close

मर्सिडिजको नयाँ विद्युतीय कार, फुल चार्ज गर्दा १००० किलोमिटर गुड्ने

टेकपाना टेकपाना

पुस २०, २०७८ १३:३४

मर्सिडिजको नयाँ विद्युतीय कार, फुल चार्ज गर्दा १००० किलोमिटर गुड्ने

काठमाडौं । अटोमोबाइल कम्पनी मर्सिडिजले एकपटक फुल चार्ज गरेपछि १००० किमीसम्म गुड्नसक्ने विद्युतीय गाडी ल्याउने भएको छ । विद्युतीय गाडीका लागि चार्जिङ स्टेशनहरू चुनौतीको रुपमा उभिरहेको समयमा कम्पनीले ‘भिजन ईक्युएक्सएक्स’ नामक विद्युतीय गाडीको प्रोटोटाइप सार्वजनिक गरेको हो ।

अन्य कम्पनीहरूले उत्पादन गरेको विद्युतीय गाडीको औसत दूरीभन्दा मर्सिडिजको यो गाडीको दूरी ३०० किमी बढी हो । हाल बजारमा निकै नै लोकप्रियता पाएको टेस्लाको मोडेल एसको गाडीले भन्दा दोब्बर दूरीमा गुड्ने कम्पनीले बताएको छ ।

बजारमा प्रयोगकर्ताको लागि भने २०२४ अथवा २०२५ मा उपलब्ध हुने बताइएको छ । यो गाडी विभिन्न सिरिजका मोडेलमा उत्पादन हुने कम्पनीको भनाइ छ । गत वर्ष कम्पनीले ६५० किमीसम्म गुड्ने ईक्युएस नामक विद्युतीय गाडी सार्वजनिक गरेको थियो ।

१००० किलोमिटरसम्म गुड्ने विद्युतीय गाडीको उत्पादन गरेको दाबी गर्ने कम्पनीमा मर्सिडिज नै पहिलो कम्पनी भने होइन । गत वर्षको नोभेम्बरमा चीनको गुवाङझाउ अटोमोबाइल कम्पनीले पनि एक पटकको चार्जिङमा १००० किमी गुड्ने गाडी सार्वजनिक गरेको थियो ।

यद्यपि कम्पनीले आउने दिनमा साना तथा मध्यमस्तरको विद्युतीय गाडीलाई नै प्राथमिकता दिने बताएको थियो । मर्सिडिजले भने २०३० सम्ममा आफूहरू विद्युतीय गाडीमात्र उत्पादन गर्ने कम्पनीको रुपमा स्थापित हुने बताएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५