close

बैंक र टेलिकम सेवामा अनिवार्य गरिँदै राष्ट्रिय परिचयपत्र

टेकपाना टेकपाना

पुस २२, २०७८ १०:३२

बैंक र टेलिकम सेवामा अनिवार्य गरिँदै राष्ट्रिय परिचयपत्र

काठमाडौं । राष्ट्रिय परिचयपत्रको वितरण तीव्र रुपमा अगाडि बढाएसँगै सरकारले अब अन्य सार्वजनिक सेवाहरूमा पनि यसलाई समावेश गर्दै लैजाने भएको छ । यसैक्रममा अब बैंक र टेलिकम सेवाहरूमा पनि राष्ट्रिय परिचय पत्र अथवा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न लागिएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक सुवास ढकालले टेकपानासँगको कुराकानीमा यस्तो जानकारी दिएका हुन् । ‘हामीले हालै मात्र विद्युतीय पासपोर्ट (ई-पासपोर्ट) मा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेका छौँ ।’

अबको १५-२० दिनमा बैंकिङ सेवा तथा दूरसञ्चार सेवामा पनि राष्ट्रिय परिचयपत्र समावेश गर्ने तयारीमा छौँ,’ उनले भने, ‘यस विषयमा सम्बन्धित निकायहरूसँग दुई तीन पटक छलफलमा बसिसकेका छौँ ।’ 

राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुको अर्थ मोबाइल तथा दूरसञ्चार सेवा लिन र बैंक खाता खोल्न समेत राष्ट्रिय परिचयपत्र अथवा त्यसको नम्बर आवश्यक पर्नेछ ।

निर्देशक ढकालका अनुसार आवश्यक तयारी सकिने बित्तिकै यो व्यवस्था लागू हुनेछ । अबको एक वर्षमा राष्ट्रिय परिचय पत्र सबै सार्वजनिक सेवाहरूमा अनिवार्य गरिने उनको भनाई छ । यसका लागि सरकारले हातहातमा राष्ट्रिय परिचयपत्र पुर्‍याउने उद्देश्यका साथ एक करोड २० लाख प्रति वितरण गर्ने योजना अगाडि सारिसकेको छ । 

के हाे राष्ट्रिय परिचयपत्र ?

राष्ट्रिय परिचयपत्रलाई बुझ्न सबैभन्दा पहिला राज्यले आफ्ना नागरिकहरुलाई दिने परिचयत्रहरुको विषयमा जान्न जरुरी छ ।  मुख्यतः सरकारले आफ्ना नगरिकलाई दिने परिचयपत्रपत्र दुई किसिमका हुन्छन् । ती हुन् फाउण्डेशनल आईडी र फंसनल आईडी । 

व्यक्तिको पहिचान स्थापित गर्ने फाउण्डेशनल आईडीले राज्यभीत्रका अनेक सेवा सुविधा तथा तथा प्रयोजनका लागि मान्यता पाउँछ । अहिले कायम रहेको त्यस किसिमको परिचयपत्रको रुपमा हामीले नागरिकतालाई लिन सक्छौँ ।

अर्कोतर्फ फंसनल आईडी कुनै विशेष प्रयोजनका लागि मात्रै दिने गरिन्छ । उदाहरणका लागि ड्राइभिङ लाइसेन्स, प्यान कार्ड, मतदाता परिचयपत्र यस किसिमको परिचयपत्रका उदाहरण हुन् । 

नेपालमा २००९ सालदेखि राष्ट्रिय परिचयपत्रको रुपमा नागरिकताको प्रचलन सुरु भएको हो । त्यसको शुद्धताका लागि हामीले सुरुवाती समयदेखि प्रमाणीकरणको चुनौती झेल्दै आएका छौँ । मानौँ तपाईं-हामीले आफ्नो नागरिकता कुनै निकायमा पेश गर्‍यौँ भने, त्यसलाई प्रमाणीकरण गर्ने कुनै भरपर्दो संयन्त्र छैन ।

वास्तवमा अहिलेको समयमा नागरिकताका आधारमा व्यक्तिको पहिचान गर्न निकै नै चुनाैतीपूर्ण भइसकेको छ । यसै किसिमको चुनौतिकाे सामना गर्न र सार्वजनिक सेवा सुविधा सहज र छिटो छरितो रुपमा नागरिकलाई प्रदान गर्नकै लागि राष्ट्रिय परिचयपत्र ल्याउन लागिएको हो ।

अब आउने राष्ट्रिय परिचयपत्र मूलतः सूचना प्रविधिमा आधारित हुनेछ । त्यसमा नागिरकतामा हुने व्यक्तिको जनसांखिक विवरण बाहेक अनुहार (फोटो), दश ओटै औँलाको औंठाछाप, दुई आँखाको आइरिस लगायतको व्यक्तिको जैविक विवरणका साथै विद्युतीय हस्ताक्षरको रुपमा ई–सिग्नेचर समेत राखिनेछ । 

यस किसिमको राष्ट्रिय परिचयपत्रका आधारमा कुनै पनि निकायले परिचयपत्रका आधारमा अनलाइन तथा अफलाइन दुबै रुपमा व्यक्तिको पहिचान प्रमाणित गर्न सक्नेछ । फिङ्गरप्रिन्ट लगायतका केही विवरण कार्डमै समावेश गर्ने सरकारी योजना छ ।

एक व्यक्तिको विवरण अर्को व्यक्तिसँग जुध्न नदिन विशेष किसिमको प्रविधि अपनाइने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक ढकाल बताउँछन् । अहिलेको कागजी प्रणालीमा भने यस किसिमको पद्धति संभव छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५