close

नमस्ते पे बन्यो असफल परियोजना, मिलेमतोमा भारतीय कम्पनीलाई दिइएको थियो ठेक्का

गोपाल साउद गोपाल साउद

पुस ९, २०७८ १९:१९

नमस्ते पे बन्यो असफल परियोजना, मिलेमतोमा भारतीय कम्पनीलाई दिइएको थियो ठेक्का

काठमाडौं । नेपाल टेलिकमले सुरु गरेको नमस्ते पे असफलसिद्ध भएको छ । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले मिलेमतोमा असक्षम भेन्डर चयन गर्दा परियोजना नै असफल बनेको हो । 

टेलिकमको नेतृत्वले आवश्यक सतर्कता अपनाउन नसक्दा परियोजना नै असफल बनेको कम्पनीका उच्च अधिकारीहरू बताउँछन् । ‘सुरुमा मोबाइल ब्यालेन्सबाटै भुक्तानी गर्ने सिस्टम बनाउने भनिएको थियो । तर अहिले बजारमा उपलब्ध अन्य वालेट जस्तै सिस्टम बनाइएको छ ।

सुविधा भने केही छैन । टेलिकमका एक अधिकारी भन्छन्, ‘मोबाइल ब्यालेन्सबाट भुक्तानी गर्न मिल्ने भनेर बजारमा उत्साह जगाइयो र टेन्डर निकालियो । तर अहिले सामान्य वालेट जत्तिको सिस्टम पनि बनेको छैन ।’ 

फिनटेक विज्ञ तथा एससीटी नेटवर्कका पूर्व प्रमुख प्राविधिक अधिकृत समीरमेहर बज्राचार्य समेत सुरुवाती समयमा नमस्ते पेसँग आफ्नो पनि अपेक्षा धेरै रहेको भए पनि अहिले आउँदा पूरा नभएको बताउँछन् । नेपाल डिजिटल पेमेन्ट कम्पनीलाई असफल हुनुको पछाडिको मुख्य कारण हो, मिलेमतोमा ठेक्का पाउने भारतीय कम्पनी ‘कमभिभा’ ।

जसका स्थानीय साझेदार सोहन श्रेष्ठ नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीसँग निकट छन् । श्रेष्ठ नागरिक र कान्तिपुर मिडिया ग्रुपका पूर्व कर्मचारी समेत हुन् ।

त्यसैले नै उनले आफू स्थानीय एजेन्ट रहेको कमभिभालाई ९ असोज २०७७ मा नमस्ते पेको ठेक्का पार्न लगाए । जब कि कमभिभा वित्तीय प्रस्तावमा आवेदन दिने छ कम्पनी मध्ये चौथो नम्बरमा थियो ।

उसले १६ लाख ६६ हजार ९६६ अमेरिकी डलर (समाचार तयार पार्दाको मितिको विनिमय दरअनुसार करिब २० करोड १० लाख १९ हजार रुपैयाँभन्दा बढी) प्रस्ताव गरेको थियो ।

जब कि पहिलो नम्बरमा रहेको सेन्जेन किङ्गडमले १३ लाख ८३ हजार ६३१.३६ अमेरिकी डलर (समाचार तयार पार्दाको मितिको विनिमय दरअनुसार करिब १६ करोड ६८ लाख ५२ हजार रुपैयाँ) कबोल गरेको थियो । सेन्जेन मात्र नभएर वन९७ र सिक्सडीको बोलकबोल मूल्य समेत कमभिभाको तुलनामा न्यून रहेको थियो ।

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीसँगको निकटताकै आधारमा सोहन श्रेष्ठको जेनेक्स प्रालिले एक वर्ष अघि दुई करोड ७६ लाख ४३ हजार रुपैयाँ भन्दा बढीको कस्टमर कन्ट्याक्ट सेन्टरको ठेक्का समेत हात पारेको थियो । कम्पनीले नमस्ते पेको नाममा गत भदौ अन्तिम साता डिजिटल भुक्तानी सेवा सुरु गर्‍यो ।

प्रयोगकर्ताले नमस्ते पे को मोबाइल एप, वेबसाइट र यूएसएसडी कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्ने भनिए पनि सेवा सञ्चालनमा आउँदा धेरैले एप नै डाउनलोड गर्न पाएनन् । लिङ्क मार्फत एप डाउनलोड गर्नेको मोबाइलमा पनि एप क्र्याश हुने समस्या देखियो ।

कम्पनीका सीईओ केपी भण्डारीले कोभिड १९ महामारीका कारण सिस्टम विकास गर्ने कार्य राम्रोसँग हुन नसकेको बताउने गरेका छन् । तर सेवा सुरु भएको चार महिनासम्म पनि कम्पनीले व्यावसायिक स्वरूप लिन समेत सकेको छैन ।

२०७७ चैतमा राष्ट्र बैंकबाट स्वीकृति पाएको नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले छ महिनाभित्र अर्थात् भदौ मसान्तसम्ममा सेवा आरम्भ गर्नुपर्ने थियो । सोही बाध्यताका कारण भारतीय कम्पनी कमभिभाले आवश्यक सिस्टम तयार नपारे पनि नमस्ते पे सार्वजनिक गरियो ।

राजधानीको एक होटेलमा आयोजित गोप्य कार्यक्रम माझ नमस्ते पे ‘लञ्च’ इभेन्ट आयोजना गरियो । जसको बारेमा जानकारी दिन काठमाडौंमा नभई भोलिपल्ट पोखरा पुगेर पत्रकार सम्मेलन आयोजना गरियो ।

‘रिचार्ज तथा ब्यालेन्सबाटै भुक्तानी गर्न मिल्छ र धेरै जनतामाझ यो सेवा पुग्न सक्छ भन्ने मेरो पनि बुझाई थियो,’ फिनटेक विज्ञ बज्राचार्य भन्छन्, ‘यस्तो अवस्थामा मोबाइल बैंकिङ र डिजिटल वालेटको बजारमा समेत हस्तक्षेप गर्न सकिन्थ्यो । तर अहिले बजारमा आउँदा अन्य डिजिटल वालेटभन्दा कुनै फरक देखिँदैन ।’ 

दूरसञ्चार कम्पनीले सोझै भुक्तानी सेवा दिन नमिल्ने भए पछि सहायक कम्पनी स्थापना गर्ने मोडालिटी राष्ट्र बैंकले बनाएको हो । सहायक कम्पनीमार्फत भए पनि दूरसञ्चार कम्पनीको फराकिलो नेटवर्कका कारण त्यसले डिजिटल भुक्तानीको क्षेत्रमा नयाँ आयाम थप्ने ठानिएको थियो ।

‘तर यहाँ त टेलिकम कम्पनी आउनु र अन्य कम्पनी आउनुमा कुनै अन्तर देखिएन,’ बज्राचार्य अगाडि भन्छन् । ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीमा नेपाल टेलिकमको करिब ६२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको करिब ३८ प्रतिशत शेयर छ ।

जसको सिस्टम बनाउनकै लागि २० करोड रुपैयाँभन्दा बढीको ठेक्का भारतीय कम्पनीलाई सुम्पिएको छ । ‘यति धेरै पूँजी र लगानी भएको कम्पनीको सिस्टम र गति देख्दा भिजन नै नभए जस्तो देखियो,’ फिनटेक विज्ञ बज्राचार्य भन्छन्, ‘यसमा कुन प्रकारको प्रविधि आत्मसाथ गरिरहेको छ, प्रमाणित प्रविधि हो कि होइन, कतिको सुरक्षित छ र त्यसको मापदण्ड कुन स्तरको छ भन्ने कुरा महत्त्वपूर्ण  कुरा हुन्छ ।’

नेपालको डिजिटल भुक्तानीको क्षेत्रमै सुरक्षा र प्रयोगकर्ताले गर्ने अनुभव (युजर एक्सपिरियन्स) को विषय सोचेकै देखिँदैन । यस किसिमको एप्लिकेसन डिजिटल पेमेन्ट कम्पनीले खर्च गरेको बजेटभन्दा ५० प्रतिशतभन्दा सस्तोमा बनाउन सकिने बज्राचार्य बताउँछन् । 

‘कुनै पनि एप तथा सिस्टम बनाउँदा सबैभन्दा धेरै खर्च हुने भनेको अनुसन्धान र विकासमा हो,’ उनी भन्छन्, ‘त्यो पनि राम्रोसँग भएको जस्तो देखिँदैन । हामीले तत्कालीन समयमा एससीटीको त्यति ठूलो सिस्टम बनाउँदा दश करोड जति खर्च भएको थियो होला । प्रविधि त झन् समयसँगै सस्तो हुँदै जाने विषय हो । त्यसैले अहिलेको समयमा २० करोड रुपैयाँ भनेको एकदमै ठूलो रकम हो ।’

निराश प्रयोगकर्ताः

चार महिनामा नमस्ते पेको एन्ड्रोइड एप पाँच हजार पटक डाउनलोड भएको देखिन्छ । तर सेवा नै प्रयोग गर्न नपाएपछि डाउनलोड गरेका धेरै प्रयोगकर्ताले त्यसलाई आफ्नो मोबाइलबाटै डिलिट गरिसकेका छन्  ।

एपको रेटिङको कुरा गर्ने हो भने पाँचमा २.१ स्टार मात्रै पाएको छ । अधिकांशले नकारात्मक टिप्पणी गरिरहेका छन् । आईफोनका लागि एकदुई हप्तामा आईओएसमा सार्वजनिक हुने भनिएको एप अहिलेसम्म आउन सकेको छैन । 

पर्याप्त छैनन् आवद्ध बैंक

नमस्ते पेमा रकम लोड गर्न बैंक खाता लिङ्क गर्नुपर्ने बनाइएको छ । तर कम्पनीले पर्याप्त रुपमा बैंकहरू आवद्ध गर्नै सकेको छैन । अहिलेसम्म ४५ मध्ये (२७ वाणिज्य बैंक र १८ विकास बैंक) केवल आठ ओटा बैंकलाई मात्र वालेटमा जोडिएको छ ।

यतिसम्म कि टेलिकम कर्मचारीहरूको खाता रहेका नबिल र नेपाल इन्भेस्टमेन्ट बैंक समेत नमस्ते पेमा जोडिएका छैनन् । जोडिएका बैंक बाहेक वालेटमा रकम लोड गर्ने अन्य विकल्प छैन । तर दुःखको कुरा त त्यहाँ छ, तपाईंले बैंक खाता लिङ्क गरेपछि पनि रकम लोड गर्न सक्नुहुन्न । रकम लोड गर्न खोज्दा सम्भव हुँदैन र डिटेलमा गएर हेर्नुभयो भने ‘फेल’ भएको जानकारी देखिन्छ ।

भुक्तानीमा छैनन् पर्याप्त विकल्प

बजारमा राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त २७ ओटा भुक्तानी सेवाप्रदायक कम्पनी प्रतिस्पर्धामा छन् । अर्कोतर्फ सबै बैंकको आआफ्नै मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ पनि छ । भुक्तानी प्रणाली सञ्चालक अन्तर्गत रहेर विभिन्न बैंक र भुक्तानी सेवाप्रदायकले आफ्नो मर्चेन्ट नेटवर्क विस्तार गरिरहेका छन् ।

तर सरकारी स्वामित्वमा सञ्चालनमा आएको नमस्ते पेमा भने अझै पर्याप्त भुक्तानीका विकल्प तयार हुन सकेका छैनन् । खानेपानी र बिजुलीको बिल अनि  टेलिकमको आफ्नै रिचार्ज बाहेक अन्य भुक्तानीका विकल्प नमस्तेमा अझै उपलब्ध हुन सकेका छैनन् । 

 टेलिकमका प्रबन्ध निर्देशक अधिकारी भन्छन्ः नमस्ते पेको ठेक्कापट्टामा मेरो कुनै संलग्नता छैन

म त्यो कम्पनीमा छैन । स्पेक बनाउने, मूल्याङ्कन गर्ने र सञ्चालक समिति कतै पनि म छैन । नेपाल टेलिकमको मात्र नभएर त्यसमा राष्ट्रिय वाणिज्य बैंकको पनि शेयर छ ।

मेरो सम्बन्ध त मकहाँ आउने दुई करोड ग्राहकसँगै हुन्छ । कानूनी र व्यवहारिक रुपमा यो ठेक्कापट्टामा मेरो कुनै संलग्नता छैन । टेन्डर गर्ने र मूल्याङ्कन गर्ने काम कम्पनी स्वयम्‌ले गरेको हो ।

समाचार अपडेट गरिएको छ- स.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२