close

एन्ड्रोइडको भविष्य : २०२२ का ११ अनुमान

टेकपाना टेकपाना

पुस १५, २०७८ १०:४६

एन्ड्रोइडको भविष्य : २०२२ का ११ अनुमान

काठमाडौं । आज डिसेम्बर ३० तारिख । पर्सीदेखि अंग्रेजी वर्ष २०२२ सुरु हुँदैछ । एन्ड्रोइड प्रयोगकर्ताका लागि २०२२ मा नयाँ के आउँदैछ त ? एन्ड्रोइड १२ को व्यापक सुरुवातसँगै अहिले डेभलपर तथा डिजाइनरहरू एन्ड्रोइड १३ को तयारी गरिरहेका छन् ।

एन्ड्रोइड १२ को बजार प्रतिक्रियासहित डेभलपरहरू एन्ड्रोइड १३ लाई एउटा अपडेटमात्र नभई यसको पर्फर्मेन्सको स्तर पनि बढाउने प्रयासमा छन् । 

एन्ड्रोइडको युजर इन्टरफेन्स अब पहिलेको भन्दा धेरै परिस्कृत र राम्रो भएर आउनेछ । प्रयोगकर्ताको सुरक्षालाई थप ध्यानमा राख्दै गुगलले एन्ड्रोइडको सुरक्षासम्बन्धी फिचरलाई थप बलियो बनाउन काम गरिरहको बताइएको छ । 

पिक्सेल ७ मा फेस अनलक बायोमेट्रिक उपलब्ध हुने 

सन् २०२२ मा गुगलले पिक्सेलको लागि बायोमेट्रिक अर्थात फेस अनलक फिचर थप गर्ने अनुमान गरिएको छ । यसपश्चात पिक्सेल ७ मा प्रयोगकर्ताको लागि पिन, प्याटर्न र फिङ्गरप्रिन्टसहित फेस आईडीको पनि अप्सन हुनेछ ।

पिक्सेल ६ मा नै यो व्यवस्था भइदिए हुन्थ्यो भनेर चाहने प्रयोगकर्ताका लागि पक्कै पनि यो राम्रो खबर हुनेछ । 

डिस्प्ले थप कर्भ हुनेछ 

गत वर्ष गुगलले सार्वजनिक गरेको पिक्सेल ६ प्रोको कर्भ्ड डिस्प्ले धेरै प्रयोगकर्ताले मन पराएका थिए । यो डिस्प्लेमा मोबाइल प्रयोग गर्न पनि सहज भएको प्रयोगकर्ताको प्रतिक्रिया थियो । आउने वर्षमा गुगलले यो फिचरलाई निरन्तरता दिने निश्चय छ ।

यो डिस्प्ले फ्ल्यागशिप फोनमा मात्र नभएर मिडरेन्जका फोनमा पनि उपलब्ध हुने अनुमान छ । हुन त सामसङ ग्यालेक्सीका केही मोडेलमा यो डिस्प्लेले राम्रो काम गरेको थिएन र प्रयोगकर्ताले पनि त्यति रुचाएका थिएनन् ।

यद्यपि यसलाई थप परिस्कृत गरेर पुनः बजारमा ल्याउने तयारी भइरहेको छ । 

फोल्डिङ फोनमा क्रिज (धर्का) नहुने

यो वर्ष सामसङले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी फोल्ड एन्ड फ्लिफ सार्वजनिक गरेको थियो । यो फोनमा सबैभन्दा धेरै आएको आलोचना भनेको नै फोन फोल्ड हुने ठाउँमा बस्ने धर्का थियो ।

समासङमात्र होइन, अधिकांश फोल्डिङ फोनहरूको मुख्य समस्या भनेको नै क्रिज अथवा फोल्ड भएको ठाउमा लाग्ने धर्का हो । यो कुराले फोल्डिङ फोन मनपराउने प्रयोगकर्तालाई असन्तुष्ट बनाएको थियो । कतिले त मन परेर पनि फोल्डिङ फोन खरिद गरेका थिएनन् ।

यद्यपि अब भने यो समस्या सामाधान गरिने चर्चा रहेको  छ । मोबाइलम कम्पनीहरूले आउने वर्षमा फोल्डिङ फोनमा क्रिज नबस्नेगरी डिस्प्ले निर्माण गर्ने तयारी गरिरहेको बताइएको छ ।

यसका लागि पछिल्लो समय ओप्पोले काम गरिरहेको छ । २०२२ मा सार्वजनिक हुने ओप्पोको फोल्डिङ फोनमा क्रिज नहुने अनुमान छ ।                

पिक्सेल वाच 

हुन त पिक्सेल ब्रान्डका उत्पादनहरू नेपालमा वैधानिक रुपमा आउँदैनन् । यद्यपि विश्वबजारमा बहुप्रतिक्षित उत्पादनमध्ये एक हो, ‘पिक्सेल वाच’ । पिक्सेल वाच सन् २०२२ मा सार्वजनिक हुने अनुमान गरिएको छ ।

प्रविधिको क्षेत्रमा स्मार्टफोनबाहेक अन्य कुरा जस्तै; स्मार्टवाचमा एन्ड्रोइड अझै पनि एप्पलभन्दा पछाडि नै छ । बजारमा विभिन्न ब्राण्डका स्मार्टफोनहरू त छन्, तर सबैको लोकप्रियता अझै पनि एप्पल वाचको तुलनामा कम नै छ ।

यसैले पनि यो पिक्सेल वाच एन्ड्रोइड प्रयोगकर्ताका लागि महत्त्वपूर्ण छ । 

वेयर ओएसको ब्याट्री थप टिकाउ हुनेछ 

गुगलले पिक्सेल वाचमा गरेको एउटा राम्रो प्रयास भनेको वेयर ओएस हो । हाल एन्ड्रोइड स्मार्टवाचको समस्या भनेको यो ब्याट्री हो । धेरैजसो स्मार्टवाचको ब्याट्री लामो समयसम्म टिक्दैन ।

परिणामतः यसको लोकप्रियता त्यति धेरै छैन । यद्यपि गुगलले यसमा काम गरिरहेकाले आउने एन्ड्रोइड स्मार्टवाचहरूको ब्याट्री लामो समयसम्म टिक्ने अनुमान छ । विशेषगरी वेयर ओएस सपोर्ट गर्ने डिभाइसहरूमा यसको महत्त्व हुनेछ । 

सामसङ ग्यालेक्सी एस २२  

सन् २०२२ को अर्को आकर्षक पक्ष सामसङ ग्यालेक्सी एस २२ स्मार्टफोन पनि हुनसक्छ । हालसम्म बाहिरिएका जानकारीलाई हेर्ने हो भने स्न्यापड्रयागन ८ जेन १ चिप प्रयोग हुने यो फोन २०२२ मा एन्ड्रोइड फोनमध्ये एउटा राम्रो र शक्तिशाली फोन हुने अनुमान छ ।

यो फोन ४५ वाटको वायरलेस चार्जिङ सपोर्टसहित उपलब्ध हुने चर्चा छ । 

भ्वाइनस अनलक 

अहिलेसम्म आवाजबाट फोन अनलक गर्ने फिचर आइसकेको छैन । यद्यपि २०२२ मा सार्वजनिक हुने केही एन्ड्रोइड स्मार्टफोनहरू भ्वाइस अनलक फिचरसहित आउने अनुमान गरिएको छ । यसले फोन अनलकिङलाई थप सुरक्षित बनाउनेछ ।  

साइडलोडिङ एपहरूले अनुमति पाउनेछैन 

साइडलोडिङ एपको विषयमा लामो समयदेखि चर्चा चलिरहेको छ । एप्पलमा आज पनि साइडलोडिङ एपहरूलाई अनुमति छैन । तर एन्ड्रोइडमा भने साइडलोडिङ एपहरू प्रयोग गर्न सकिन्छ ।

यद्यपि २०२२ देखि यो व्यवस्था खारेज हुनसक्छ । यसले धेरै एन्ड्रोइड प्रयोगकर्तालाई भने असन्तुष्ट पार्नसक्छ ।

पछिल्लो समयमा बढिरहेको मालवेयर र र्‍यानसमवेयर आक्रमणबाट सुरक्षा दिन गुगलले यसको तयारी गरिरहेको छ । यसको अर्थ हो, २०२२ देखि एन्ड्रोइडमा साइडलोडिङ एप नचल्न सक्छन् । 

मिडरेन्ज फोनको वर्ष 

सन् २०२२ मिडरेन्ज फोनको वर्ष हुने अनुमान गरिएको छ । धेरैजसो एन्ड्रोइड मोबाइल कम्पनीका मिडरेन्ज फोन २०२२ मा सार्वजनिक हुने तरखरमा छन् । यतिमात्र होइन, केही मिडरेन्ज फोनहरू र फ्ल्यागशिप फोनहरुको मूल्यमा धेरै फरक हुनेछैन ।

धेरैजसो स्मार्टफोनहरू फ्ल्यागशिप फोनको जस्तै फिचर भएर पनि मिडरेन्जको मूल्यमा उपलब्ध हुनेछन् । यसले गर्दा मोबाइल कम्पनीहरूले आफ्नो फ्ल्यागशिपको फोनको मूल्य घटाउन पनि सक्छन् । 

स्मार्टफोनहरूमा ग्राफिन ब्याट्री प्रयोग गरिनेछ 

सन् २०२२ मा ग्राफिन ब्याट्री प्रयोग भएको पहिलो स्मार्टफोन सार्वजनिक हुने अनुमान छ । सामसङले २०२२ मा ग्राफिन ब्याट्री भएका फोनहरू उत्पादन गर्ने बताइएको छ ।

यो प्रकारको ब्याट्री आकारमा सानो हुने भएपनि शक्तिशाली हुने बताइएको छ र यसमा सामसङले काम गरिरहेको छ । यसको अर्थ हो, २०२२ मा केही सामसङका फोनमा ग्राफिन ब्याट्री पाउन सकिन्छ ।

यद्यपि यसले निरन्तरता पाउने छ वा छैन भन्ने विषयमा भने अहिले नै केहि भन्न सकिन्न । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२