close

आरोही निर्मल पुर्जा पुन बने वर्ल्डलिंकको ब्राण्ड एम्बेस्डर

टेकपाना टेकपाना

मंसिर २९, २०७८ १७:५०

आरोही निर्मल पुर्जा पुन बने वर्ल्डलिंकको ब्राण्ड एम्बेस्डर

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले हिमाल आरोहणमा विश्व किर्तिमान राखेका निर्मल (निम्स) पुर्जा पुनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेकाे छ ।

काठमाडौंमा आज एक कार्यक्रम आयोजना गर्दै वर्ल्डलिंकले पुनलाई आफ्नो कम्पनीको ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो । आरोहणका लागि अन्टार्टिकामा रहेका पुनले कार्यक्रममा भिडिओ सन्देशमार्फत वर्ल्डलिंकसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

कम्पनीको ब्राण्ड एम्बेस्डर घोषणा गर्दै वर्ल्डलिंकका सीईओ केशव नेपालले वर्ल्डलिंक र निम्सको ‘कोर भ्यालु’ एउटै रहेका कारण कम्पनीले आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा निम्सलाई नियुक्ति गरेको बताए ।

‘जसरी निम्स दाइको लक्ष्य नेपाली पर्वताहोरण क्षेत्रलाई विश्वमा पहिचान गराउने थियो । त्यसैगरी हाम्रो लक्ष्य पनि विश्वस्तरको सेवा नेपाली सेवाग्राहीलाई दिने रहेको छ,’ उनले बताए । आउने दिनमा यो सहकार्यले दुवैलाई फलदायी रहने विश्वास नेपालले व्यक्त गरे । 

निर्मल पुर्जा पुनले विश्वको आठ हजारभन्दा माथिको १४ वटा हिमाल सबैभन्दा कम समयमा सफलतापूर्वक आरोहण गरेर विश्व रेकर्ड कायम गरेका हुन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२