close

फोनमा कहिल्यै प्रयोग नहुने डिफल्ट एपबाट यसरी पाउनुहोस् मुक्ति

टेकपाना टेकपाना

मंसिर २८, २०७८ १८:३९

फोनमा कहिल्यै प्रयोग नहुने डिफल्ट एपबाट यसरी पाउनुहोस् मुक्ति

काठमाडौं । ब्लोटवेयर (निर्माता कम्पनीले फोन तथा कम्प्युटरमा राख्ने अनावश्यक सफ्टवेयर तथा एप्लिकेसन) सुन्दा पनि राम्रो लाग्दैन । वास्तवमा स्मार्टफोनमा प्रिइन्स्टल (खरिद गर्नु अघिदेखि नै इन्स्टल भएका) भएका यी एपहरु न त तपाईंले अनुरोध गर्नु भएको हुन्छ न त चाहनु नै हुन्छ । 

प्रायः निर्माता कम्पनीहरूले स्मार्टफोनमा डिफल्ट एपको रुपमा आफ्ना एप तथा सर्भिसलाई जोड दिने तथा प्राथमिकताका साथ राख्ने गर्छन् । सुरुवाती समयमा यो शब्द विण्डोज कम्प्युटरका लागि प्रयोग गरिन्थ्यो । जुन विण्डोजमा सफ्टवेयर स्विट्स तथा थर्डपार्टी युटिलिटीको लामो सूचिको रुपमा रहेको हुन्छ ।

त्यसो त यो विषय तपाईंले कुन कम्पनीको कम्प्युटर खरिद गर्नुहुन्छ, त्यसमा पनि भर पर्ने कुरा हो । त्यो अवस्थामा पछिल्लो समय विस्तारै सुधार हुँदै गएको छ । तर अहिले पनि तपाईंले ब्रान्ड-न्यु विण्डोज ल्यापटप खोल्नुभयो भने त्यसमा आधा दर्जन जति विभिन्न एप, युटिलिटी, एन्टिभाइरस र अफिस टुलको ट्राइल भर्सन चलिरहेको पाउन सक्नुहुन्छ ।

यद्यपि धेरैजसो ब्लोटवेयर वास्तवमा त्यस्तो कुनै जोखिमपूर्ण त हुँदैनन् । तर यस्ता अनावश्यक र नचाहिँदा एपले स्टोरेज स्पेस र सिस्टमको स्रोतसाधन ओगटिरहेका हुन्छन्, जुन तपाईंले वास्तवमै प्रयोग गर्न चाहेका एपमा उपयोग हुन सक्छ ।

साथै यस्ता एपहरू तपाईंको फोनमा रहेका अन्य थुप्रै एपले गर्ने कामकै लागि हुने भएकाले दुविधाको अवस्था पनि सिर्जना गरिरहेका हुन्छन् । सुरक्षा र गोपनीयताको हिसाबले भन्ने हो भने तपाईंले प्रयोग नगर्ने यस्ता ब्लोटवेयर एप हटाउँदा नै राम्रो हुन्छ । यो काम कसरी गर्ने भन्ने विषय चाहिँ तपाईंले प्रयोग गरिरहेको फोनमा निर्भर रहन्छ ।

एन्ड्रोइडबाट कसरी हटाउने ब्लोटवेयर ?

ब्लोटवेयर एन्ड्रोइड स्मार्टफोनहरूको साझा समस्या हो । किनभने बजारमा यति धेरै स्मार्टफोन निर्माता छन्, जसले एन्ड्रोइड उपकरण तयार पारिरहेका छन् । केहीमा तपाईंले यस्ता अथवा त्यसभन्दा पनि बढी एप पाउन सक्नुहुन्छ, जुन वास्तवमा तपाईंको चाहना होइन, अथवा आवश्यकता होइन ।

तर पनि स्मार्टफोन निर्माता कम्पनी त्यस्ता एप तपाईंलाई प्रयोग गराउन उत्सुक हुन्छन् । एन्ड्रोइड फोनमा रहेका कुनै एप, ब्लोटवेयर अन्य चिजहरूबाट मुक्ति पाउन सुरुमा सेटिङ हुँदै ‘एप्स एन्ड नोटिफिकेसन’मा जानुहोस् र ‘सि अल एप्स’ मा पुग्नुहोस् । अब यहाँनिर कुन चिजबिना तपाईंलाई काम गर्न बाधा नहुने कुरामा बाधा पुग्दैन, विचार गर्नुहोस्  । 

त्यसपछि आफूले फोनबाट हटाउन चाहेको एप छनौट गरेर ‘अनइन्स्टल’ गरिदिनुहोस् । तर केही अवस्थामा तपाईंले कुनै एपलाई पूर्ण रुपमा हटाउन सक्नुहुन्न । किन भने मोबाइल निर्माता कम्पनीले एन्ड्रोइडको आफ्नो अनुकूलको भर्सनमा त्यस्तो एपलाई इन्टिग्रेट गरेका हुन्छन् ।  यस्तो अवस्थामा ‘अनइन्स्टल’को साटो ‘डिसेबल’ अप्सन खोज्नुहोस् ।

यसले कम्तिमा त्यस्तो एपलाई चल्न, सिस्टमको मुख्य स्रोत प्रयोग गर्न, अपडेट हुन र अन्य कतै देखिएर झन्झट पैदा गराउनबाट रोक्नेछ । यो तरिका स्मार्टफोन निर्माता, तपाईंले प्रयोग गर्ने फोनको मोडेल र त्यसमा चलिरहेको एन्ड्रोइडको भर्सनमा निर्भर हुन्छ । यदि तपाईं मुख्य सेटिङ एपहुँदै अगाडि बढ्नुभयो भने सहजै यस्ता एपलाई अनइन्स्टल तथा डिसेबल गर्न सक्नुहुनेछ ।

जसले तपाईंको फोनबाट अनावश्यक विकार चिजलाई कम गर्नेछ । भर्खरै पनि चर्चा गरिसकेका छौँ, केही एन्ड्रोइड स्मार्टफोन निर्माताहरूले यसरी प्रि-इन्स्टल एप राखेका हुन्छन्, जसलाई साधारण तरिकाले हटाउन सकिँदैन । यदि तपाईं डिसेबल गर्नुको साटो पूर्णतः त्यस्ता एपलाई हटाउन चाहनुहुन्छ अथवा डिसेबल गर्नै नसकिने ब्लोटवेयर देख्नुहुन्छ भने तपाईंका लागि थप उन्नत र सम्बन्धित किसिमका विकल्पहरू पनि खुला छन् ।

यसका लागि सुरुमा विण्डोज वा म्याक ओएस कम्प्युटरमा एन्ड्रोइड स्टुडियो डेभलपर टुल इन्स्टल गर्नुहोस् । यो पेजमा तपाईंले डाउनलोड पाउन सक्नुहुन्छ । तपाईंको फोनलाई पनि डेभलपर मोडमा राख्नुहोस् । यसका लागि सेटिङबाट ‘अबाउट फोन’मा जानुहोस् र ‘ब्युल्ड नम्बर’ मा सात पटक लगातार ट्याप गर्नुहोस् । यसबाट सेटिङको ‘सिस्टम’ मेनुमा ‘डेभलपर अप्सन्स’ देखा पर्नेछ ।

त्यसपछि ‘यूएसबी डिबगिङ’ इनेबल गर्नुहोस् । (यसो गर्नुमा कुनै किसिमको जोखिम छैन । बरु यसले परीक्षण गर्ने कार्यका लागि तपाईंलाई थुप्रै नयाँ विकल्पहरू खुला गरिदिनेछ ।) अब आफ्नो फोनलाई यूएसबीको माध्यमबाट कम्प्युटरसँग जोड्नुहोस् । त्यसपछि काम अगाडि बढाउनुहोस् ।

कनेक्सन पुरा भइसकेपछि तपाईंले आफ्नो कम्प्युटरमा एन्ड्रोइड स्टुडियो फोल्डरबाट पावरशेयल (विण्डोजमा) अथवा टर्मिनल (म्याक ओएसमा) खोल्नुपर्ने हुन्छ । जसका लागि एन्ड्रोइड डिबग ब्रिज (एडीबी) इन्स्टल भएको स्थानमा जानुहोस् । विन्डोजका लागि C:\ Users\ <user>\ AppData\ Local\ Android\ Sdk\ platform-tools मा जानुहोस् ।

यसमा रहेको युजर तपाईंको विण्डोज युजर अकाउन्टको नाम हो ।  त्यसपछि फोल्डरभित्र सिफ्ट+राइट क्लिक गर्नुहोस् र पावरशेल विन्डोज छनौट गर्नुहोस् । 

अब लिङ्क गर्न खुलेको पावरशेल अथवा टर्मिनल विण्डोजमा ”.\adb devices” कमान्ड रन गर्नुहोस् । त्यसपछि कनेक्ट भएको एन्ड्रोइड डिभाइसको “adb shell” कन्ट्रोल गर्न सकिन्छ । (म्याकमा तपाईंले भर्खरैजस्तो “.\” गरिरहनु पर्दैन) ।

त्यसपछि अन्तिम कमाउन्डको रुपमा “pm uninstall -k –user 0 <appname>” यसमा रहेको “<appname>” तपाईंले छुट्करा पाउन चाहेको एपको नाम हो । तपाईंले यस्तो प्याकेजको नाम आफ्नो फोनबाट निःशुल्क रुपमा उपलब्ध एप इन्स्पेक्टरको सहयोगमा पत्ता लगाउन सक्नुहुन्छ ।

यो एकदमै जटिल र प्राविधिक लाग्यो भने यहिँनिर रोकिनुहोस् । यदि तपाईं यही तरिकाबाट ब्लोटवेयर हटाउने कुरामा गम्भिर हुनुहुन्छ भने आफ्नो निश्चित फोनको मोडेलको बारेमा विस्तृत अनुसन्धान गर्न सल्लाह दिन्छौँ । साथै एडीबीको बारेमा पनि थप अध्ययन गर्नुहोस् । साथै एक्सडीए डेभलपरको यो गाइड पनि हेर्नुहोस् । हुन त तपाईंले आफ्नो निश्चित फोनमाथि नै केन्द्रित रहेर बनाइएको गाइड समेत फेला पार्न सक्नुहुन्छ ।

ब्लोटवेयरलाई हटाउने अर्को विस्तृत तरिका भनेको तपाईंको फोन रुट गर्नु पनि हो । एडीबीमा जस्तै यसका लागि पनि केही प्राविधिक जानकारी भने तपाईंसँग हुन जरुरी छ । तर यसले तपाईंको मोबाइलको वारेन्टीमा भने असर गर्न सक्छ । साथै यसबाट तपाईंको उपकरणमा केही सानो जोखिम पनि थपिन सक्छ । केही अनावश्यक एपहरू हटाउनु भनेको निकै तनावपूर्ण काम हो । तर पनि तपाईंलाई विकल्प चाहिन्छ भने नभएको चाहिँ होइन ।

यदि तपाईं रुटिङ आफ्नो लागि उपयुक्त छ भन्ने ठान्नुहुन्छ भने यसले तपाईंलाई आफ्नो फोनमाथि पूर्ण नियन्त्रण कायम गर्ने सुविधा दिन्छ, जुन सफ्टवेयर नै हो । एकपटक यसरी आफ्नो फोन मोडिफाइ गरिसकेपछि अनावश्यक एपबाट मुक्ति पाउन तपाईं रुट एप डिलिटर अथवा सिस्टम एप रिमुभर जस्ता एप प्रयोग गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२