close

युट्युवरले कसरी कमाउँछन् पैसा ?

टेकपाना टेकपाना

मंसिर २८, २०७८ १९:३१

युट्युवरले कसरी कमाउँछन् पैसा ?

काठमाडौं । तपाईं पक्कै पनि युट्युव चलाउनुहुन्छ । अहिले आम्दानी गर्ने आकर्षक विकल्पका रुपमा युट्युवलाई लिने गरिन्छ । नेपालमा धेरै युट्युव च्यानल छन्, जसले महिनामै लाखौं कमाइरहेका छन् ।

यो सुन्दा तपाईंलाई पनि यसबाट कमाउने इच्छा जागेको होला । तर कसरी कमाउने भन्ने विषयमा अनविज्ञ हुनुहुन्छ भने, यो सानो जानकारी निकै उपयोगी हुनसक्छ ।

पृथक र सृजनात्मक सामग्री (कन्टेन्ट) दिनसके युट्युव आम्दानीको एक राम्रो स्रोत बन्न सक्छ । यसका लागि सबैभन्दा पहिले तपाईंसँग युट्युव च्यानल हुन आवश्यक छ ।

आफ्नो जिमेल अकाउन्टबाट सजिलै युट्युव साइन ईन गर्न सकिन्छ र तपाईंले आफ्नो च्यानल बनाउन सक्नुहुन्छ । त्यस च्यानलमा तपाईंले आफैंले बनाएका भिडिओ राख्न सक्नुहुन्छ ।

युट्युवमा राखेको भिडिओ नै तपाईंको आम्दानीको मुख्य स्रोत हो । त्यसैले भिडिओ बनाउँदा प्रयोगकर्ताले रुचाउने, केही पृथक शैलीको भिडिओ बनाउनु उपयुक्त हुन्छ ।

यदि चोरेको भिडिओ राखेको पाइएमा युट्युव आफैंले हटाउँछ । युट्युव कपिराइट पोलसी अन्तर्गत तपाईंले राखेको भिडिओमा ९० दिनभित्र लगातार तीनपटक कपिराइट लागेमा तपाईंको च्यानल नै टर्मिनेट हुने व्यवस्था छ ।

दर्शकले रुचाउने किसिमको भिडिओ राख्न भने ठूलो चुनौती रहन्छ । समय र दर्शकको मागअनुसार आफ्नो भिडिओको गुणस्तर नघटाई नियमित रुपमा कन्टेन्ट अपलोड गर्न सकेमात्र आम्दानी गर्न सकिन्छ ।

तपाईंको भिडिओमा हुने नियमित इंगेजमेन्टलाई मध्यनजर गरेर युट्युवले तपाईंको च्यानल मनिटाइज गर्छ । च्यानल मनिटाइज गर्नका लागि युट्युवले निश्चित नियम तय गरेको छ ।

च्यानल मनिटाइज गर्नका लागि तपाईंलाई कम्तिमा एक हजार सब्स्क्राइबर र १० हजार भ्युजका साथै एक वर्षभित्र चार हजार घण्टा तपाईंको भिडिओ हेरिएको हुनुपर्ने छ ।

यी सबै कुरा य़ुट्युव नीतिभित्र रहेर पुरा भएको छ भने तपाईं युट्युव पार्टनर बन्न योग्य हुनुहुन्छ । त्यसपछि तपाईंले युट्युव पार्टनर प्रोग्राममा आवेदन दिन सक्नुहुन्छ ।

आवेदन दिँदा च्यानल लोकेसनमा युट्युव पार्टनर प्रोग्राम हुने उपयुक्त देश छान्नुपर्ने हुन्छ । त्यसपछि विज्ञापन आएर मनिटाइज भएको भिडिओबाट कमाउन युट्युव च्यानललाई एडसेन्स अकाउन्टसँग कनेक्ट गराउनुपर्छ  ।

एडसेन्स अकाउन्टसँग लिंक गराउने समयमै तपाईंले आफूले कमाएको पैसा वेस्टर्न युनियन वा सिधै बैंक ट्रान्सफरबाट लिने हो, त्यो छनौट गर्नुपर्ने हुन्छ ।

हरेक महिनाको १० देखि १५ तारिखसम्म आफ्नो अकाउन्टमा कति पैसा जम्मा भयो हेर्न मिल्छ । याद गर्नुहोस् अकाउन्टमा १०० डलर नपुग्दासम्म पैसा निकाल्न पाउनुहुन्न ।

अर्को कुरा वेस्टर्न युनियन वा बैंक ट्रान्सफर दुवै माध्यबाट पैसा प्राप्त गर्दा नेपाल सरकारले एक प्रतिशत कर कटौती गर्छ भने वेस्टर्न युनियनबाट प्राप्त गर्दा थप सेवाशुल्क लाग्छ ।

तपाईंको भिडिओमा देखिने एड्सेन्सबाट नै तपाईंले आम्दानी गर्नुहुन्छ । त्यसपश्चात ‘मनिटाइज विथ एड’ छानेर कस्तो प्रकारको विज्ञापन राख्ने हो, आफैंले छान्न सकिन्छ ।

यसका लागि भिडिओ म्यानेजरको युट्युव स्टुडियो एपमा जानुपर्ने हुन्छ । भिडिओ अपलोड गर्दा भने निकै नै संयम बन्नु आवश्यक छ । उपयुक्त भिडिओ बनाउन सके विश्वव्यापी दर्शक कमाउन सकिन्छ ।

भिडिओमा निरन्तरता दिनु पनि ठूलो चुनौती हो । अश्लील र अनावश्यक भिडिओ बनाएर दर्शक तान्न खोज्ने पनि धेरै हुन्छन् । तर यस्ता भिडिओले भने निरन्तरता पाउन सक्दैनन् ।

भिडिओ बाहेक युट्युवमा देखिने थम्ब्नेल, किवर्ड, टाइटल, डिस्क्रिप्सन लगायतका सबै विषयलाई ध्यानमा राख्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२