close

किराना पसललाई डिजिटल बनाउने माेबाइल एप सार्वजनिक, यसरी गर्नुहाेस् प्रयाेग

टेकपाना टेकपाना

पुस २२, २०७८ १८:८

किराना पसललाई डिजिटल बनाउने माेबाइल एप सार्वजनिक, यसरी गर्नुहाेस् प्रयाेग

काठमाडौं । किराना पसललाई डिजिटल बनाउने उद्देश्यसहित किराना एप सार्वजनिक भएको छ । किराना व्यवसायको विस्तृत जानकारी एकै ठाउँमा हेर्न मिल्नेगरी नेपाली कम्पनी उद्यमीले यो एपले सार्वजनिक गरेको हो ।

एपले छोटो समयमै प्रयोगकर्ताको राम्रो प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । कम्पनीका सीईओ मनोज भट्टराईका अनुसार किराना पसल, डिलर, होलसेलर, रिटेलर लगायतका पसलका लागि लक्षित गर्दै यो एप बनाइएको हो ।

‘एप प्रयोग गरेसँगै किरानामा किनमेल गर्ने र उधारो लिनका लागि पसलेले ग्राहक गुहार्नुपर्ने छैन । यसमा ग्राहकहरूको व्यक्तिगत कारोबार र भौचरसम्बन्धी सम्पूर्ण जानकारी समेत राख्न मिल्छ,’ उनले भने ।

विक्रेताले उधारो लिएका ग्राहकलाई क्यूआर कोडसहितको लिङ्क पठाउँछन् । उक्त क्यूआर कोडलाई स्क्यान गरी ग्राहकले सजिलै भुक्तानी सक्नेछन् ।

यो एप प्रयोग गरेबापत प्रयोगकर्ताले उद्योगको प्रकृतिअनुसार मासिक सब्सक्रिप्सन अनुरुप निश्चित रकम बुझाउनपर्ने छ । जुन व्यवस्था माघ १ गतेबाट लागू हुने भट्टराईले बताए । पुस महिनाभरका लागि भने यो एप निःशुल्क उपलब्ध गराइएको छ ।

फिचरको कुरा गर्नुपर्दा यसमा क्रेता र विक्रेता दुवैले कुराकानी गर्न मिल्नेगरी ‘च्याट’ अप्सन राखिएको छ । त्यसैगरी ग्राहक, विक्रेता, कारोबार, क्यालकुलेटर, सामान र प्रोफाइलका लागि छुट्टाछुट्टै विकल्प राखिएको छ ।

सामान्य किरानामा पाइने सरसामानलाई समेटेर एपमा सूची तयार गरिएको छ । कम्पनीले आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि एप उपलब्ध गराएको बताउँदै भट्टराईले आगामी दिनमा डिलरहरूका लागि समेत नयाँ फिचर ल्याउने बताए ।

देशका सबै किराना व्यवसायीहरूमा प्राविधिक साक्षरता कम भएकाले सरल हिसाबले एप डिजाइन गरिएको उनको दाबी छ ।

किराना एपमा रहेका फिचर कसरी प्रयोग गर्ने ?
गुगल प्ले स्टोर वा एप्पलको एप स्टोरबाट किराना एप डाउनलोड गरेर तपाईंले आफ्नो मोबाइल नम्बर राखिसकेपछि म्यासेजमा आएको ओटीपी कोड राखी सजिलै रजिस्टर गर्न सक्नुहुन्छ । त्यसपछि तपाईंले आफ्नो पसलको नाम र ठेगाना राखी दर्ता गर्नुपर्ने हुन्छ ।

किरानाको ड्यासबोर्डको सुरुमा तपाईंले कुल उधारो तथा कुल नगद कारोबार भएको रकम देख्न सक्नुहुन्छ। यस एपमा ग्राहक र विक्रेता विशेष उधारो कारोबार तथा नगद कारोबारको इन्ट्री सहज रुपमा गर्न सकिन्छ, साथै बिल तथा भौचरको फोटोसमेत अपलोड गर्न सकिन्छ ।

आर्थिक कारोबार गर्दा अत्यावश्यक पर्ने कुरा क्यालकुलेटर पनि हो । त्यसैले किराना एपमा ग्राहक वा विक्रेताको खातामा सिधै रिडाइरेक्ट गर्न सकिने विशेष फिचर भएको क्यालकुलेटर पनि राखिएको छ ।

त्यसका साथै ५०० भन्दा बढी उधारो तिर्न बाँकी रहेका ग्राहकलाई एक क्लिकमै म्यासेज पठाउनसमेत मिल्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५