close

अनलाइनबाट यसरी दिनुहोस् शिक्षक सेवा आयोगको आवेदन

टेकपाना टेकपाना

पुस २१, २०७८ १३:४६

अनलाइनबाट यसरी दिनुहोस् शिक्षक सेवा आयोगको आवेदन

काठमाडौं । शिक्षक सेवा आयोगले यतिबेला माध्यमिक तह, निम्न माध्यामिक तह र माध्यमिक तहमा खुलातर्फको आवेदन खुलाएको छ । जसमा माध्यमिक तहतर्फ माघ १३ सम्म आवेदन दिन सकिने छ ।

त्यस्तै निम्न माध्यमिक तहतर्फ माघ ६ र माध्यमिक तहका लागि यही पुस २९ गतेसम्म आवेदन दिन सकिने छ । यो पटक इच्छुकले अनलाइनबाटै आवेदन दिनसक्ने छन् ।

पहिलो पटक अनलाइन आवेदन दिनुपर्ने व्यवस्था सहित आएको विज्ञापन धेरैका लागि चासोको विषय बनेको छ । कार्यालयमै पुगेर आवदेन फारम भर्दा समय लाग्ने भएसँगै आयोगले अनलाइन आवेदनको व्यवस्था गरेको हो ।

त्यसका लागि आयोगले छुट्टै वेबसाइट तयार पारेको छ । यस्तोमा यहाँ हामी अनलाइनबाट आवेदन दिने तरिका सिकाउँदै छौं । तर, अनलाइन फारम भर्नुअघि परीक्षार्थीले आवश्यक न्यूनतम शैक्षिक योग्यताको कागजपत्र र अनुहार प्रस्ट देखिनेगरी खिचेको तस्वीर स्क्यान गरेर सँगै राख्ने आवश्यक छ  । 

यसरी भर्नुहाेस् अनलाइनबाट आवेदन

अनलाइन आवेदनका लागि सुरुमा शिक्षा सेवा आयोगको दरखास्त पोर्टल खोल्नुहोस् । आयोगको नयाँ अनलाइन पाेर्टल खोलेसँगै त्यहाँ ‘अकाउन्ट लगइन/रजिस्टर’ भन्ने विकल्प देखिने छ ।

अथवा त्यसको तल तपाईंले माध्यमिक तह, निम्न माध्यामिक तह र माध्यामिक तहका लागि आयोगले मागेको विज्ञापन देख्नुहुनेछ । उक्त विज्ञापनको मुनी रहेको निलो बक्समा रहेको ‘view details मा क्लिक गरी भित्र रहेको ‘apply now’ मा क्लिक गर्न सक्नुहुनेछ ।

त्यहाँ क्लिक गरेसँगै तपाईं लगईन पेजमा पुग्नुहुनेछ । यदि तपाईंले यसअघि नै अकाउन्ट बनाइसक्नु भएको छ भने सोझै ‘ईमेल’ र ‘पासवर्ड’ राखी लगईन गर्न सक्नुहुनेछ ।

यदि तपाईंसँग अकाउन्ट छैन भने ‘लगईन’ को तल रहेको ‘don’t have account’ सँगै रहेको ‘click here’ मा क्लिक गर्नुहोस् । त्यो सँगै त्यहाँ तपाईंले आफ्नो ‘ईमेल’ र आफूलाई सहज हुने ‘पासवर्ड’ राखी रजिस्टर गर्न सक्नुहुनेछ ।

त्यसरी ईमेल र पासवर्ड राखेर लगईन गरेसँगै ओटीपी पासवर्ड ईमेलमा प्राप्त हुनेछ । उक्त ओटीपी कोड राखी भेरिफाई गरेपश्चात त्यहाँ अनलाइन फर्म खुल्नेछ । जहाँ व्यक्तिगत विवरणदेखि आफ्नो अनुभवसम्म सबै जानकारी भरी पर्नेहुन्छ ।

व्यक्तिगत विवरणमा नाम, लिंग, जन्ममिति, नागरिकता नम्बर, नागरिकता जारी भएको स्थान, स्थायी ठेगाना र सम्पर्क ठेगाना प्रदेश, जिल्ला, स्थानीय तह र वडा नम्बर लगायतका जानकारी राख्नुपर्ने हुन्छ । 

त्यस्तै अनुभवमा अध्यापन अनुमतिपत्रसम्बन्धी विवरणमा अध्यापन अनुमतिपत्र प्राप्त तह, त्यसको प्रकार, त्यसको क्रम संख्या, अनुमति पत्र प्राप्त गरेको मिति र आयोगले निर्णय गरेको मिति लगाएतका जानकारी दिनुपर्ने हुन्छ ।

साथै अनुभवको रुपमा यसअघि काम गरेका विद्यालयको विवरण, न्यूनतम शैक्षिक योग्यताको विवरण, तालिम विवरण लगायतका कागजात भर्नुपर्ने हुन्छ ।

यस्ता सम्पूर्ण जानकारी भरेसँगै तपाईंलाई भौचर प्राप्त हुनेछ । त्यसलाई प्रिन्ट गरेर बैंकमा राजस्व तिर्न जानुपर्छ । शिक्षा सेवा आयोगका अनुसार राजश्व नेपाल बैंक लिमिटेड वा राष्ट्रिय वाणिज्य बैंकमध्ये कुनै एक बैंकमा तिर्न सकिने छ । 

रकम भुक्तानी गरेपछि प्रवेशपत्रको फोटोकपी तपाईंलाई प्राप्त हुनेछ । त्यसलाई प्रिन्ट गरेर सुरक्षित राखी परीक्षा हुने दिन सँगै लैजानुपर्छ । परीक्षार्थीले आवेदन फाराम भर्दा सुरुमा राखिएको ईमेल र पासवर्ड भने बिर्सनु हुँदैन । त्यसका आधारमा प्रवेशपत्र प्रिन्ट गर्न सकिन्छ ।

यसरी प्रिन्ट गरेको फोटोकपी अन्तर्वार्तासम्मलाई काम लाग्ने भएकाले सुरक्षित राख्न आयोगले आग्रह गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५