close

मल्टिमिडियामा आउटसोर्स गर्ने कि आफ्नै कर्मचारी राख्ने ?

टेकपाना टेकपाना

पुस १८, २०७८ १६:५९

मल्टिमिडियामा आउटसोर्स गर्ने कि आफ्नै कर्मचारी राख्ने ?

मल्टिमिडिया भन्नाले सञ्चारको त्यो पद्धति हो, जसले टेक्स्ट, अडियो, इमेज, एनिमेसन अथवा भिडिओ लगायतका विविध सामग्रीलाई एकसाथ समेटेर प्रस्तुत गर्ने गर्दछ ।

प्रिन्ट सामग्री र अडियो रेकर्डिङजस्तो अडियन्ससँग अन्तर्क्रियालाई नगर्ने मास मिडियाको तुलनामा मल्टिमिडिया पृथक छ । भिडिओ पोडकास्ट, अडियो पोडकास्ट र एनिमेसन गरिएका भिडिओहरू मल्टिमिडियाका केही लोकप्रिय उदाहरण हुन् ।

विश्वव्यापी रुपमा मल्टिमिडिया क्षेत्र विकसित भइरहेको छ । त्यसैगरी नेपालमा पनि यसको विकास जारी छ । यसभित्र पनि फरक नाम र विधा छन् । पछिल्लो समय नेपालले पनि डिजिटल प्रिन्ट माध्यममार्फत मल्टिमिडियालाई आत्मसात गरिरहेको छ । जस्तै; होर्डिङ बोर्ड, लेटर हेड, ब्यानरहरू र भिजिटिङ कार्ड आदि अझैपनि प्रयोगमा छन् ।

मल्टिमिडियाको प्रचलनलाई उचाइमा पुर्‍याउन प्रिन्ट माध्यममात्र नभएर सामाजिक सञ्जाल, भिडिओ विज्ञापनहरू र चलचित्र उद्योगको विशेष भूमिका रहेको छ । विश्वको परिप्रेक्ष्यमा हेर्ने हो भने नेपाल थोरै जनसंख्या भएको देश भएतापनि यहाँको मल्टिमिडिया उद्योग द्रुततर वृद्धि भएको देखिन्छ ।

मानिसको जीवनशैलीमा आएको परिवर्तन, नयाँ व्यवसाय र प्रविधिको विकाससँगै पहिलाको तुलनामा देशमा जनशक्तिको माग उच्च बनेको छ, अर्थात चाप बढेको छ ।

हामीमध्ये धेरैको कोभिडसँग ‘नराम्रो’ अनुभव छ । कतिपय त अझैपनि यससँग गुज्रिरहेको अवस्था छ । यद्यपि यसले मल्टिमिडियाको विकासमा भने महत्वपूर्ण भूमिका खेलेको छ । 

कोभिड अगाडिकाे समय

कोभिड महामारीअघि सबै क्षेत्र सामान्य नै थियाे । प्रिन्ट, विज्ञापन, युट्युव, सामाजिक सञ्जाल, इभेन्टहरू, चलचित्र हलका साथै स्कुल कलेजहरू नियमित रुपमा चलिरहेका थिए । तर मल्टिमिडियासँग जोडिएका सबै काम शतप्रतिशत चालू थिए, कुनै किसिमको राेकावट थिएन ।

छापाखानाका कामहरू एकदम राम्रो चलिरहेको थियो । विज्ञापन कम्पनीहरूको पनि काम राम्रै चलिरहेको थियो । एक हिसाबले व्यवसाय चल्ने किसिमकै काम भइरहेका थिए । त्यसैगरी स्कुल र कलेज पनि ठीकठाक नै थियो, विद्यार्थीहरूको राम्रो उपस्थिति थियो, ब्राण्डिङ र प्रिन्टिङमा अभ्यस्त थिए ।

नेपालमा युट्युव र इन्टरनेटको दुनियाँ पनि सामान्य हिसाबले चलिरहेको थियो । नयाँ स्टार्टअप कम्पनीहरू खुल्दै थिए र उनीहरूले विज्ञापन कम्पनी अथवा डिजाइनर/मोसन आर्टिस्ट/ भिजुअल ईफेक्ट आर्टिस्ट/ एनिमेसन आर्टिस्ट खोजिरहेका थिए ।

माग र पूर्तिको श्रृंखला अनुसार उल्लेख्य संख्यामा नयाँ शिप विकाससम्बन्धी ट्रेनिङ हाउसहरू सुरु गरिँदै थिए । संक्षेपमा भन्नुपर्दा, लगभग सातदेखि नाै वटा एनिमेसन ट्रेनिङ इन्स्टिच्युटहरू, पाँचदेखि १० वटासम्म राम्रो लगानी गरिएका ब्राण्डिङ एड्भर्टाइजिङ कम्पनी र ४०० को हाराहारीमा लोकल रजिष्ट्रर भएका विज्ञापन कम्पनीहरू रहेको पाइयो । देशभित्रका छापाखानाको कुरा गर्ने हो भने त नगन्य मात्रामा नै छन् ।

देशमा कति फराकिलो बजार छ भन्ने कुरा अहिलेसम्मको फिगरले नै देखाउँछ । यसले विशेषगरी काठमाडौं उपत्यकाभित्रको बजारलाई दर्शाउँछ । 

कोभिडपछिको समय

कोरोनाको माहामारी भित्रिएसँगै विस्तारै लकडाउन सुरु भयो । एकाएक सबै कुराहरूमा बद्लाव आयो । जसले गर्दा मल्टिमिडियाको क्षेत्र पनि यसको प्रभावबाट अछुतो/अलग रहेन । हामीमध्ये धेरैले अधिकांश समय इन्टरनेटमा बिताउन थाल्यौं । जसले गर्दा सामाजिक सञ्जालको हाइपमा रह्यो ।

यसको वृद्धिले वेब प्लेटफर्ममा आधारित युट्युवको अत्यधिक चाप बढ्यो । एकाएक युट्युवकर्मीहरू ‘फेमस’ हुन थाले । सँगै टिकटक कन्टेन्ट र प्रयोगकर्ता पनि भाइरल हुने क्रम बढ्न थाल्यो ।

अहिले इन्टरनेटको पहुँच सर्वव्यापी बनेको छ । हामीसँग सूचनाको कमी छैन, इन्टरनेटको माध्यमबाट आवश्यकताअनुरुप न्युज पोर्टलहरूमा सजिलै प्राप्त गर्न सकिन्छ ।

समाचारजन्य सामग्रीका लागि पत्रपत्रिका र रेडियो/टेलिभिजनमा निर्भर गर्नुपर्ने अवस्था रहेन । प्रायः मानिसको जीवनशैली प्रविधिको गतिसँगै समानान्तर रुपमा चलिरहेको छ ।

कोभिडअगाडि डिजिटल मार्केटिङलाई विकल्पका रुपमा मात्र लिइन्थ्यो । तर अहिले अधिकांश कम्पनीहरूले डिजीटल मार्केटिङलाई पहिलो प्राथमिकतामा राख्न थालेका छन् । जसका लागि एसईओको प्रयोग गर्ने गरेका छन् ।

महामारीपछिको समयलाई नियालेपछि मलाई लाग्यो कि, हामी धेरै हतारमा अघि बढ्न चाहन्छौँ । अहिलेको पुस्ताले वास, गाँस र कपासलाई भन्दा धेरै मल्टिमिडियालाई महत्व दिन थालिसकेका छन् । 

मेरो व्यक्तिगत कुरा गर्नुपर्दा मैले काठमाडौं उपत्यकाभित्र मल्टिमिडिया इन्स्टिच्युट चलाइरहेको छु । मैले १७ वर्षदेखि यो इन्ड्रस्टीको विस्तारलाई नजिकबाट नियालेको छु ।

मैले विभिन्न कम्पनीहरूको उतारचढावलाई देखेपनि मल्टिमिडियामा भने खासै गिरावट देखेको छैन । कोभिडको महामारीले मलाई पनि भयवित तुल्याएको थियो, तर अहिले आएर यसरी मजबुत भयो कि, म पनि आश्चर्यचकित भएँ ।

अहिले समय बद्लिएको छ । मल्टिमिडियामा विद्यार्थीहरूको रुचि बढेको छ । खासगरी ग्राफिक्सप्रतिको मोह उल्लेख्य छ । साथै विज्ञापन एजेन्सीहरूले पनि मोसन ग्राफिक डिजाइनर र सिनियर ग्राफिक डिजाइनर खोजिरहेका छन् ।

कम्पनीहरूले अन्य विज्ञापन कम्पनीका डिजाइनरभन्दा आफ्नै कम्पनीको डिजाइनर राख्न रुचाउँछन् । तसर्थ विद्यार्थीदेखि व्यवसायसम्म सबै ठाउँको प्रकृतिमा परिवर्तन आएको छ । यसको मतलब माग र पूर्तिमा फराकिलो परिवर्तन आएको छ ।

महामारीअघि र पछि मेरो संस्था भिजिट गर्न आएका विद्यार्थी संख्यामा आएको परिवर्तनले मलाई अचम्मित बनायो । कोभिडभन्दा पहिला प्राय प्लस टु ‍गरेका र स्नातक सकेका विद्यार्थीहरू आउने गर्थे ।

उनीहरू मल्टिमिडिया सिकेर करिअर सुरू गर्न चाहन्थे । कहिलेकाहिँ व्यवसायीहरू यो क्षेत्रमा कसरी काम गरिन्छ भनेर आइडिया बटुल्न आउने गर्थे । ताकि उनीहरूलाई राम्रा डिजाइनर आर्टिस्टहरूसँग काम गर्न मद्दत पुगोस् ।

अहिले नयाँ स्टार्टअप कम्पनीका संस्थापकहरू पनि मल्टिमिडिया सिक्न आउँछन् । उनीहरू सामाजिक सञ्जालमा आफ्नो कम्पनीको राम्रो छवि स्थापित गर्नका लागि आउने गरेका छन् । यसका लागि कर्मचारी झिकाउनुभन्दा आफैं यस विषयमा जानकार रहन खोज्नु एकदम सान्दर्भिक छ ।

महामारीभन्दा अगाडि हाम्रो ध्यान विद्यार्थी संख्यामा केन्द्रित हुन्थ्यो । तर अहिले संख्यामा भन्दा पनि गुणस्तरमा हाम्रो ध्यान केन्द्रित भएको छ, जुन आफैंमा गर्वको कुरा हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२