close

इन्टरनेट शुल्कको स्वीकृति नै नलिई स्पिड वारमा सेवा प्रदायक, प्राधिकरणले निकाल्यो सूचना

टेकपाना टेकपाना

पुस २, २०७८ १४:२४

इन्टरनेट शुल्कको स्वीकृति नै नलिई स्पिड वारमा सेवा प्रदायक, प्राधिकरणले निकाल्यो सूचना

काठमाडौं । पछिल्लो इन्टरनेट सेवा प्रदायकले स्पिड बढाउने र महसुल घटाउने विभिन्न घोषणा गरिरहेको छ । वल्र्डलिंक, सुविसु, भायानेट, क्लासिक टेकजस्ता प्रमुख सेवा प्रदायकले उपभोक्ताको लागि विभिन्न प्याकेज घोषणा गरिरहेका छन् ।

तर सेवा प्रदायकले प्राधिकरणबाट शुल्क स्वीकृत नै नगरी विभिन्न प्याकेज घोषणा गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै शुल्क स्वीकृत गराएर मात्रै इन्टरनेट प्याकेज लागू गर्न सेवा प्रदायकलाई आग्रह गरेको छ । नियामक निकाय प्राधिकरणले जारी गरेको सूचनामा विभिन्न सेवा प्रदायकले विभिन्न प्याकेज घोषणा गरी सार्वजनिक गरेको भए पनि प्राधिकरणबाट स्वीकृत नलिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

प्राइस र स्पिड वारमा संलग्न कुनै पनि सेवा प्रदायकले प्राधिकरणबाट शुल्क स्वीकृत नगरेको प्राधिकरण स्रोतले जनाएको छ । ‘अहिले विभिन्न प्याकेज घोषणा गरेका कुनै पनि सेवा प्रदायकले प्राधिकरणबाट शुल्क स्वीकृत गराएका छैनन्,’ प्राधिकरण स्रोतले भन्यो,‘शुल्क स्वीकृत नगराई लागू गरेको थाहा पाएपछि सूचना जारी गरेका हौं ।’

यो पनि पढ्नुहोस् :

इन्टरनेटमा चलेको ‘स्पिड वार’ ले कतै बिगार्दै त छैन गुणस्तर ?

सेवा प्रदायकले ग्राहकसँग लिने सेवाको शुल्क र महसुल दर प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृत गराउनुपर्ने प्रावधान दूरसञ्चार ऐन २०५३ को दफा ४२ मा छ ।

प्राधिकरणबाट स्वीकृत भएको महसुल दर स्वीकृत भएको मितिसमेत उल्लेख गरी सूचना प्रकाशित गरेपछि मात्रै लागू गर्नुपर्ने प्रावधान छ । ‘हाल कतिपय इन्टरनेट सेवा प्रदायकहरुले प्राधिकरणबाट सेवाको शुल्क स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाल पत्रपत्रिका तथा वेबसाइटमा सूचना प्रकाशन गरी लागू गरेको अवस्था देखिएकोले प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

यस्तो छ प्राधिकरणले जारी गरेको सूचना :

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२