close

आफूले भनेको सामग्री नहटाएको भन्दै मेटा र गुगलमाथि रुसले हाल्यो मुद्दा, ठूलो जरिवाना हुनसक्ने

टेकपाना टेकपाना

मंसिर १९, २०७८ १३:४३

आफूले भनेको सामग्री नहटाएको भन्दै मेटा र गुगलमाथि रुसले हाल्यो मुद्दा, ठूलो जरिवाना हुनसक्ने

काठमाडौं । रुसको दूरसञ्चार क्षेत्रको नियामक निकायले अमेरिकी प्रविधि कम्पनी मेटा र गुगलविरुद्ध मुद्दा दायर गरेको छ । विभिन्न सामग्री हटाउन पटक-पटक दिएको निर्देशन मेटा र गुगलले नहटाएको भन्दै दुवै कम्पनीविरुद्ध मस्कोको अदालतमा मुद्दा दायर भएको हो ।

रुसमा सरकारले दिएको निर्देशन पटक-पटक अटेर गर्ने कम्पनीहरुलाई वार्षिक कारोबारको ५ देखि १० प्रतिशतसम्म जरिवाना तिराउनसक्ने प्रावधान छ ।

रुस सरकारले लगाएको आरोप प्रमाणित भएमा दुवै अमेरिकी कम्पनीले ठूलो जरिवाना तिर्नुपर्ने रोयटर्सले लेखेको छ । दुवै कम्पनीविरुद्ध हालिएको मुद्दाको सुनुवाई मिति डिसेम्बर २४ को लागि तोकिएको छ ।

रुसले पछिल्लो समय कडा कानूनी प्रावधान राखेर विदेशी प्रविधि कम्पनीमाथि कडाइ गर्दै आएको  छ । गुगलले मात्रै रुसमा एक वर्षमा मात्रै साढे चार लाख अमेरिकी डलर जरिवाना तिरिसकेको छ ।

ट्वीटर, गुगल र मेटाले पनि रुसमा अवैध मानिने सामग्रीहरु आफ्नो प्लेटफर्मबाट हटाउने अभ्यास बढाएका छन् । गत महिनामात्रै रुसले अमेरिकीसहित १३ वटा ठूला प्रविधि कम्पनीलाई रुसमा दर्ता हुनैपर्ने प्रावधानसहित कानून लागू गरेको थियो ।

उक्त कानून अनुसार विदेशी कम्पनीले सन् २०२१ भित्रमा रुसमा दर्ता भइसक्नु पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२