close

कम्पनीको खुद नाफा २५ अर्ब गुमाएर बाहिरिँदै टेलिकमका कान्छा एमडी

गोपाल साउद गोपाल साउद

पुस १३, २०७८ १८:४०

कम्पनीको खुद नाफा २५ अर्ब गुमाएर बाहिरिँदै टेलिकमका कान्छा एमडी

काठमाडौं । धेरैलाई चकित पार्दै तीन वर्षअघि सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको कार्यकारी पद प्रबन्ध निर्देशकमा नियुक्ति पाएका डिल्लिराम अधिकारी बाहिरिने तयारीमा छन् । यही पुस २२ गते आफ्नो तीन वर्षे कार्यकाल समाप्त भएसँगै उनी प्रबन्ध निर्देशक पदबाट बिदा हुने छन् ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँगको निकटताका कारण आफूभन्दा धेरै सिनियरहरूलाई माथ खुवाउँदै उनी टेलिकम प्रमुख बन्न सफल भएका थिए । नियुक्ति पाउन कम्पनीलाई दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धी बनाउने र आम्दानी तथा नाफा वृद्धि गर्ने कार्ययोजना समेत उनले प्रस्तुत गरेका थिए । 

तर आम्दानी र नाफाको हिसाबले उनको कार्यकाल असफल सावित रह्यो । अधिकारी प्रबन्ध निर्देशक हुनु अघि र उनी बाहिरिँदै गर्दा बीचका आर्थिक सूचकले उनको कार्यकाल सफल देखाउँदैन ।   

अधिकारीको प्रवेशसँगै उनको तीन वर्षे कार्यकालमा कम्पनीको आम्दानी र नाफा दुवै लगातार ओरालो लागेको छ ।  उनी आउनु अघिको आर्थिक वर्षको तुलनामा टेलिकमले पहिलो वर्ष सात अर्ब २७ करोड ६० लाख रुपैयाँ, दोस्रो वर्ष सात अर्ब ७३ करोड ५० लाख रुपैयाँ र तेस्रो वर्ष १० अर्ब तीन करोड रुपैयाँ गरी कूल २५ अर्ब चार करोड १० लाख रुपैयाँ खुद नाफा गुमाएको छ ।

स्रोतः नेपाल टेलिकमको वित्तीय प्रतिवेदन

अधिकारी आउनु अघि वार्षिक १७ अर्ब ४८ करोड ४० लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरिरहेको टेलिकमले उनको कार्यकालको पहिलो वर्षमा १० अर्ब २० करोड ८० लाख रुपैयाँ, दोस्रो वर्ष नौ अर्ब ७४ करोड ९० लाख रुपैयाँ र तेस्रो वर्ष सात अर्ब, ४५ करोड ४० लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । 

खुद नाफा रू. अर्बमा । स्रोतः नेपाल टेलिकमको वित्तीय प्रतिवेदन

त्यसैगरी अधिकारी कम्पनीको प्रबन्ध निर्देशक हुनु अघिको आर्थिक वर्ष २०७४/०७५ मा टेलिकमको कूल वार्षिक आम्दानी ४५ अर्ब २६ करोड ९० लाख रुपैयाँभन्दा बढी थियो । जसबाट कम्पनीले उक्त आर्थिक वर्षमा १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँभन्दा खुद नाफा गरेको  थियो । 

अधिकारी आउनु अघि ४५ अर्ब २६ करोड ९० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक कूल आम्दानी रकम उनको  कार्यकालमा क्रमशः ओरालो लाग्दै पहिलो वर्षमा ४३ अर्ब ४८ करोड २० लाख रुपैयाँ, दोस्रो वर्ष ४२ अर्ब ९८ करोड ७० लाख रुपैयाँ र तेस्रो वर्ष ४१ अर्ब ६३ करोड ८० लाख रुपैयाँमा खुम्चिएको छ ।

यसरी समग्रमा कुरा गर्दा  अधिकारी प्रबन्ध निर्देशक हुनुअघिको आर्थिक वर्षको तुलनामा कम्पनीको कूल आम्दानी पहिलो वर्ष  एक अर्ब ७८ करोड ७० लाख रुपैयाँ, दोस्रो वर्षमा दुई अर्ब २८ करोड २० लाख रुपैयाँ र तेस्रो वर्षमा तीन अर्ब ६३ करोड १० लाख रुपैयाँ गरी कूल सात अर्ब ७० करोड रुपैयाँले गुमेको छ । 

सामूहिक तालमेल नमिलेसम्म टेलिकमको मुनाफा बढाउन सकिँदैनः हरिप्रसाद बस्याल, पूर्व सचिव

हरि बस्याल, पूर्व सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

प्रबन्ध निर्देशकको कार्यकाल कस्तो रह्यो भन्ने कुरा स्वीकृत वार्षिक कार्यक्रम अनुसार नतिजा प्राप्त भयो  कि भएन भन्ने कुराका आधारमा हेर्नुपर्ने हुन्छ । नेपाल टेलिकम मात्र होइन, सञ्चार मन्त्रालय अन्तर्गतका १९ ओटै संस्थाका प्रमुखको कार्यप्रगति मूल्याङ्कन त्यसैगरी हुने हो ।

अहिलेको अवस्थामा आफ्नो पूँजी लगानी गरेर सेवा विस्तार मार्फत बजारमा प्रतिस्पर्धी गरेर, जनताको मन जितेर नाफा गर्ने वातावरण टेलिकमले बनाइसकेको छैन । 

कर्मचारी सङ्ख्या तुलनात्मक रुपमा बढी छन् । ट्रेड युनियनहरू कर्मचारीको सेवा सुविधामा मात्रै बढी आकर्षित छन् । 

वास्तवमा टेलिकम जस्तो कम्पनीले आफ्नो पुँजी सेवाको क्षेत्रमा लगानी गरेर नाफा आर्जन गर्नुपर्ने हो । तर अहिले बैंकमा फिक्स डिपोजिट राखेर त्यसैको ब्याजलाई नाफाको रुपमा देखाउने अभ्यास छ । पहिले साढे १२ प्रतिशत सम्म ब्याज आउँथ्यो र नाफा पनि बढी देखिन्थ्यो ।

तर अहिले ब्याजदर घटेर सात प्रतिशतमा सीमित भएको छ । यसले गर्दा पनि टेलिकमको मुनाफा कम भएको हो । कोभिडको समय जारी  लामो लकडाउनका कारणले धेरै मान्छेहरू घरमै बस्ने र अनलाइनबाट सेवा लिने प्रचलन बढ्यो ।

त्यसपछि टेलिफोन सेवाबाट आउने नाफा इन्टरनेट सेवाप्रदायकतिर सर्‍यो । एनसेलले पनि त्यही समयमा नाफा गुमाएको छ । टेलिकमको एफटीटीएच सेवा अन्य निजी आईएसपीको तुलनामा राम्रो हुन सकेन ।

मर्मत सम्भारमा ध्यान नदिँदा ल्यान्डलाइनको प्रयोग पनि घट्दै गयो । त्यतिखेर हामीले एफटीटीएचमा १२ लाख ग्राहक बनाउन सकेको खन्डमा वार्षिक १२ अर्ब आम्दानी हुने प्रक्षेपण गरेका थियौँ । तर ग्राहकको मन नजितेसम्म यो गर्छु भनेर व्यावसायिक योजनामा देखाएर मात्रै संस्थाको मुनाफा बढ्न सक्दैन ।

त्यसका लागि त नयाँ प्रविधि भित्र्याउन सक्नुपर्छ । कर्मचारीको वृत्तिविकासमा ध्यान दिनुपर्छ । ट्रेड युनियनहरू पनि कर्मचारी तथा आफ्नो हितमा सीमित हुने भन्दा पनि कम्पनीको बृहत्तर प्रगतिमा केन्द्रित हुन सक्नुपर्छ ।

त्यसो हुन सकेको खन्डमा कम्पनी प्रति जन विश्वास बढ्छ । सेवा दिएर मात्रै हुँदैन, प्रतिस्पर्धी र गुणस्तर पनि हुनुपर्‍यो ।  कम्पनीमा समयमा टेन्डर प्रक्रिया नै सुरु नहुने समस्या उस्तै छ । ढिलोगरी टेन्डर भए पनि डेलिभरी समयमा हुँदैन ।

परियोजनाहरू विवादित हुने भएपछि नियमनकारी निकायको हस्तक्षेप बढ्न जान्छ । त्यसले गर्दा छिटो निर्णय गर्न र काम गर्न कर्मचारीले तत्परता देखाउँदैनन् । टिममा काम भएमा मात्रै संस्था सफल हुने हो । 

हुन त प्रविधिको कारणले पनि टेलिकमको मुनाफा घटेको छ । तीन वर्ष बढुवा नै रोकिएरपछि कर्मचारीको मनोबल कमजोर बन्यो । जसले गर्दा उनीहरूको पर्फर्मेन्स पनि कमजोर रह्यो । यी सबै कारणले प्रबन्ध निर्देशकको बहिर्गमन सकारात्मक बन्न सकेन ।

अन्तिम चार महिनाको रिपोर्ट हेर्ने हो भने कम्पनी सकारात्मक दिशामा गएको जस्तो देखिन्छ । यसबीचमा कर्मचारी विनिमावली पनि अगाडि बढेको छ । कर्मचारी अवरोध पनि हटेको छ । आशा गरौँ अबका दिनमा टेलिकमले सही दिशा लिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२