close

रिक्त वरिष्ठ निर्देशकमा दूरसञ्चार प्राधिकरणले खुलायो बढुवा, को को छन् योग्य ?

टेकपाना टेकपाना

मंसिर १९, २०७८ १४:१५

रिक्त वरिष्ठ निर्देशकमा दूरसञ्चार प्राधिकरणले खुलायो बढुवा, को को छन् योग्य ?

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दुई जना वरिष्ठ निर्देशकसहित कुल सात पदमा पदपूर्तिको तयारी गरेको छ । प्राधिकरणमा रिक्त रहेको वरिष्ठ निर्देशक, निर्देशक र उप-निर्देशक पदमा कार्यक्षमताको मूल्यांकन गरी बढुवा गर्न लागिएको हो ।

योसँगै लामो समयदेखि रिक्त रहेको वरिष्ठ निर्देशकमा पदपूर्तिको प्रक्रिया अघि बढेको छ । ‘नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूको (सेवाका शर्तसम्बन्धी) विनियमावली, २०७६’ अनुसार प्राधिकरणमा प्राविधिक र प्रशासन गरी दुईजना वरिष्ठ निर्देशक रहने व्यवस्था छ ।

सोहीअनुरूप हाल रिक्त रहेको दुवै पदमा प्राधिकरणले पदपूर्तिको तयारी गरेको हो । यसअघि प्राधिकरणको वरिष्ठ निर्देशकमा प्राविधिकतर्फ आनन्दराज खनाल र प्रशासनतर्फ पुरुषोत्तम खनाल रहेका थिए ।

आनन्दराज खनालले गएको साउनबाट अवकाश प्राप्त गरेसँगै प्राविधिकतर्फको वरिष्ठ निर्देशक पद रिक्त भएको थियो ।

हुन त तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रतिशोध साँध्न काजमा मन्त्रालय लगेर जगेडामा राखी भूमिकाविहीन बनाइदिएपछि खनालले प्राधिकरणमा आफ्ना भूमिका निभाउन पाएनन् ।

प्रशासनतर्फ वरिष्ठ निर्देशक रहेका पुरुषोत्तम खनाललाई सरकारले प्राधिकरणको अध्यक्षको जिम्मेवारी दियाे । अढाई वर्षअघि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको समयमा अध्यक्ष पदमा खनाल नियुक्त भएसँगै प्रशासनतर्फ वरिष्ठ निर्देशक पद खाली रहेको छ ।

यसरी रिक्त रहेको पद पूर्तिका लागि प्राधिकरणले यतिबेला प्रक्रिया अघि बढाएको हो । जसमा प्राधिकरणमा हाल निर्देशक पदमा कार्यरतमध्ये दुईजना कार्यक्षमता तथा कार्यअनुभवका आधारमा वरिष्ठ निर्देशकमा बढुवा हुनेछन् ।

प्राधिकरणमा हाल सातजना निर्देशक रहेका छन् । जसमा वरियताका आधारले अर्जुन घिमिरे सबैभन्दा अघि रहेका छन् । उनी प्रशासनतर्फबाट हुन् । प्रशासनतर्फ दोस्रोमा दिपेश आचार्य र तेस्रोमा सन्तोष पौडेल रहेका छन् ।

यसमध्ये घिमिरे र आचार्य निर्देशकको रुपमा बढुवा भएको चार वर्ष पाँच महिनाको हाराहारी मात्रै भएको छ । भने, पौडेलको बढुवा भएको दुई वर्षमात्रै भएको छ ।

प्राधिकरणको विनियमावली अनुसार बढुवाका लागि तल्लो तहमा कम्तीमा पाँच वर्ष अवधि पुरा भएको हुनुपर्ने प्रावधान छ । महिला, आदिवासी र जनजाति, मधेशी, दलित अपाङ्ग र पिछडिएको कर्मचारीको हकमा भने एक वर्ष सेवा अवधि कम भएपनि बढुवा हुनसक्ने प्रावधान रहेको छ ।

यो हिसाबले वरियताको हिसाबमा सबैभन्दा अघि देखिएका घिमिरे, आचार्य र अर्का निर्देशक पौडेलले आवेदन दिनसक्ने अवस्था छैन । त्यस्तै प्राविधिकतर्फ वरियताको हिसाबले सबैभन्दा अघि मीनप्रसाद अर्याल रहेका छन् ।

त्यसपश्चात् क्रमश: अम्बर स्थापित, विजयकुमार रोय र सुरेन्द्रलाल हाडा रहेका छन् । अर्याल र स्थापित निर्देशकमा बढुवा भएको चार वर्ष पाँच महिना पुगेको छ । भने, रोय निर्देशक भएको चार वर्ष तीन महिना पुगेकाे छ ।

हाडा दुई वर्षअघि निर्देशकमा बढुवा भएका हुन् । यीमध्ये प्राधिकरणको विनियम अनुसार पाँच वर्षको कार्य अनुभव कसैसँग छैन ।

तर, महिला, आदिवासी र जनजाति, मधेशी, दलित अपाङ्ग र पिछडिएका कर्मचारीको हकमा एकवर्षे सेवा अवधि कम भएपनि हुने भन्ने प्रावधानका आधारमा यतिबेला निर्देशक स्थापित र रोय वरिष्ठ निर्देशक पदका लागि प्रमुख दाबेदार रहेका छन् ।

पाँच वर्ष नपुग्दा वरियताको हिसाबमा सबैभन्दा अघि देखिएका अर्याल र अर्का निर्देशक हाडाले यसमा आवेदनसमेत दिन पाउने देखिँदैन । यो हिसाबले प्रतिस्पर्धा हुने अवस्था नदेखिएकाे हाे । 

सम्भावित दुईमध्ये स्थापित प्राविधिकतर्फ र रोय प्रशासनतर्फ वरिष्ठ निर्देशक हुने देखिन्छ । हुन त विजयकुमार रोय पनि प्राविधिक नै हुन् । तर, उनी हाल अनुगमन शाखाका प्रमुख हुन् ।

अनुगमन शाखाको प्रमुख प्राविधिक तथा प्रशासनिक दुवै हुन पाउने प्रावधान भएकाले उनलाई प्रशासनतर्फको वरिष्ठ निर्देशकको दाबेदारको रुपमा हेरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२