close

प्रयोगकर्तामाथि जासुसी गरेको भन्दै गुगल र फेसबुकलाई २८ अर्ब जरिवाना

टेकपाना टेकपाना

पुस २२, २०७८ २१:१२

प्रयोगकर्तामाथि जासुसी गरेको भन्दै गुगल र फेसबुकलाई २८ अर्ब जरिवाना

काठमाडौं । गुगल र फेसबुक जस्ता प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरूमाथि प्रयोगकर्ताको जासुसी गरेको आरोप लागेको छ । यो आरोपमा फ्रान्सले दुवै कम्पनीलाई कूल २८ अर्ब रुपैयाँ भन्दा बढी जरिवाना गरेको हो ।

गुगल र फेसबुक दुबै कम्पनीमाथि फ्रान्समा प्रयोगकर्ताको कुकिज ट्र्याक गरेको आरोप लागेको छ । फ्रान्स वाचडग कमिसन सीएनआईएलले गुगलमाथि १५० मिलियन युरो (२० अर्ब पाँच करोड ६९ लाख रुपैयाँभन्दा बढी) र फेसबुकमाथि ६० मिलियन युरो अर्थात आठ अर्ब पाँच करोड रुपैयाँभन्दा बढी जरिवाना गर्ने भएको हो ।

दुवै कम्पनीमाथि फ्रान्सको डेटा प्राइभेसी नियम उलङ्घन गरेको आरोप छ । दुवै प्रविधि कम्पनीमाथि प्रतिदिनको हिसाबले एक लाख युरो अतिरिक्त जरिवाना लाग्नेछ ।

यो मामिला तीन महिनाभित्र समाधान नगरेको अवस्थामा दुवै कम्पनीमाथि यस किसिमको जरिवाना लाग्नेछ । फेसबुकको प्यारेन्ट कम्पनी मेटाका प्रवक्ताले आफ्नो तर्फबाट यस मामिलालाई रिभ्यु गरिने बताएका छन् ।

साथै उनले यस सन्दर्भमा कम्पनीले उचित कदम उठाउनेछ । मेटाका अनुसार प्रयोगकर्ताले कुकिज ट्र्याकिङ गर्ने अप्सन ब्लक गर्न सक्छन् । साथै कम्पनीले यस विषयमा थप सुधार कार्यलाई समेत जारी राख्ने उल्लेख छ ।

यद्यपि गुगलको तर्फबाट भने यस विषयमा कुनै टिप्पणी आएको छैन । यस अघि डिसेम्बर २०२० मा सीएनआईएलले यस्तै प्रकारको कुकिज उलङ्घनका लागि अमेजन र गुगलमाथि क्रमशः ३५ मिलियन युरो र १०० मिलयन युरो जरिवाना गरेको थियो ।

साथै गुगलमाथि जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) अन्तर्गत गुगलमाथि ५० मिलियन युरो जरिवाना समेत लागेको थियो । जेडडीनेटको रिपोर्ट अनुसार ह्वाट्सएपमाथि गत वर्षको सेप्टेम्बरमा २२५ मिलियन युरो जरिवाना लगाइएको थियो ।

के हो कुकिज ? 

गुगल तथा फेसबुक जस्ता कम्पनीहरूले प्रयोगकर्ताले सर्च गरेका जानकारीलाई कुकिजको रुपमा सञ्चित गरेर राख्छन् । यसबाट प्रयोगकर्तालाई तीव्र किसिमले सर्च गर्न सहयोग गर्दछ । तर कतिपय कम्पनीहरू कुकिज ट्र्याक गरेर प्रयोगकर्तालाई टार्गेटेड विज्ञापन देखाउँछन् । यस किसिमको डेटा प्रयोगकर्ताको फोन तथा ल्यापटपमा कुकिजको रुपमा स्टोर भएर बसेको हुन्छ । 

यसरी डिलिट गर्नुहोस् कुकिज

१. गुगल क्रोम ब्राउजरको माथि दायाँ कुनामा रहेको मोर आइकनमा अर्थात तीन थोप्ला भएको बटनमा दबाउनुहोस् ।

२. त्यसपछि हिस्ट्रीमा ट्याप गर्नुहोस् ।

३. आफ्नो कुकिज तथा क्याश डिलिट गर्नका लागि क्लियर ब्राउजिङ डेटामा दबाउनुहोस् ।

४. यदि सेभ गरिएका पासवर्ड, अटो फिलअप हुने डेटा र साइट सेटिङ समेत डिलिट गर्न चाहनुहुन्छ भने एड्भान्स्डमा गएर टिक लगाउनुहोस् र क्लियर डेटामा ट्याप गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५