close

तपाईंका लागि किन आवश्यक छ राष्ट्रिय परिचयपत्र ?

टेकपाना टेकपाना

पुस २२, २०७८ १७:५

तपाईंका लागि किन आवश्यक छ राष्ट्रिय परिचयपत्र ?

काठमाडौं । नेपाल सरकारले २०६६/६७ को वार्षिक नीति तथा कार्यक्रममा बजेट वक्तव्यमार्फत सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रका रूपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गरेको थियो ।

सोही अनुरुप राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हाल जिल्ला प्रशासन कार्यलयबाट नागरिककाे विवरण संकलन गरिरहेको छ । यसअघि राष्ट्रिय परिचयपत्रको पाइलट प्रोजेक्टअन्तर्गत एक लाख १७ हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो ।

अब भने विभागले औपचारिक रुपमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । यसका लागि कार्ड परीक्षण भइरहेको र क्रमशः कार्डमा नागरिकको विवरण एकीकृत गरिने विभागले जनाएको छ ।

सरकारका विभिन्न सेवालाई राष्ट्रिय परिचयपत्रको प्रणालीमा जोड्ने योजना ल्याइएको विभागका निर्देशक सुवास ढकालले बताए । गत महिनादेखि सुरु भएको ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको हो ।

राष्ट्रिय परिचयपत्रको वितरण सहज हुने बित्तिकै अन्य सरकारी कामका लागि पनि अनिवार्य बनाउने तयारी रहेको ढकालले बताए ।

‘हाल हामीले ई-पासपोर्टमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेका छौं । पछि विस्तारै सबैतिर अनिवार्य गर्ने तयारी छ,’ उनले भने, ‘यसलाई अन्य सेवाहरूसँग समावेश गर्छौं । केही समयपछि यो बिना सरकारी काम कारबाही हुँदैन । त्यसैले यसको महत्त्व छ ।’

पछि राष्ट्रिय परिचयपत्र नम्बर जन्मदर्तामा पनि समावेश गरेर जन्मदर्ताको प्रमाणपत्र जारी गरिने उनले बताए । योसँगै अबको एक वर्षभित्र सम्पूर्ण सार्वजनिक सेवाको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेर लाने तयारी भइरहेको उनले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्रलाई मतदाता परिचयपत्रका रूपमा समेत प्रयोग गर्न सकिने बताउँदै उनले व्यक्तिको राष्ट्रिय पहिचानपत्रका रूपमा सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारका रूपमा यसलाई अगाडि बढाइने उल्लेख गरे ।

यस्तै सामाजिक सुरक्षा कार्ड र सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखका रूपमा नागरिकले लाभ लिनसक्ने उनकाे भनाइ छ । यसबाट केन्द्रिय ई-केवाईसीको करिब ८० प्रतिशत भार कम हुने उनले विश्वास व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५