close

पाँच मिनेटमै साढे ३३ अर्ब मूल्यको साओमी १२ सिरिज बिक्री

टेकपाना टेकपाना

पुस १७, २०७८ २१:०

पाँच मिनेटमै साढे ३३ अर्ब मूल्यको साओमी १२ सिरिज बिक्री

काठमाडौं । साओमीले गत मंगलबार सार्वजनिक गरेको साओमी ट्वेल्भ सिरिजको फस्ट सेल सम्पन्न भएको छ । शुक्रबार चिनियाँ बजारमा भएको सो सेलमा पाँच मिनेटमै १.८ अर्ब चिनियाँ यूआन (साढे ३३ अर्ब रूपैयाँभन्दा बढी) बराबरको स्मार्टफोन बिक्री भएको कम्पनीले जनाएको छ ।

कम्पनीले यो सिरिजअन्तर्गत साओमी ट्वेल्भ, साओमी ट्वेल्भ प्रो र साओमी ट्वेल्भ एक्स सार्वजनिक गरेको छ । अनलाइन र अफलाइन दुवै च्यानल गरी पाँच मिनेटमा साे मूल्यको स्मार्टफोन बिक्री भएको हो ।

योसँगै साओमी ट्वेल्भ सिरिजले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि साओमी मि ११ सिरिजको फस्ट सेलमा पाँच मिनेटमा १.५ अर्ब यूआन मूल्यको स्मार्टफोन बिक्री भएको थियो ।

यो सिरिजमा दिइएका नयाँ फिचरका कारण खरिद गर्ने प्रयोगकर्ताको संख्या बढेको बताइएको छ ।

साओमी ट्वेल्भः 

साओमी ट्वेल्भ कम्प्याक्ट फ्ल्यागशिप पारखीहरूका लागि साओमी मि एट यताकै सबैभन्दा सानो स्क्रिनको साथमा आएको छ । सामसङले बनाएको ८.२८ इन्चको एमोलेड  प्यानल सपोर्ट सहितको फुल एचडी प्लस रेजोलुसन र १२० हर्जसम्मको रिफ्रेश रेट यसमा रहेको छ ।

डिस्प्लेभित्रै फिङ्गरप्रिन्ट स्क्यानर राखिएको यो फोनमा स्क्र्याच रोक्नका लागि कर्निङ गोरिल्ला ग्लास भिक्टस प्रोटेक्सन राखिएको छ । साओमी ट्वेल्भमा परिचित ५० मेगापिक्सेलको सोनी आईएमएक्स ७६६ सेन्सर राखिएको छ, जुन चाहिँ प्रमुख एन्ड्रोइड स्मार्टफोन निर्माता कम्पनीहरूले सन् २०२१ मा धेरै जसो फ्ल्यागशिप स्मार्टफोनहरूमा पाउन सकिन्छ ।

जुन चाहिँ २.० माइक्रोमिटर ठूलो पिक्सेलसँगै १/१.५६ इन्च आकारमा र  ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) युक्छ छ । यो फोनमा अर्को १३ मेगापिक्सेलको अल्ट्रावाइड र ५० एमएम समान पाँच मेगापिक्सेलको टेली-म्याक्रो क्यामेरा राखिएको छ ।

साओमीका इन्जिनियरहरूले आधारभूत मोडेल ट्वेल्भको मदरबोर्डमा पर्याप्त आकारको कुलिङ प्याड र अन्य मुख्य पाटपुर्जाहरू फिट गर्न सफल भएका छन् । सानो आकारको साओमी ट्वेल्भमा ६७ वाटको तार युक्त फास्ट चार्जिङ सहित ४५०० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

जसमा १० वाटको रिभर्स वायरलेस टपअप समेत छ । साओमी ट्वेल्भ सिरिज ‘ब्रान्ड न्यु’ एमआईयूआई १३ सहित बजारमा उपलब्ध हुनेछ । यो फोन कालो, निलो र गुलाबी रङ्गमा आएको छ । दुवै फोनका लागि विशेष प्रकारको ‘ग्रिन भेगन’ लेदर भर्सन छ ।

प्रारम्भिक तहको साओमी ट्वेल्भ ८ जीबी र्‍याम र १२८ जीकी स्टोरेजको साथमा आउँछ । जसको मूल्य चिनियाँ येन तीन हजार ६९९ अर्थात ५८० अमेरिकी डलर (करिब ६९ हजार ५०० रुपैयाँ) रहेको छ ।

मध्यम मूल्य रहेको आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको लागि तीन हजार ९९९ येन अर्थात ६२८ अमेरिकी डलर (करिब ७५ हजार २०० रुपैयाँ) पर्नेछ भने १२ जीबी र्‍याम र २५६ जीबीका लागि चार हजार ३९९ येन अर्थात ६९० अमेरिकी डलर (करिब ८२ हजार ६०० रुपैयाँ) खर्च गर्नुपर्नेछ ।

साओमी ट्वेल्भ सिरिज डिसेम्बर ३१ देखि चिनियाँ बजारमा उपलब्ध हुनेछन् । तर अन्तर्राष्ट्रिय बजारको मूल्य र उपलब्धताको विषयमा विस्तृत विवरण भने पछि मात्र आउनेछ । 

साओमी ट्वेल्भ प्रो

प्रो मोडेल ६.७३ इन्च प्यानलसँगै १४४० पिक्सेल रेजोलुसनको साथमा आएको छ । जसमा एलटीपीओ २.० ब्याकप्लेन राखिएको छ, जसले कामअनुसार एक देखि १२० हर्जसम्मको रिफ्रेश रेटलाई अनुमति दिन्छ ।

साओमी ट्वेल्भ प्रोमा समेत डिस्प्लेभित्रै फिङ्गरप्रिन्ट स्क्यानर र गोरिल्ला ग्लास भिक्टस प्रोटेक्सन राखिएको छ ।  साओमी ट्वेल्भका दुवै फोनमा १२-बिट कलर आउटपुट र १५०० निट्ससम्मको ब्राइटनेस रहेको छ ।

यसमा मेन शुटरको लागि सोनी आईएमएक्स ७०७ सेन्सर सहितको ५० मेगापिक्सेल क्यामेरा राखिएको छ ।  १/१.२८ इन्च आकार र पिक्सेल-बिनिङ सहित २.४४ माइक्रोमिटर पिक्सेल र ओआईएस पनि यसमा छ ।

फोनमा अर्को क्यामेराको रुपमा ४० मेगापिक्सेल पोट्रेट लेन्स र तेस्रो अल्ट्रावाइड मोड्युल राखिएको छ । फास्ट-फोकसका लागि साओमी स्वयम्‌ले साइबरफोकस प्रविधि विकास गरेको छ ।

जसले सब्जेक्ट (तस्वीर लिइने वस्तु)को अनुहार र अन्य ब्याकग्राउन्डमा रहेका चिजहरूमा लक राख्छ । साओमीले नयाँ नाइट मोड एल्गोरिदम समेत यसमा राखिएको बताएको छ ।

जसले न्वाइजको स्तर चेकजाँच गरी कम प्रकाश भएको भागमा थप उज्यालो पार्ने काम गर्दछ । साओमी १२ प्रोमा दुई सेलमा विभाजित ४६०० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

यसमा तारमार्फत १२० वाट र वायरलेस ५० वाटको फास्ट चार्जिङ सपोर्ट रहेको छ । साओमीले पावर व्यवस्थापनको लागि स्वयम्‌ले विकास गरेको ‘सर्ज पी वान’ चार्जिङ चिप समेत फोनमा थप गरेको छ ।

साओमी ट्वेल्भ प्रो ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेजबाट सुरु हुन्छ, जसको मूल्य चार हजार ६९९ चाइनिज येन अर्थात ७३८ अमेरिकी डलर (करिब ८८ हजार ३०० रुपैयाँ) रहेको छ ।

त्यस्तै आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज मोडेको मूल्य चार हजार ९९९ चाइनिज येन अर्थात ७८५ अमेरिकी डलर (करिब ९४ हजार रुपैयाँ ) र सबैभन्दा माथिल्लो स्पेक रहेको मोडेल १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजका लागि पाँच हजार ३९९ चिनियाँ येन अर्थात ८४८ रुपैयाँ (करिब एक लाख एक हजार ५०० रुपैयाँ) पर्न आउँछ । 

साओमी ट्वेल्भ एक्स

साओमी १२ एक्स साओमी ट्वेल्भ सिरिजको तेस्रो सदस्य हो । जुन चाहिँ साओमी ट्वेल्भको आधारभूत भर्सनभन्दा थोरै कम क्षमताको स्मार्टफोन हो । यसमा पनि साओमी ट्वेल्भकै समान ६.२८ इन्चको एमोलेड डिस्प्ले राखिएको छ  जसको रिफ्रेश रेट १२० हर्ज रहेको छ ।

पछाडि भागमा तीन ओटा क्यामेराको सेटअप, ४५०० एमएएच क्षमताको ब्याट्री र ६७ वाट फास्ट चार्जिङ यसका अन्य फिचर हुन् । साओमी ट्वेल्भ एक्स सस्तो हुनुको मुख्य कारण यसमा फ्ल्यागशिप स्न्यापड्रागन एट जेन वान चिपको साटो स्न्यापड्रागन ८७० चिपसेट राखिएको छ ।

यसमा न त वायरलेस चार्जिङ रहेको छ न त रिभर्स वायरलेस चार्जिङ नै दिइएको छ । साओमी ट्वेल्भ एक्स पनि कालो, निलो र गुलाबी गरी तीन ओटा कलर भेरियन्टमा आएको छ ।

यसको मूल्य ८ जीबी र्‍याम तथा १२८ जीबीका लागि तीन हजार १९९ चिनियाँ येन अर्थात ५०२ अमेरिकी डलर (करिब ६० हजार रुपैयाँ) र १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजका लागि तीन हजार ७९९ चिनियाँ येन अर्थात ५९६ अमेरिकी डलर (करिब ७१ हजार ४०० रुपैयाँ) मूल्य राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२