close

पाँच महिनामै भित्रियो २२ अर्ब मूल्यका साढे ३० लाख मोबाइल

टेकपाना टेकपाना

पुस ८, २०७८ १३:४३

पाँच महिनामै भित्रियो २२ अर्ब मूल्यका साढे ३० लाख मोबाइल

काठमाडौं । चालू आर्थिक वर्षको सुरुवाती पाँच महिनाको अवधिमा नेपालमा उल्लेख्य रूपले मोबाइल भित्रिएको छ । मंसिर महिनामा मात्रै साढे चार लाख फोन आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म २२ अर्ब ९७ करोड २४ लाखभन्दा बढी मूल्यको कूल ३० लाख ६० हजार ४३७ वटा मोबाइल आयात भएको छ ।

त्यसमध्ये चार लाख ५८ हजार ६५७ थान मोबाइल सेट मंसिर महिनामा मात्रै आयात भएको विभागको तथ्यांक छ । मंसिर महिनामा मात्रै दुई अर्ब ६१ करोड ३८ लाख मूल्यभन्दा बढीको मोबाइल आयात भएको हो ।

यो तथ्याङ्क अघिल्लो वर्षको सोही अवधि (साउनदेखि मंसिरसम्म) तुलनामा उल्लेख्य वृद्धि हो । अघिल्लो आवको सुरुवाती पाँच महिनामा नेपालमा कूल १७ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ बराबरको २७ लाख ७२ हजार ८४३ वटा मोबाइल भित्रिएको थियो ।

यो हिसाबले अघिल्लो वर्षको तुलनामा यो वर्ष पछिल्लो पाँच महिनामा ८४ करोड २२ लाखभन्दा बढीको दुई लाख ८७ हजार ५९४ वटा मोबाइल बढी भित्रिएको छ । यो पाँच महिनामा ४८ वटा देशबाट मोबाइल आयात भएको तथ्याङ्कले देखाएको छ ।

यसरी मोबाइल आयात हुनेमा सबैभन्दा अघि चीन रहेको छ । पछिल्लो पाँच महिनामा चीनबाट मात्रै १३ अर्ब ५६ करोड ८९ लाखभन्दा बढी रुपैयाँको २२ लाख ९९ हजार ५ सय ८० मोबाइल भित्रिएको छ ।

दोस्रोमा अर्को छिमेकी राष्ट्र भारत रहेको छ । भारतबाट ८ अर्ब ४४ करोडभन्दा बढीको छ लाख १ हजार ५ सय ४२ मोबाइल भित्रिएका छन् । नेपालमा धेरै मोबाइल भित्रिने तेस्रो देशमा भियतनाम रहेको छ ।

भियतनामबाट मात्रै एक लाख ४८ हजार ८ सय ४६ वटा मोबाइल भित्रिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२