close

स्मार्ट धोबी : पुरानो काम, नयाँ शैली

मेनुक्श मेनुक्श

पुस १९, २०७८ १९:२

स्मार्ट धोबी : पुरानो काम, नयाँ शैली

काठमाडौं । सम्भावना हाम्रो वरिपरी नै हुन्छन् । खाँचो छ त केवल ती सम्भावनामा फरक दृष्टिकोणको । प्रविधिको फड्को र समयको चालसँग ताल मिलाएर धेरै परम्परागत ढाँचाका कामलाई डिजिटाइज गरिएका उदाहरण आजभोलि प्रशस्तै देख्न पाइन्छ । त्यस्तै एउटा नयाँ कोणको दृष्टि हो ‘स्मार्ट धोबी नेपाल’

परम्परागत शैलीको धोबी व्यवसायलाई नयाँ रूप दिने काम सुजन चौलागाईंले आजभन्दा करिब चार वर्षअघि गति दिएका थिए । टन्न पैसा कमाउने लक्ष्य राखेर पोल्याण्ड छिर्ने सुरमा थिए उनी । जसका लागि अन्तर्वार्ताको शिलशिलामा दिल्लीसम्म पनि पुगे ।

त्यहाँ पुगेपछि समयमा अन्तर्वार्ता भएन । दुई महिनासम्म कुर्नुपर्यो, बिना कुनै काम, खालीखाली । केही नगरी बस्नु कतिसम्म पट्यारलाग्दो काम हो भन्ने कुरा हामीलाई कोभिड महामारी ताकाको निषेधाज्ञाले पत्तो दिएकै छ ।

उनी भन्छन्, ‘कोठाबाट बाहिर निस्किन्थें, त्यही क्रममा धोबीको काम अनलाइनबाट गरेको थाहा पाएँ । तर प्रत्यक्ष रुपमा कम्पनी भ्रमण भने कहिल्यै गरिनँ । दिल्ली बसाईको दुई महिना बित्न लाग्दा अन्तर्वार्ता पनि हुने भयो । तर पारिश्रमिकको कुरा सुन्दा म चकित भएँ ।’

उनलाई महिनाको कम्तिमा एक लाख, बढीमा डेढ लाख त मज्जाले कमाइ गर्न सकिन्छ भनिएको रहेछ । तर आधा पनि कमाइ नहुने भएपछि उनी अन्तरवार्ता नदिई फर्किए । तथापि साथमा दिल्लीबाट आत्मनिर्भरताको उपाय ल्याए ।

५०/६० हजार कमाउनका लागि विदेशिनुपर्ने आवश्यकता नभएकाे चौलागाईंको दिमागमा परिसकेको थियो । समयअनुसार चल्न सुजनले राम्ररी जानेका रहेछन् ।

उनले २०६४ सालतिर देशमा १८ घण्टा लोडसेडिङ हुँदा ईमर्जेन्सी लाइटको पसल गरेका थिए । जब उनी विदेश जाने तरखरमा थिए, त्यो बेला लोडसेडिङको समस्या पनि बाटो लागिसकेको थियो । साथै नयाँ स्टार्टअपको अवधारणा पनि आगमन भइहाल्यो ।

उनले विदेश जान तयार पारेको रकमबाट यहीँ धोबी व्यवसायलाई डिजिटल पथमा डोर्‍याउने निर्णय गरे ।

‘बजारीकरण/मार्केटिङका लागि त मलाइ कुनै समस्या थिएन । तर सम्भावना कस्तो छ र कसरी स्थापित हुुन सकिन्छ भनेर जान्नु त आवश्यक नै थियो । यसकारण मैले छ महिना रिसर्चमा खर्चिएँ,’ उनले सुनाए ।

अझै त अनलाइन सर्भिसमा विश्वास बढिसकेको अवस्था छैन । अझ त्यो बेलामा चुनौती पक्कै थियाे ।

कुनै पनि व्यवसाय गर्दा त्यसको भविष्यप्रति सम्भावित ज्ञान राख्नैपर्ने सुजनको भनाइ छ । ‘होला त्यो बेला अहिलेको जस्तो बजार थिएन । तर यदि मान्छेले कपडा धुने काममा एक हजार खर्चिँदा बचेको समय दुई हजार कमाउन सक्छ भने त पक्कै यो काम गर्छ नै,’ उनले उदाहरण दिए ।

उपभोक्ताको व्यस्तता बढ्दै जाँदा माग विस्तार हुने देखेपछि सुरूवात गर्न प्रेरणा मिल्यो । मसिनहरू खरिद गरेर पाँच जना कर्मचारी राखे । तालिम दिए । व्यस्त सहरमा बढ्दो प्रतिस्पर्धाको भिडमा ग्राहकको विश्वास जित्नु सजिलो काम पक्कै होइन । 

सुरूमा ग्राहकलाई काम मन नपरे पैसा दिनपर्दैन सम्म भन्नुपर्‍याे । जे होस् उनले ग्राहकको विश्वास जित्नुका साथै आजसम्म टिकाइराखेका पनि छन् ।

उनी भन्छन्,  ‘सेवाग्राहीका बीचमा आफ्नो छवि कस्तो बनाउने भन्ने कुरा कम्पनीमा नै निर्भर गर्छ ।’

चक्रपथभित्र पिकअप र डेलीभरी सर्भिस निःशुल्क भएको उनले बताए । यसलाई विस्तारै उपत्यकाभर नै निःशुल्क बनाउने उनको लक्ष्य छ ।

उनको पर्सनल नम्बरबाट पनि ग्राहकले अर्डर लिन सक्छन् भने सामाजिक सञ्जालबाट पनि सेवामा जाेडिन सकिनेछ । नौ लाखमा सुरु गरेको कम्पनीमा उनले हालसम्म २० लाखमाथि लगानी  पुर्‍याइसकेका छन् ।

अहिले याे व्यवसायबाट मासिक रुपमा डेढ लाखसम्म नाफा हुने गरेकाे उनले सुनाए ।

सधैं कामप्रतिको भेदलाई बहिस्कार गरेर आधुनिक ढङ्गले आत्मसात गर्ने उनी कुनैपनि काम जात वा समुदाय विशेषको जन्मसिद्ध जिम्मेवारी नभएको तर्क छ ।

चार वर्षअघि धोबी व्यवसायको बारेमा अनविज्ञ सुजन अहिले धोबीको तालिम समेत दिइरहेका छन् । बुटवल र चितवनमा पनि स्मार्ट धोबीको अवधारणा सुरु भएको छ ।

अहिले दैनिक ५० बढी ग्राहकलाई सेवा दिइरहेका सुजन सुनाउँछन्, ‘कहिले काहिँ त खाने फुर्सद मिलाउन समेत हम्मेहम्मे पर्छ, विहान ७ बजेदेखि बेलुका १० बजेसम्म हाम्रो टिम काममै खटिरहेको हुन्छ ।’

उनी अन्तर्वार्ताबाट फर्केको बेला विदेश गएका साथीसमेत उनको कामबाट प्रभावित बनेका छन् । उनको यो यात्रामा चासो राख्ने गर्छन् ।

‘देशमै यही वा यस्तै काम गरेपनि राम्रो सम्भावना छ । समस्त युवालाइ याे भन्न चाहन्छु कि नवीन साेचसहित काम थाले सुखद परिणामले ढिलाेचाँडाे पछ्याउनेछ, उनले सुनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२