close

आन्तरिक सञ्चारका लागि नेपाली सेनाले माग्यो फ्रिक्वेन्सी, पाउला त अनुमति ?

टेकपाना टेकपाना

पुस १९, २०७८ १६:३६

आन्तरिक सञ्चारका लागि नेपाली सेनाले माग्यो फ्रिक्वेन्सी, पाउला त अनुमति ?

काठमाडौं । नेपाली सेनाले आफ्नो संगठनको आन्तरिक सञ्चारका लागि विभिन्न ब्याण्डमा फ्रिक्वेन्सी माग गरेको छ । सेनाले हाई र अल्ट्रा-हाई ब्याण्डमा फ्रिक्वेन्सी उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग माग गरेको हो ।

सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले आन्तरिक प्रयोगका लागि सरकारसँग विभिन्न ब्याण्डमा फ्रिक्वेन्सी माग गरिएको बताए ।

‘हामीले आन्तरिक सञ्चारका लागि फ्रिक्वेन्सी माग गरिरहेका छौं,’ टेकपानासँग उनले भने, तर यसबारे कुनै निर्णय भइसकेको छैन ।’

पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री पदमा रहँदा नै सेनाले फ्रिक्वेन्सी माग गरेको थियो । तत्कालीन मन्त्री गुरुङले आफू अध्यक्ष रहने राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिमार्फत सेनालाई फ्रिक्वेन्सी उपलब्ध गराउन थप अध्ययन गर्ने निर्णय गरेका थिए ।

‘नेपाली सेनालाई आवश्यक पर्ने फ्रिक्वेन्सी समिति आफैंले निर्णय गरेर दिने वा मन्त्रिपरिषद्को सिफारिसमा दिने विषयमा छलफल भएको हो,’ समितिका एक सदस्यले टेकपानालाई भने, ‘अहिले यो विषय त्यति प्राथमिकतामा छ जस्तो लागेको छैन ।’

नेपाली सेनाले आफूलाई आवश्यक पर्ने फ्रिक्वेन्सीको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि मौखिक रुपमा जानकारी गराएको प्राधिकरण स्रोतले जनाएको छ ।

सुरक्षा चासोका कारण अन्य देशमा पनि सेनाले आफ्नो लागि फरक खालको फ्रिक्वेन्सी ब्याण्ड उपयोग गरी सञ्चार गर्ने गरेको भन्दै सेनाले मन्त्रालयसँग फ्रिक्वेन्सी माग गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२