्खाल, भित्ता वा इलेक्ट्रोनिक्स डिभाइस छन् भने वाई-फाई सिग्नल र कभरेज कमजोर हुन्छ ।
=तपाईंको राउटरमा दुई वा बढी एन्टेनाहरू छन् भने ती सबैलाई एउटै दिशातिर नफर्काउनुहाेस् ।