close

राइड शेयरिङमा यात्रा गर्न पठाओ सस्तो कि टुटल ?

टेकपाना टेकपाना

मंसिर २६, २०७८ २०:४१

राइड शेयरिङमा यात्रा गर्न पठाओ सस्तो कि टुटल ?

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा राइड शेयरिङ सेवाहरू निकै लोकप्रिय हुन थालेका छन् । यद्यपि राइड शेयरिङ कम्पनीहरू थुप्रै भए पनि धेरै प्रयोग हुनेमा पठाओ र टुटल नै अगाडि छन् । 

पछिल्लो समय पठाओले रुट लम्ब्याएर तथा सर्ज चार्जको नाममा महँगो भाडा उठाउन थालेको भन्दै आलोचना पनि हुन थालेको छ । आज हामी मुख्य दुई राइड शेयरिङमा कसको भाडा सस्तो भन्ने विषयमा तुलना गरेर हेर्दै छौँ । 

दुवै कम्पनीको एपमा मोटरसाइकल र ट्याक्सी दुवै सुविधा उपलब्ध छन् । पठाओमा तपाईंले बीमा सुविधा प्राप्त गर्न सक्नुहुन्छ भने टुटलको बाइक राइडका लागि फोनपेको नेटवर्कमा भुक्तानी गर्दा  १० रुपैयाँ छुट पाउन सक्नुहुन्छ ।

यस्ता अतिरिक्त किसिमका सुविधा बाहेक हामीले २६ मङ्सिरको बेलुकी सात बजे पछाडि विभिन्न पाँच रुटमा लाग्ने शुल्कलाई यहाँ तुलना गरेर विश्लेषण गरेका छौँ ।

विभिन्न पाँच रुटमा लाग्ने शुल्क दाँजेर हेर्दा मोटरसाइकलको सन्दर्भमा पठाओभन्दा टुटल नौदेखि करिब ३२ प्रतिशतसम्म सस्तो रहेको पाइयो । टुटलले राइडरहरूबाट लिने कमिसन कम गरी यात्रुहरूलाई सस्तो सेवा दिने रणनीति अपनाएको देखिन्छ भने पठाओले राइडर र यात्रु दुवैलाई आकर्षित गर्ने नयाँ नयाँ स्किम तथा फिचर ल्याउने गरेको छ ।

ट्याक्सीको कुरा गर्ने हो भने दुवै प्लेटफर्मको दर रेट करिब उस्ता उस्तै देखिन्छ । ट्याक्सी अर्डर गर्दा कुनै रुटमा टुटल सस्तो छ भने कुनैमा पठाओ । हामीले दाँजेका पाँच ओटा रुटमध्ये दुई रुटमा टुटल र दुई रुटमा पठाओ सस्तो देखिन्छ भने एउटा रुटमा दुवैको भाडा समान छ ।

रुट नम्बर १ः भृकुटीमण्डपदेखि कलंकी

भृकुटीमण्डप गेटबाट कलंकी चोकसम्म पठाओको बाइकमा यात्रा गर्दा १५६ रुपैयाँ तिर्नुपर्ने हुन्छ भने ट्याक्सीका लागि ३६६ रुपैयाँ शुल्क लाग्ने गरेको पाइयो । तर त्यही रुटमा टुटलको बाइकमा १२७ रुपैयाँ (फोनपे बाट भुक्तानी गर्दा ११७ रुपैयाँ) र ट्याक्सीका लागि ३७५ रुपैयाँ लाग्ने देखियो ।

यसरी हेर्दा पठाओको बाइक भन्दा टुटलको बाइकमा यात्रा गर्दा २९ रुपैयाँ (करिब १९ प्रतिशत) सस्तो पर्न जान्छ भने ट्याक्सीमा पठाओ नौ रुपैयाँ (करिब अढाई प्रतिशत) सस्तो छ ।  

रुट नम्बर २ः माइतिघरदेखि बुढानीलकण्ठ

अर्को रुटका लागि हामीले माइतिघर चोकदेखि बुढानीलकण्ठ मन्दिर अघिको चोकलाई आधार मानेका छौँ । यो रुटमा पठाओको मोटरसाइकलमा ३२२ रुपैयाँ र टुटलको बाइकमा २२१ रुपैयाँ भाडा देखिन्छ । जसमा टुटल पठाओभन्दा १०१ रुपैयाँ (३१.३७ प्रतिशत) सस्तो छ ।

यसैगरी यही रुटमा ट्याक्सी अर्डर गर्दा पठाओमा ६९९ रुपैयाँ लाग्ने देखिन्छ भने टुटलमा ६०१ रुपैयाँ मात्र छ । यसरी हेर्दा पठाओको ट्याक्सीभन्दा टुटलको ट्याक्सी ९८ रुपैयाँ (१४ प्रतिशतभन्दा बढी) सस्तो देखिन्छ ।   

रुट नम्बर ३ः बानेश्वरदेखि सातदोबाटो

रुट नम्बर तीनमा हामीले बानेश्वर चोकदेखि सातदोबाटो चोकसम्मलाई आधार बनाएका छौँ । जसमा बाइकमार्फत यात्रा गर्दा पठाओमा १५० रुपैयाँ र टुटलमा ११९ रुपैयाँ लाग्ने देखिन्छ ।

यसअनुसार पठाओभन्दा टुटलमा ३१ रुपैयाँ (करिब २१ प्रतिशत) सस्तो पर्छ । यही रुटमा ट्याक्सी अर्डर गर्दा भने पठाओ र टुटलको भाडा समान ३५१ रुपैयाँ देखिन्छ । 

रुट नम्बर ४ः कीर्तिपुरदेखि रत्नपार्क

अर्को रुटका लागि हामीले कीर्तिपुर रिङरोड चोकदेखि रत्नपार्कको बस स्टेसन सम्मको दूरीलाई आधार बनाएका छौँ । यो रुटमा यात्रा गर्दा पठाओमा १५४ रुपैयाँ र टुटलमा १४० रुपैयाँ लाग्ने देखिन्छ ।

यसरी हेर्दा पठाओभन्दा टुटल १४ रुपैयाँ (नौ प्रतिशत भन्दा बढी) सस्तो छ । त्यस्तै यही रुटमा ट्याक्सी अर्डर गर्दा पठाओभन्दा टुटल नै सस्तो छ । यसका लागि पठाओमा ४२७ रुपैयाँ लाग्छ भने टुटलमा ४०५ रुपैयाँ देखिन्छ । जुन २२ रुपैयाँ अर्थात पाँच प्रतिशतभन्दा बढी सस्तो हो । 

रुट नम्बर ५ः जाउलाखेलदेखि गठ्ठाघर

अन्तिम अर्थात पाँचौ रुटका लागि हामीले ललितपुरको जावलाखेल चोकदेखि भक्तपुरको गठ्ठाघरसम्मको दूरीलाई आधार मानेका छौँ । यो रुटमा बाइक मार्फत यात्रा गर्दा पठाओमा १६८ रुपैयाँ र टुटलमा १५१ रुपैयाँ लाग्ने देखिन्छ । यसमा पठाओभन्दा टुटल १७ रुपैयाँ (१० प्रतिशतभन्दा बढी) सस्तो छ । 

यही रुटमा ट्याक्सीको कुरा गर्ने हो भने पठाओ टुटलभन्दा सस्तो रहेको देखिन्छ । यसमा पठाओको ट्याक्सीमा ४०४ रुपैयाँ लाग्ने देखिन्छ भने टुटलमा ४२७ रुपैयाँ छ । जुन २३ रुपैयाँ (पाँच प्रतिशतभन्दा बढी) सस्तो हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२