close

घर-घरमा स्मार्ट मिटर पुर्‍याउँदै विद्युत प्राधिकरण

टेकपाना टेकपाना

पुस ११, २०७८ १२:११

घर-घरमा स्मार्ट मिटर पुर्‍याउँदै विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकको घर-घरमा स्मार्ट मिटर वितरण गर्ने योजना ल्याएको छ । परम्परागत मिटरलाई प्रतिस्थापन गर्दै प्राधिकरणले ल्याएको स्मार्ट मिटरले विद्युतीय ऊर्जाको खपत, भोल्टेज स्तर, करेन्ट, पावर फ्याक्टरलगायत विभिन्न सूचना रेकर्ड राख्ने जनाइएकाे छ ।

‘यसले स्वचालित रूपमा ग्राहकलाई विद्युत खपतको जानकारी दिन्छ,’ प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका उप-कार्यकारी निर्देशक मनोज सिलवालले भने, ‘स्मार्ट मिटर प्रणालीमा ग्राहकसँग सम्बन्धित सम्पूर्ण विवरण तत्कालै (रियल टाइम) कार्यालयमा आउँछ ।’

स्मार्ट मिटर प्रणालीलाई प्रभावकारी बनाउन प्राधिकरणले सफ्टवेयर विकास गरी चाँडै नै मोबाइल एप ल्याउने तयारी गरिरहेको समेत उनले जनाए ।

‘यसपछि ग्राहकले बिलसम्बन्धी जानकारी मोबाइलमै प्राप्त गर्न सक्छन् । मिटर रिडिङ र भुक्तानीमा कुनै समस्या हुँदैन,’ उनले भने, ‘यसबाट विद्युत चुहावट नियन्त्रण गर्न र ग्राहकको मिटर बिग्रिएमा तत्काल थाहा हुन्छ । ग्राहकलाई आवश्यक पर्ने विद्युतको मात्रा कार्यालयबाट नै निर्क्योल गर्न सकिन्छ ।’

उनले अगाडि भने, ‘ यसअघि ग्राहकले आफ्नो माग बढाउन पर्‍याे भने निवेदन दिनुपर्थ्यो, कार्यालय धाउनपर्थ्यो । तर अब यस्तो झन्झटको पनि अन्त्य हुुनेछ । त्यस्तै पैसा नतिर्ने ग्राहकको विद्युत पनि कार्यालयबाट नै काट्न सकिन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२