close

टेलिकमको फोरजी: ग्राहक वृद्धि अहिलेसम्मकै उच्च, तर डेटा खपत वृद्धिदर ४ वर्ष यताकै न्यून

टेकपाना टेकपाना

पुस २२, २०७८ १२:२२

टेलिकमको फोरजी: ग्राहक वृद्धि अहिलेसम्मकै उच्च, तर डेटा खपत वृद्धिदर ४ वर्ष यताकै न्यून

काठमाडौं । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको दैनिक डेटा खपत वृद्धिदर चार वर्षयताकै न्यून देखिएको छ । फोरजी प्रयोगकर्ताको सङ्ख्या उल्लेख रुपमा बढ्दै गए पनि त्यसको अनुपातमा डेटा खपत भने बढ्न नसकेको हो ।

टेलिकमको दैनिक डेटा खपत वृद्धि बढेको देखिए पनि त्यसको वृद्धिदर भने चार वर्ष यताकै कम देखिएको छ । सन् २०१९ देखि २०२० को अवधिमा १६२ प्रतिशतभन्दा बढी रहेको दैनिक डेटा खपत वृद्धिदर त्यसपछिको वर्षमा ८२ प्रतिशतमा सीमित भएको छ । जुन सन् २०१८ यताकै न्यून हो ।

जब कि पछिल्लो एक वर्षको अवधिमा २० लाख ४९ हजार रहेको टेलिकमको फोरजी प्रयोगकर्ता सङ्ख्या बढेर ७४ लाख ८५ हजार पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

स्रोतः नेपाल टेलिकम

यद्यपि टेलिकमको मोबाइल डेटाको खपत भने बढेर दैनिक करिब ४८० टीबी (टेराबाइट) पुगेको छ । कम्पनीकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले केही दिन अघि संसद्‌को विकास तथा प्रविधि समितिमा प्रस्तुत गर्को प्रतिवेदनले यो विषय उल्लेख छ । 

उनका अनुसार फोरजी सेवाको विस्तार तथा प्रयोग बढेसँगै दैनिक डेटा खपत समेत वृद्धि भएको हो । हाल दैनिक रुपमा खपत हुने डेटामध्ये फोरजी सेवामा ८३ प्रतिशत, थ्रीजी सेवामा १६ प्रतिशत र टुजी सेवामा एक प्रतिशत रहेको छ ।

गत वर्ष टेलिकमको दैनिक डेटा खपत २६३ टीबी रहेको थियो । त्यसयताको एक वर्षको अवधिमा डेटा खपत झन्डै दोब्बरले वृद्धि भएको टेलिकमले जनाएको छ । अघिल्ला वर्षहरूमा सन् २०१६ टेलिकमको दैनिक डेटा खपत १६.११ टीबी, २०१७ मा २५.२४ टीबी, २०१८ मा ४८.६६ टीबी र २०१९ मा १००.२३ टीबी रहेको थियो । 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार टेलिकमको मोबाइल सेवामा थ्रीजी प्रयोगकर्ताको सङ्ख्या एक करोड १६ लाख ८ हजार ९५७ र फोरजी प्रयोगकर्ता ७४ लाख ८५ हजार ४३० रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५